✍️ जनक कार्की

गीता रेग्मीले साहित्यिक यात्रामा परिचय कथा सङ्ग्रह (२०६५) बाट सुरुवात गरेकी हुन् । समाजशास्त्रमा एम.ए. गरेकी उनको पुस्तान्तर (संयुक्त कथासंग्रह–२०६६), ज्योतिका युगिन स्वरहरू (संयुक्त कविता सङ्ग्रह – २०६७), पश्चिमाहरूको देशमा ( नियात्रा सङ्ग्रह– २०७९), पत्थरै पत्थर (नियात्रा सङ्ग्रह–२०७४), तिज (२०६५), भृकुटी (२०७०) यात्राका प्रतिबिम्बहरू (२०७१)लगायतका आधा दर्जन भन्दा बढी कृतिको सम्पादन गरेकी छिन् । नियात्रा समाज नेपाल कोषाध्यक्षसमेत रहेकी रेग्मीले विभिन्न संघ संस्थामा आवद्ध रही नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन् । उनको पछिल्लो कृति प्रशान्तको तीरैतिर (नियात्रा सङ्ग्रह) गएको बिहीबार मात्र विमोचन भएको छ । यसै कृतिसँग सम्बन्धित भएर सेतोमाटो डटकमका लागि सहकर्मी जनक कार्कीले गर्नुभएको साहित्यिक कुराकानी प्रस्तुत छ :

पहिलो पुस्तकाकार कृति ‘परिचय’ (कथासङ्ग्रह) २०६५ मा प्रकाशित भयो । २०६६ सालमा ‘पुस्तान्तर’ (संयुक्त कथासङ्ग्रह) प्रकाशित भयो । २०६९ मा पश्चिमाहरूको देशमा नियात्रा पुस्तक प्रकाशित भयो । २०७४ सालमा रेग्मीको ‘पत्थरैपत्थर’ प्रकाशित भयो । गएको विहीबार मात्र यहाँको नयाँ कृति ‘प्रशान्तको तीरैतीर’ प्रकाशीत भएको छ, यहाँ नियात्रातिर धेरै झुकाव राख्दै जानुको कारण के होला ?

शुरुआत कविता लेखेर भयो । आफैले लेखेको कवितामा आफैले पुर्णता भेटिन । लाग्यो कविता मैले लेख्ने बिषय होईन रहेछ । कथा सङ्ग्रह ‘परिचय’ निस्कियो । साहित्यका पाठक थपिए । २०११ मा साहित्यिक सम्मेलनमा गएपछि नियात्रा सङ्ग्रह ‘पश्चिमाहरूको देशमा’ प्रकाशित भयो । यो पुस्तक पढेपछि कथा भन्दा त नियात्रामा पो निखार आयो है भन्ने पाठक प्रतिक्रिया नै मेरा नियात्रा लेखनको उर्जा बन्यो ।

‘प्रशान्तको तिरैतिर’ नियात्रा सङ्ग्रहले नेपाली पाठकलाई के कस्तो स्वाद बोकेर आएको छ र यसमा लेखिएका परिवेशले कहाँसम्मको भुगोललाई छोएको छ ?

विदेश मोह ! नेपालीका सफलता र असफलता, सम्पन्न देशलाई नेपालमा बसेर गरिने कल्पना, पुगेपछि देखिने यथार्थ र तोडिने भ्रम ! सबै समेटिन नसकेको भए पनि केही प्रतिनिधि पात्र, घटना र सफलताका कथाहरू सुनाउन सक्नेछ । यस्ले अष्ट्रेलियाका चारबटा राज्यहरू छोएको छ ।

अहिले नियात्रा लेखनको एक किसिमको बाढी नै आएको छ, लगातार नियात्रा सङ्ग्रह बजारमा आएका छन्, नियात्राप्रतिको मोह यसरी किन झाङ्गिएको होला ?

पहिला पहिला मान्छेहरू घुम्ने भनेको धार्मिक यात्रा मात्रै थियो । त्यो पनि उमेर पाकेपछि तिर्थाटन मै मरियो भने मुक्ति पाउने अभिलाषा बोकेर । तिनले कसरी यात्रा लेख्थे ? उनीहरूले सुनाएका कथा सुनेर अरु छिमेकी तिर्थाटन निस्कन्थे । यात्रा गर्नु आफैँमा महङ्गो पनि थियो । सम्पत्ति सन्तानका लागि सञ्चय गर्ने प्रचलन थियो ।

अहिले सन्तान पढाउने, पढेपछि सन्तानले प्रगति गर्दै थातथलो छोडेर शहर हुदै विदेशिने प्रवृत्तिले अभिभावकमा सन्तानका लागि सम्पत्ति सञ्चय गर्नु नपर्ने अवस्थाको सृजना भयो । विदिशिएका सन्तानसँगै बाबु आमा घुम्ने प्रवृत्ति बढ्यो । न्युनतम आवश्यकता पूरा भएपछि मानिस विलासितामा लाग्न थाल्छ तिनै विलासीमध्येबाट कोहि लेखक थिए र नियात्रा लेखे । ती नियात्रा पढ्ने पाठक मध्ये कोहि यात्री मात्र बने कोहि लेखक पनि बने फलतः बाढी आएजस्तो देखिएको हो ।

नियात्राले कुनै पनि भूगोलको कला, संस्कृति, भाषा, परिवेश आदिलाई त समेट्छ नै यसका अलावा नियात्रालाई लेखकले जीवन र दर्शन जोड्नलाई के कस्तो प्रयत्न गर्नुपर्छ ?

अध्ययन अनि अध्ययन ।

नियात्रालाई साहित्यिक र प्रभावकारी बनाउनको लागि यात्रामा देखिएका घटनाहरूमा पाठकले आफ्नो ज्ञान र अनुभवहरूलाई उपल्लो चेतनामा लैजानको लागि कसरी भूमिका खेल्न सक्छ ?

आफ्ना अनुभूतिलाई नितान्त आफ्नै लयमा पस्कने । कतिपय अवस्थामा हामी बनावटी कुरा गर्छौ । गफ दिएर अरूलाई मनोरन्जन दिएर रमाइरहेका हुन्छौं तर नियात्रा यस्तो विधा हो त्यहाँ न त बनाबटी सुहाउछ न त झुट नै । किनकि यात्राविना नियात्रा हुदैन । देखाका कुरामा आफ्ना अनुभुतिहरू घोलेर पाठकका मनमा अमिट छाप छोड्न अलिकति प्रयत्न त गर्नै पर्छ ।

नियात्रा नेपाली साहित्यमा पछिल्लो समय निकै लोकप्रिय विधा भएको छ । नियात्राकार तारानाथ शर्माले यस विधालाई उचाइमा पुर्याएका हुन् । विसं २०२७ सालमा प्रतिष्ठित मदन पुरस्कार उनको नियात्रा पुस्तक ‘बेलाइततिर बरालिंदा’ले पाएपछि नियात्रा विधाले मान्यता र प्रतिष्ठा एकसाथ पाएको हो । त्यसपछि यो विधामा लेख्नेहरू प्रशस्त आए । यही क्रममा तपाईंले पनि नियात्रा लेखनलाई निरन्तरता दिइरहनु भएको छ । नियात्रा लेखनले यहाँलाई कसरी तान्यो ?

स्कुल पढ्दा ताना शर्माको ‘घनघस्याको उकालो’ पढेको । त्यस्ले यति साह्रो छोयो कि चितवनबाट लमजुङको दुरडाँडा जादा तनहुँको रतनपुरको उकालो चढ्दा मलाई ताना शर्माले घनघस्याको उकालो चढ्दा पनि यस्तै भएको रहेछ कि जस्तो लाग्यो र रतनपुरको उकालो भनेर नियात्रा लेखेथे ।

यात्राबाट नै भाषा धर्म संस्कृतिको प्रचारप्रसार हुने हुदाँ हिड्दा देखिएका कुरा लेख्दा अरूलाई सम्प्रेषण हुने हुदा यात्रा लेखनलाई रुचि बढायो ।

नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास वि.सं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई मानिएकोले नियात्रा विधा ५२८ वर्ष पुरानो विधा भएको छ तर नेपालमा यसको नयाँ विधाको रूपमा भर्खरै सक्रिय लेखन हुन थालेको छ, यसको कारण के होला ?

यो कथा जस्तो कोठाभित्र बसेर कल्पनाको यात्रा नगरि यथार्थमा लेखिने हुदा यात्री चलायमान हुनुपर्छ । त्यसका लागि समय र पैसा दुबै चिजको आवश्यकता पर्ने हुदा यो महङ्गो विधा पनि मानिन्छ ।

अहिले मानिसमा चेतनाको स्तरसंगै आर्थिक उन्नति प्रगति भएको हँुदा घुमफिरतिर आकर्षित भएका छन् । यसैले पनि यात्राको पुस्तकहरू निस्कने क्रम बढ्दो छ ।

नियात्रा कसका लागि र किन लेख्ने ?

यात्राले भाषा, धर्म र संस्कारको प्रचारप्रसार गर्ने हुदानयाँ ठाउँको जानकारी चाहने सचेत पाठकले पढ्ने गर्छन् ।

यहाँको विचारमा एउटा असल नियात्राले बोक्न पर्ने गुण केके हुन ?

सत्यता हुनुपर्छ, यथार्थको नजिक रहेर लेख्नु पर्छ, हास्यरस भरिएको हुनुपर्छ , चञ्चलता र चलायमन हुनुपर्छ । पाठकलाई आफुसँगै घुमाउरो खुबी पनि चाहिन्छ ।

यहाँलाई मनपरेका पाँचवटा नियात्रा सङ्ग्रह ?

तारानाथ शर्माको ‘बेलाईततिर बरालिदा’
कृष्ण धरावासीको ‘ग्रेटफल्स’ (यद्यपि यसलाई उपन्यास भनिन्छ)
शारदा शर्माको ‘भूँईफूलको देश’
सरिता अर्यालको ‘मेरो अपहरण’
ईल्या भट्टराईको ‘दक्षिणायन’
प्रतीक ढकालको ‘उज्यालो कर्णाली’

नियात्रामा देखिएका कति अन्धविश्वासका रीतिरिवाज र चालचलनलाई पनि उतार्न पर्ने हुन्छ, त्यस्ता अन्धविश्वासलाई कृतिमा उतार्दा पछिल्लोपटक प्रतीक ढकालले लेखेको एउटा अंशमा नारी नै नारीका दुस्मन हुन् भनेर उठाइएको विषयको विरोध पनि भएको थियो सामाजिक सञ्जालमा, लेखकले त्यस्ता कुरालाई उठाउँदा त्यसमा त्यस्तो हुनुको पछाडिका कारणहरू लेखेर समाजलाई उपल्लो स्तरको चेतना दिन आवश्यक छ कि छैन ?

साहित्य भनेको समाजको दर्पण पनि हो । पृतिसत्ताले महिलालाई महिलाकै विरुद्धमा उक्साएर उसले शासन गरिरहेको छ । समाजमा चलिरहेका कुरालाई लेखकले वा पाठकले कसरी ग्रहण गर्छ त्यो उसको कुरा हो ।

यहाँको पत्थरै पत्थर नियात्रासङ्ग्रहले पाठकहरुलाई बर्मा, थाइल्यान्ड, मलेसियाका गल्ली गल्ली घुमाउन सफल भएको छ । बर्मेली नेपालीहरूको संघर्ष, सफलत , अतिथि देवोः भव भन्ने हाम्रो संस्कारलाई राम्रोसँग पाठकहरूमाझ ल्याएको छ । अहिलेको यो ‘प्रशान्तको तिरैतिर’ पनि विदेशकै नियात्रा हो भनेर अनुमान लगाउम सकिन्छ । नेपालका यात्रालाई आफ्नो नियात्रामा ल्याउन किन कन्जुस्याइँ गर्नुभएको ?

विदेश गएका कुरा, विदेश जाने कुरा अझै पनि रवाफको बिषय छ । विदेश नदेखेकालाई विदेश गएकाले निम्न दर्जामा राख्ने गरेकोले मेरो मनमा विदेश टेक्ने हुटहुटी जाग्यो ।

जब विदेश गए धेरै देश टेक्ने हेर्ने लालसा पूरा गरे र विदेश देखिसकेपछि जसरी मेरो भ्रम तोडियो त्यसरी नै पाठकलाई पनि यथार्थसँग भेटाउनु थियो ।
नेपालका पनि अधिकांश जिल्ला घुमेको छु र नियात्रा पनि लेखेको छु । मात्रै के हो भने नेपाल भित्रको नियात्रा कृति निश्किएको छैन । अब छिटै निस्कन्छन् ।

नियात्राले पाठकलाई घरमै बसेर किताबका अक्षरहरूमार्फत विभिन्न भुगोलमा घुमाउँछ, त्यहाँका अनुभवहरू सुनाउँछ, घटनाले मनमा विचारको उद्घाटन गराउँछ, नयाँ संस्कार र शैलीसँग परिचित गराउँछ । वास्तवमा नियात्राको उद्देश्य यति मात्र हो कि अरु पनि छन् ?

यात्री घुम्न हिँड्छ । देख्छ देखेका कुराका अनेक कथा बन्छन् । मान्छे जम्मा गरेर कथा वाचन गर्न त मिल्दैन अनि लिपिवद्ध गर्यो भने धेरै मान्छेले पढ्छन् ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न, यहाँले मन लागेको कुरा भन्न सक्नुहुन्छ ?

बुकहोलिक्सले पठन साहित्यको प्रवद्र्धनमा गरेको योगदान सराहनिय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर