शशि पन्थी
गुल्मीमा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा २०३० सालमा गठन गरिएको थियो । त्यसको दुई वर्षपछि २०३२ साल आषाढ १७ गते महेन्द्र व्यावसायिक माध्यमिक विद्यालयमा नेपाल जुनियर रेडक्रम सर्कलको गठन भएको थियो । २०३२ सालदेखि २०४२ सालसम्म दश वर्ष यस लेखकलाई शिक्षकनायक भई सेवा गर्ने अवसर प्राप्त भएको थियो । त्यसपछि आफ्नो स्वेच्छाले उक्त पदको जिम्मेवारी अरूलाई हस्तान्तरण गर्न विद्यालयका प्रधानाध्यापकज्यूलाई अनुरोध गरेको थिएँ ।
दश वर्षको कार्यकालमा नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र व्यावसायकि माध्यमिक विद्यालयको माध्यमबाट स्थानीय, जिल्ला, अञ्चल, क्षेत्र र राष्ट्रियस्तरमा गरिएका गतिविधिहरूको विकास र विस्तार गर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको पूर्ण समर्थन र सहयोग रहेको थियो । यसमा स्थानीय समाजको पनि सकारात्मक सहयोग र साथले गर्दा आर्थिक स्रोत र अन्य साधनहरू जुटाउन धेरै सहज भएको थियो । त्यसैकारणले गर्दा यस सर्कललाई विद्यालयस्तरदेखि राष्ट्रिय तहसम्मका सबै कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न कुनै कठिनाइ परेन । यसै बीचमा यहाँको विद्यालय नमूना माध्यमिक विद्यालय बन्यो । यसपछि यहाँ गठित नेपाल जुनियर रेडक्रस सर्कले अझ बढी काम गर्ने अवसर प्राप्त गर्यो । यहाँको सर्कललाई तनबल, मनबल, धनबल र जनबल सबै प्राप्त भयो । यहाँको सक्रियतालाई देखेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालयको पनि विशेष सहयोग र प्ररेणा प्राप्त भइरहन्थ्यो ।
नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालयले त्यसबेलाको समाजलाई आवश्यक पर्ने विभिन्न गतिविधिमा पुर्याएको सहयोगले गर्दा नै रेडक्रस ज्यादै परिचित भई सबैको प्रिय संस्था बनेको हो । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने उक्तिलाई यस सर्कले सार्थक बनाउने प्रयत्न गरेको थियो । ‘ म सेवा गर्छु’ भन्ने मूल मन्त्रका साथ अगाडि बढेको यहाँको नेपाल जुनियर रेडक्रस सर्कलले जिल्लामा दैवी प्रकोपको समयमा जहाँ पुगेर पनि सहयोग पुर्यायो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय विपत्तिको समयमा पनि सहयोग पुर्याउने काम गर्यो । शान्तिकालमा यसले जनचेतनामूलक कार्यक्रम अगाडि बढायो । जुनियर रेडक्रस सर्कलले राष्ट्रिय स्त्तरमा पनि कार्यक्रम सञ्चालन गर्न सक्छन् भन्ने पहिलो उदाहरण यहाँको सर्कलले देखायो । यहाँको सर्कलको आयोजनामा २०३९ साल मार्ग २७ गते प्रथम राष्ट्रिय रेडक्रस निबन्ध प्रतियोगिता सफलतापूर्वक सुसम्पन्न भएको थियो । यो कार्यक्रम सम्पन्न भइसकेपछि रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले २०३९।९।५ मा गुल्मी जिल्ला शाखालाई बोधार्थ दिएर सर्कललाई एउटा पत्र पठाएको थियो । त्यस पत्रमा ‘ नेपाल जुनियर रेडक्रस सर्कलले राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गरेको यो पहिलो पटक हो र नेपाल रेडक्रस सोसाइटीकै इतिहासमा यस आयोजनाको विशेष महत्व छ ’ भनी उल्लेख गरिएको थियो । यसपछि नेपालमा जुनियर रेडक्रस सर्कलहरूले प्रत्येक वर्ष राष्ट्रिय स्तरमा विभिन्न विषयका प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजना अद्यपर्यन्त गर्दै आइरहेका छन् ।
नेपाल जुनियर रेडक्रस सर्कलका कामहरूले गर्दा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिले मलाई केन्द्रीय नेपाल जुनियर रेडक्रस समितिको सदस्यको रूपमा र पछि केन्द्रीय नेपाल जुनियर रेडक्रस समितिको सभापतिको रूपमा सेवा गर्ने अवसर प्रदान गर्यो । यसले गर्दा मलाई नेपाल रेडक्रस सोसाइटीको सदस्य, उपमहान्त्री र उपाध्यक्ष बन्ने आधारहरू खडा गरिदिएकोले यहाँको जुनियर रेडक्रस सर्कल र विद्यालयप्रति म अत्यन्त अनुगृहित छु ।
संस्थाहरूको जीवनमा उत्साह र उमङ्गका क्षणहरू मात्र नआएर ज्यादै ठूला पीडा र दुःखका क्षणहरू पनि आउँदा रहेछन् । ती सबैलाई व्यक्तिले र संस्थाहरूले पनि ब्यहोर्नुपर्देा रहेछ । नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालयमा काम गर्दा आइपरेको एउटा घटनाले मलाई जहिले पनि मनमा पिरल्छ र जति बिर्सन खोजे पनि बेलाबखतमा त्यो घटना दोहोरिदै आइपुग्छ र मनलाई पीडा दिइरहन्छ । त्यस्तो दुःखदायी घटना थियो – हाम्रो जुनियर रेडक्रस सर्कलकी सहशिक्षकनायक राधा पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा भएको दुःखद देहावसान ।
मान्छे जन्मेपछि अवश्य मर्नुपर्छ । यो शाश्वत सत्य हो । उमेर पुगेर मर्नु सहज र स्वाभाविक प्रक्रिया हो । असमयमा भएको आकस्मिक मरण भने बढी कष्टप्रद र दुःखदायी हुँदो रहेछ । हाम्रो विद्यालयको शिक्षक र जुनियर रेडक्रस सर्कलकी सहशिक्षकनायक राधा पौडेलको निधन सर्कल र हाम्रा लागि अप्रत्याशित, असामायिक र आकस्मिक प्रकृतिको थियो । त्यसले गर्दा यो घटना हामीहरूका लागि बिर्सन खोजेर पनि बिर्सन नसकिने भयो । विशेष गरेर यो घटना मेरा लागि अत्यन्त स्तब्धकारी र पीडादायी बन्यो । राधा पौडेलको पारिवारिक परिवेश, सक्रियता, सहयोगी भावना र सम्पर्कशीलताजस्ता कुराहरू पनि मान्छेको मन छुन सहायक बन्दा रहेछन् । मेरा लागि यी सबै कुराहरू जोडिएर आइपुग्दा बिर्सन नसकिने घटना बन्न गएको मैले अनुभव गरेको छु । मान्छे को कहाँ जन्मन्छ, कहाँ पुग्छ र कसरी समाजमा घुलमिल हुन्छ भन्ने कुराहरू पनि अचम्मका हुँदा रहेछन् । राधा पौडेलको परिवारसँग जोडिएका केही कुराले मेरो मन बेलाबखत तरङ्गित भइराख्दछ ।
२०२५ सालमा गुल्मी तम्घासमा किरण पुस्तकालयको स्थापना गरियो । सरकारले तोकेका शर्तहरू पूरा गर्न तीन वर्ष लाग्यो । २०२८।५।३ मा प्रमुख जिल्ला अधिकारी कार्यालय शिक्षा शाखा गुल्मीबाट पुस्तकालय सञ्चालन गर्ने अनुमति प्राप्त भयो । त्यसको एक वर्षपछि जिल्ला शिक्षा अधिकारी कार्यालय पाल्पा तानसेनबाट २०२९।६।२९ मा पुस्तकालय सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो । त्यसको द.नं. १८९ छ । त्यसपत्रको पुछारमा का.मु. जि.शि. अ. गणेशप्रसाद पौडेलको नाम र दस्तखत छ । तम्घासको शिक्षा शाखाको सिफारिशको आधारमा त्यो स्वीकृति पत्र आएकोले त्यसबेला स्वीकृति दिने मान्छेको नाम याद गरिएन । त्यसको ८ वर्षपछि २०३७ सालमा गुल्मी जिल्ला पञ्चायतमा स्थानीय विकास अधिकारी भएर गणेशप्रसाद पौडेल आउनुभयो । उहाँको बसाइ किरण पुस्तकालयको कम्पाउण्डसँग जोडिएको बालमन्दिरको कोखैको पहिले माल कार्यालय भएको स्थानमा निर्मित स्थानीय विकास अधिकारीको आवास गृहमा थियो । उहाँलाई आफैले स्वीकृति दिएको किरण पुस्तकालयको आँगनबाट रातदिन ओहोरदोहोर गरिरहनुपर्दथ्यो । पुस्तकालयको स्वीकृति पत्रमा हस्ताक्षर गरेको कुरा न उहाँले संझनुभयो न हामीलाई नै त्यसबेला संझना भयो । २०५५ सालको कार्तिकमा पुस्तकालयबाट प्रकाशित ‘हाम्रो पुरुषार्थ’ को पुस्तकालय विशेषाङ्कको पृष्ठ १८७ मा उक्त स्वीकृतिपत्र छापेपछि हामीलाई बल्ल थाहा भयो । पुस्तकालयको आँगनबाट ३ वर्षजति रातदिन ओहोरदोहोर गर्ने व्यक्ति पुस्तकालयकै स्वीकृतिपत्रमा हस्ताक्षर गर्ने अधिकारी गणेशप्रसाद पौडेल हुनुहुँदो रहेछ ।
पुस्तकालयबाट प्रकाशित ‘हाम्रो पुरुषार्थ’ मा उक्त पत्र नछापिएको भए हामीलाई आजसम्म पनि थाहा हुने थिएन । उक्त पत्र सुरक्षित नराखेको भए पनि कसैलाई थाहा हुने थिएन । सो पत्र पुस्तकालयको स्वर्ण – जयन्ती वर्ष २०७५ को ‘हाम्रो पुरुषार्थ’ को स्वर्ण वर्ष विशेषाङ्कको पृष्ठ ३७९ मा पुनः मुद्रण गरिएको छ ।
स्थानीय विकास अधिकारी गणेशप्रसाद पौडेल तम्घासमा बस्दा उहाँका परिवारका सबै सदस्यहरू पुस्तकालयकै प्राङ्गणबाट रातदिन हिड्दा सबैसँग हाम्रो परिचय भयो । उहाँहरू ५ छोरा– छोरी र आफूहरू दुई गरी ७ जना हुनुहन्थ्यो । ३ छोराछोरीहरू हाम्रो महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालयमा पढ्न थाले । एउटी छोरी स्वीटी बालमन्दिर जान्थिन् र अर्की कान्छी छोरी स्मृति काखमै थिइन् । सर र म्याडम पुस्तकालयमा पसी पुस्तक, पत्रपत्रिका पढ्नुहुन्थ्यो । छोरीहरू कमला, लुना र छोरा राजेशलाई पुस्तकालयमा प्रवेश गराई म्याडमले पढ्न लगाउनुहुन्थ्यो । आफूद्घारा स्वीकृत पुस्तकालयमा आफै र आफ्नै सन्तानले पढ्न पाइरहेको र केही नयाँ कुरा सिक्न पाउनुजस्तो तारतम्य अदृश्य शक्तिले मिलाएजस्तो लाग्दछ । सानी छोरी स्मृति काखमा हुर्कदै थिइन् । दिनमा एकपटक स्तनपान गराएपछि २–४ घण्टा छोडेर हिड्न मिल्ने भयो अनि राधा म्याडमले हाम्रो विद्यालयमा पढाउने इच्छा व्यक्त गर्नुभयो । त्यसबेला हाम्रो विद्यालयमा सिन्धुकुमारी नेपाल र तुलसी बस्याल दुईवटी म्याडमहरू हुनुहुन्थ्यो । अर्को एक जना महिला शिक्षक थप्दा झन् राम्रो हुने ठानी विद्यालयले उहाँलाई पढाउन अनुमति दियो । अब हाम्रो विद्यालयमा ३ जना महिला शिक्षक हुनुभयो । त्यसबेला महिला शिक्षकलाई शिक्षिका भन्ने चलन थियो ।
त्यसबेला विद्यालयमा पढ्ने छोरीहरूको संख्या ज्यादै न्यून हुन्थ्यो । छोरीहरू स्कूल पढाउनका लागि अभिभावकहरूलाई धेरै पे्ररित गर्नुपथ्र्यो । त्यस्तो बेलामा पढेलेखेका महिला शिक्षक दुर्लभै हुन्थे । अतः महिलाहरू पढाउन तत्पर भएको देखेपछि खुशीसाथ स्थानमान दिन हामीहरू सबैको सहयोग रहन्थ्यो । श्रीमती राधा पौडेललाई विद्यालयले स्वागत गर्यो । विद्यालय प्रवेशको बेलामा उहाँले चिनेका मान्छेहरूमा हेड सर ज्ञानहरि आचार्यपछि पुस्तकालयमा आवतजावत भएको कारणले म नै उहाँको सर्वाधिक परिचित व्यक्ति थिएँ ।
विद्यालयमा पढाउन थालेपछि राधा पौडेलले आफ्नो काम – व्यवहार, सीप र जाँगरबाट सबैको मन जित्न थाल्नुभयो । उहाँ एक सभ्य र शिक्षित परिवारकी महिला हुनुहँदो रहेछ । वि.सं. २००२ सालमा दार्जिलिङ्गमा जन्मेर उहीँ हुर्के बढेकी र म्याट्रिकसम्मको अध्ययन गरेकी हुँदा पढाइको जग राम्रो थियो । चैनपुर, संखुवासमामा घर भई पछि विराटनगर पोखरिया निवासी गणेशप्रसाद पौडेलसँग वैवाहिक सम्बन्ध जोडिएपछि पनि उहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो । नेपालबाट उहाँले एस.एल.सी. र आई ए. उत्तीर्ण गर्नुभयो । श्रीमान्को जागिरको क्रममा उहाँले नेपालका धेरै ठाउँ देख्ने अवसर पनि प्राप्त गर्नुभयो । श्रीमान्कै जागिरको क्रममा २०३७ सालमा गुल्मीमा आउनुभयो र २०३८।०३९ मा उहाँ महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालयमा शिक्षक बन्नुभयो । उहाँका छोरी कमला, लुना र छोरा राजेशले यहाँको विद्यालयमा क्रमशः कक्षा १०, ८ र ६ मा पढे । नेपाल जुनियर रेडक्रस सर्कलको पनि तिनीहरू सदस्य बने । विद्यालयले आयोजना गर्ने अतिरिक्ति क्रियाकलापमा पनि उनीहरू सहभागी हुने गर्थे ।
राधा पौडेल म्याडम पठन–पाठनका अतिरिक्त अन्य बाहिरी सामाजिक गतिविधिमा पनि संलग्न हुन रुचि राख्नुहुन्थ्यो । विद्यालयका अधिकांश अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जिम्मा हेडसरले मलाई दिनुहुन्थ्यो । राधा पौडेलको रुचि, उत्साह र सक्रियतालाई देखेर सबै जसो कार्यक्रममा बसेर सघाउन मैले उहाँलाई अनुरोध गर्थें । उहाँले मेरो अनुरोधलाई स्वीकार गरी यथासम्भव सहयोग पुर्याउनुहुन्थ्यो । पिरियड खालि भएको बेलामा उहाँले आफ्नो घरपरिवारका लागि चाहिने स्वीटर जस्ता भन्यो त्यस्तै बुन्नुहुन्थ्यो ।
उहाँले छोरीहरू र विद्यार्थीहरूलाई फूल, फूलदानी बनाउन सिकाउनुहुन्थ्यो । उहाँ र उहाँकी छोरी कमलाले बनाएका फूल र फूलदानीहरू उपहारस्वरूप स्कूल र पुस्तकालयलाई दिनुहुन्थ्यो । ती फूलहरूले धेरै वर्षसम्म स्कूल र पुस्तकालयलाई शोभायमान बनाएका थिए ।
राधा पौडेल सामाजिक र मानवीय सेवाका कार्यमा अभिरुचि राख्ने महिला भएको मूल्याङ्कन गरी मैले हेडसरलाई नेपाल जुनियर रेडक्रस सर्कलको सहशिक्षकनायक पदमा नियुक्त गर्न अनुरोध गरेँ । हेडसरले मेरो अनुरोध स्वीकार गर्नुभयो र राधा पौडेल हाम्रो सर्कलको पहिलो महिला सहशिक्षकनायक बन्नुभयो । म पनि एउटी सक्रिय महिलालाई सहशिक्षक नायक बनाउन पाएकोमा धेरै नै खुशी भएँ । हामीहरू बसरे सर्कलका बैठकहरू गरायौं । २०३९ साल आश्विन १ गते उहाँसहितको उपस्थितिमा सर्कलको वार्षिक कार्यतालिका तयार पार्यौं । कुन महिनामा कसले के कस्तो कार्यक्रमको जिम्मेवारी पूरा गर्ने भन्ने निर्धारण गर्यौं । राधा म्याडमले आफ्नो जिम्मेदारी राम्रोसँग पूरा गर्नुहुन्थ्यो । उहाँका लागि विशेष गरेर साँस्कृतिक कार्यक्रमको जिम्मा दिइन्थ्यो । उहाँले छात्रछात्राहरूको सिंगारपटार र नाचगानका धेरै कुरा सिकाउनुहुन्थ्यो, निर्देशन दिनुहुन्थ्यो । एकपटक उहाँको अगुवाइमा राजा हरिश्चन्द्रको नाटक पनि प्रस्तुत गरिएको थियो ।
स्थानीय विकास अधिकारीसँग स्कूलका कामले हामीलाई बढी सम्पर्क गर्नुपर्ने हुन्थ्यो । गणेश पौडेल सर स्वभावैले र पदीय दृष्टिकोणले पनि सहयोगी हुनुहुन्थ्यो । त्यसमा अझै आफ्ना छोराछोरीले पढ्ने र श्रीमतीले पढाउने स्कूल भएको कारणले आफूबाट हुनसक्ने र गर्न मिल्ने काममा कहिल्यै विलम्ब गराउनु भएन । स्कूलको विकासमा उहाँको सदा सुदृष्टि नै रहन्थ्यो ।
जिल्लाको विकास निर्माणका काममा तत्कालीन जिल्ला पञ्चायतको महत्वपूर्ण भूमिका हुन्थ्यो । त्यसमा सदस्य सचिवको रूपमा कार्य गर्ने स्थानीय विकास अधिकारीको भूमिका सर्वाधिक महत्वपूर्णहुन्थ्यो । २०३९ सालमा हामीले गुल्मी जिल्लामा क्याम्पस स्थापना गर्नुपर्छ भनी छलफल चलाउन थाल्यौं । त्यसमा जिल्ला पन्चायतका सभापति र उपसभापतिलाई सम्झाउन र बुझाउन प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई हामीले अनुरोध गरेका थियौं । तत्कालीन तीन जना अधिकारीहरूले उहाँहरूलाई क्याम्पसको आवश्यकता र उपादेयताबारे संझाउनुभयो । सकारात्मक पृष्ठभूमि तयार गरी आवश्यक निर्णय गर्न २०३९ आश्विन १४ गते तम्घास बाल मन्दिरमा जिल्लाका बुध्दिजीवी, समाजसेवी र जनप्रतिनिधिहरूको बृहत् भेला बोलाइएको थियो । त्यस भेलामा भएको उपस्थितिमा तेस्रो नम्बरमा गणेशप्रसाद पौडेलको हस्ताक्षर छ । उहाँले त्यस भेलालाई क्याम्पस स्थापना गर्न उपयुक्त समय आएको कुरा बोध गराउनुभएको थियो । यसरी गुल्मी जिल्लाका महत्वपूर्ण शैक्षिक संस्थाको रूपमा सुपरिचित किरण पुस्तकालय र रेसुङ्गा बहुमुखी क्याम्पसको स्वीकृति र स्थापनाको पृष्ठभागमा गणेश पौडेलको सहयोग अविस्मरणीय रहेको छ ।
उहाँकी धर्मपत्नी राधा पौडेलको महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालय र यहाँको नेपाल जुनियर रेडक्रस सर्कलमा थोरै समयमा गरेको योगदान पनि धेरै नै महत्वपूर्ण रहेको छ । उहाँलाई सहशिक्षकनायक बनाएपछि हाम्रो सर्कलबाट धेरै काम सम्पन्न हुने हाम्रो अपेक्षा थियो । यस अपेक्षामाथि ठूलो वज्रपात भयो । विद्यालयमा कार्यरत भएकै समयमा उहाँ बिरामी पर्नुभयो । २–४ दिन तम्घासमा उपचार गर्दा निको नभएपछि उहाँलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगियो । त्यहाँ उपचारको क्रममा आवश्यक पर्ने रगतको व्यवस्थाका लागि बुटवलमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रलाई मैले अनुरोध गरेको थिएँ । शुरूमा र रगत चढाएपछि गरी दुईपटक मैले उहाँलाई भेटी शीघ्र स्वास्थ्यलाभको कामना गरेर म गुल्मी फर्केको थिएँ । गुल्मी फर्केपछि उहाँको बारेमा बुझ्न खोज्दा शरीरले रगत पनि लिन छोडेको र बिरामीको अवस्था झन् जटिल बन्दै गएको खबर आयो । थप उपचारका लागि अगाडि बढाउने व्यवस्था गर्नुपर्छ कि भनेर जानकारी लिन खोज्दा २०३९ साल मंसिर ९ गते साँझ उहाँको आकस्मिक र असामयिक निधन भएको दुःखद खबर हामीसँग आइपुग्यो । हामी निकै स्तब्ध भयौं । उहाँको उपस्थितिमा गरिएको २०३९ साल आश्विन एक गतेको बैठक अन्तिम बन्न पुग्यो । त्यसबीचमा दशैं तिहारजस्ता पर्वहरू परेका कारण बैठक बस्ने अनुकूुल समय जुरेको थिएन । २०३९ मंसिर २१ गते उहाँको तेहृौं दिनको पुण्य तिथिका दिन नेपाल जुनियर रेडक्रस सर्कलको बैठक सर्कलका सभापति शालिकराम पन्थीको सभापतित्वमा बसी शोक प्रस्ताव पारित गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दैै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको थियो । त्यस प्रस्तावमा श्रीमती राधा पौडेललाई एक कर्मठ शिक्षिका भनी उल्लेख गरिएको छ र उहाँको निधनले सर्कललाई ठूलो चोट पुर्याएको कुरा पनि जनाइएको छ ।
विधिको विडम्बना विचित्रको हुन्छ । भारतको दार्जिलिङ्गमा जन्म, नेपालको संखुवासभामा जन्मेका पौडेल परिवारमा विवाह, विराटनगरमा बसाइ, रौतहट, सुनसरीमा एस.एल.सी. र आइ.ए.को अध्ययन, गुल्मीमा अध्यापन र ३७ वर्षको उमेरमा बुटवलमा निधन । यत्तिमै सिद्धियो राधा पौडेलको जीवन । ५ सन्ततिको भविष्य बनाउने जिम्मा गणेश पौडेलको काँधमाथि आइपुग्यो । हाम्रो नेपाल जुनियर रेडक्रस सर्कलले एउटी योग्य शिक्षकनायकलाई गुमायो । गुल्मी र संखुवासभालाई जोड्ने एउटा कार्य भने अद्यपर्यन्त जीवन्त छ । यहाँको नेपाल जुनियर रेडक्रस सर्कलले संखुवासभा जिल्लाको जुनियर रेडक्रस सर्कललाई एउटा योजनिकाको कार्यक्रम दिई त्यहाँ जुनियर रेडक्रसका गतिविधिहरूको विकास र विस्तारमा मद्दत गरेको थियो । संखुवासभा जिल्लाको पहिलो जुनियर रेडक्रस गोष्ठी सञ्चालन गर्ने काम यहाँको सर्कलबाट भएको थियो । आज गुल्मी र संखुवासभा जिल्लामा रेडक्रसका कार्यक्रमहरू राम्रोसँग सञ्चालन भइरहेका छन् । तिनको पृष्ठभूमिमा कतै न कतै स्व. राधा पौडेलको संस्मरण पनि जीवन्त छ भन्ने झल्को मलाई आइराख्दछ । नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र नमूना व्यावसायिक माध्यमिक विद्यालयसँग जोडिएको अतीतको एक घटना करिब ४० वर्ष पुग्नै लाग्दा पुनः झल्झल्ती संझने कागताली पर्यो ।
हाम्रो सर्कलकी सहशिक्षकनायक राधा पौडेलकी जेठी छोरी कमला अहिले अमेरिकाको क्यान्सस शहरमा स्थायी बसोबास गरी बस्नुहुँदो रहेछ । उहाँको विवाह काठमाडौंको न्यौपाने परिवारमा भएको रहेछ । हाम्रा छोरी– जुवाईँ– इला– महेश आचार्यजीहरू पनि त्यसै शहरमा बस्दा नेपालीहरूले आयोजना गरेको एउटा कार्यक्रममा परिचय गर्ने अवसर प्राप्त भएछ । त्यो भेटघाट निकै रमाइलो र आनन्दपूर्ण भएछ । इला पन्थीसँगको परिचयले गर्दा कमला न्यौपानेले मलाई पनि संझनुभयो । मुहारपुस्तिका मार्फत संवाद गर्न पाइयो । उहाँहरूको प्रगति थाहा पाएर मेरो मन अत्यन्त प्रफुल्लित भयो । नयाँ पुस्तामा पनि हाम्रो संझना नवीकरण गराउन पाइयो ।
अब अतीतका दुःखद घटनाहरू भविष्यका सुखद परिणामहरूप्रति आशाप्रद भएर उम्रेका छन् । मान्छे जहाँ गए पनि जे भए पनि मानवीय सम्बन्ध अत्यन्त मूल्यवान् बन्दो रहेछ । यही मूल्यबोधका प्रतीक हुन् मेरा यी दुईचार शब्दहरू । मेरो असीम स्नेहभाव छ – कमला न्यौपाने, लुना अधिकारी , राजेश पौडेल, स्विटी पौडेल र स्मृति घिमिरेप्रति । म सबैको समुन्नतिको कामना गर्दछु र एउटा कुरा भन्छु– नेपाल र नेपालीलाई कहिल्यै नबिर्सनू ।
***
प्रतिक्रिया
-
४