दक्षिण कोरिया — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाको नियमित साहित्यिक कार्यक्रम ‘काव्य सुधा’को १८१औँ शृङ्खलासँगै संस्थाको आठौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामचन्द्र शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि दक्षिण कोरियाका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराई रहेका थिए। अनेसास दक्षिण कोरियाका अध्यक्ष लोकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव राजेश सुवेदीले सञ्चालन गरेका थिए।

कार्यक्रमको पहिलो चरणमा ‘काव्य सुधा’को १८१औँ शृङ्खला आयोजना गरिएको थियो। कार्यक्रममा गजलकार रमेश थापा, मुक्तकार आर.पि.सि. सङ्गम र कवि मातृहाङ नेम्बाङले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। गजल, मुक्तक तथा कवितामार्फत उनीहरूले समसामयिक जीवन, मानवीय अनुभूति, प्रेम, समाज तथा प्रवासी जीवनका विविध पक्षलाई अभिव्यक्त गरेका थिए।

सोही अवसरमा गजलकार कमल सङ्घर्षको गजल सङ्ग्रह ‘हियाका कुडा’ र जनक सन्यालको गजल सङ्ग्रह ‘भीरफूल’ को विमोचनसमेत गरिएको थियो। विमोचनपछि कार्यक्रममा उपस्थित अतिथिहरूले दुवै गजल कृतिमाथि आफ्ना धारणा राख्दै कृतिकारहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, निरन्तरता र पुस्तान्तरणका लागि नियमित साहित्यिक गतिविधिको महत्त्वमाथि चर्चा गरिएको थियो।

सो अवसरमा दक्षिण कोरियामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा योगदान पुर्‍याएको भन्दै जीवन खत्री र श्याम अर्याललाई ‘अनेसास कोरिया सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै, संस्थाको विधान संशोधन समितिमा रहेर योगदान पुर्‍याएका संयोजक विष्णु वाग्ले तथा सदस्यहरू ह्यारी बोण्ड र जुनु गुरुङलाई सम्मान गरिएको थियो। संस्थाको कार्यसमितिमा रहेर वेबसाइट निर्माणलगायतका प्राविधिक काम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याएको भन्दै सदस्य दिपकराज बञ्जाडेलाई पनि सम्मान गरिएको थियो।

साहित्यिक कार्यक्रमपछि संस्थाको आठौँ अधिवेशन सुरु भएको थियो। अधिवेशनमा अनेसास दक्षिण कोरियाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको प्रवर्द्धनका लागि गर्नुपर्ने कार्यबारे छलफल गरिएको थियो।

नयाँ कार्यसमिति चयनका लागि जीवन खत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यमा निर्दोष शिव र महेन्द्र सापकोटा रहेका थिए। निर्वाचन समितिको समन्वयमा सम्पन्न चयन प्रक्रियाबाट रामचन्द्र शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सरोज भण्डारी, उपाध्यक्षमा विजयता भण्डारी र आर.पि.सि. सङ्गम, महासचिवमा मिलन शर्मा बस्याल, सचिवमा राधेश आचार्य र डिइबी सिकारु, कोषाध्यक्षमा चन्द्रकला रानामगर तथा सह–कोषाध्यक्षमा सि.पि. आचार्य चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा दिपकराज बञ्जाडे, रुसन सुवेदी, सुशील अर्याल, प्रदिप कुमार गणेश, राजन उप्रेती, रोजीना पराजुली, सिद्धान्त गौतम, एस.के. भट्टराई, ईश्वर दाहाल, रमेश थापा, लक्ष्मण आजाद र भिषण माईला रहेका छन्।

अनेसास दक्षिण कोरियाले लामो समयदेखि नेपाली स्रष्टा तथा साहित्यप्रेमीलाई एउटै मञ्चमा जोड्दै विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। नियमित रूपमा आयोजना हुँदै आएको ‘काव्य सुधा’ले प्रवासमा नेपाली साहित्यको सिर्जना, वाचन र संवादलाई निरन्तरता दिन भूमिका खेल्दै आएको छ।

विशेषगरी प्रवासमा रहेका नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्ने तथा नेपाली समाज, संस्कृति र प्रवासी जीवनका अनुभवलाई साहित्यिक सिर्जनामार्फत अभिव्यक्त गर्ने वातावरण निर्माणमा यस्ता कार्यक्रम केन्द्रित रहँदै आएका छन्।

नयाँ कार्यसमितिले संस्थाका नियमित साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै सिर्जना, बहस, अन्तर्क्रिया तथा नयाँ पुस्ताको सहभागितालाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर