कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ विमोचन गरिएको छ । गत शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डवलीमा आयोजित एक भव्य समारोहका बीचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो ।

बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमाेचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि दिनेस अधिकारी, कवि श्रवण मुकारुङ र कवि प्रतिसरा सायमिले कृतिले नेपाली कवितामा एउटा गहिरो छाप छोड्ने र नेपाली कविताका विविध आयामहरू समेटिएको बताए ।

तीन कवि वक्ताका साथमा, काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुबेदी र प्रज्वल अधिकारीले संयुक्त रुपमा कृतिको बिमोचन गरेका थिए ।

कवि श्रवण मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’का कविता पढ्दै जाँदा विशिष्ट कवि मोहन कोइरालाको झझल्को आउने र यसरी झझल्को आउनु एउटा कविको सफलता भएको व्याख्या गरे ।

उनका अनुसार सङ्ग्रहका कवितामा कविताका विविध आयामलाई समेटिएको र त्यो ज्ञान र ध्यानले मात्र सम्भव हुने बताए। स्वच्छन्द कविता र परिस्कार कविता दुबै अधिकारीका कवितामा प्रस्तुत भएको उनको भनाइ थियो।

कवि प्रतिसरा सायमीले अधिकारीका कविताका मन परेका पंक्तिहरू वाचन गरिन्।

कवि दिनेश अधिकारीले प्रज्वल अधिकारी प्रतिभाशाली कवि भएको उल्लेख गर्दै वर्तमान समयका समालोचकहरूले यो कविता पढेर समालोचना गर्नुपर्ने बताए।

कवि प्रज्वल अधिकारीले लमजुङबाट आउँदा कान्छो अंकलको हात समाएर आएको र आउँदा पैसा नभएको र पैसा अहिले पनि नभएको तर अहिले धेरै परिवारहरू भएको भने ।

आजको दिनसम्म आइपुग्दा साथ दिएकी श्रीमती अस्मी सुबेदी मेरो जिवनका उतारचढावको साक्षी रहेको भन्दै, कविताको पहिलो पाठक रहेको कुरा जिकिर गरे ।

उनले सङ्ग्रहबाट दुई कविता वाचन गरे भने कार्यक्रमको सुरुवात छोरा अमोघ अधिकारीले बाबाको कविता वाचन गरेसँगै भएको थियो ।

‘अस्तित्वको ब्रह्माण्ड ’ अधिकारीको पहिलो कविता सङ्ग्रह हो।

प्रतिक्रिया

सम्बन्धित खवर