-अभिप्शा कार्की
छन्द -असारे झ्याउरे

हिमाल हाम्रो शिरको टोपी, सुन फल्ने तराई
एउटै घर एउटै हामी, कोही छ‌ैनन् पराई
गौतम बुद्ध जन्मेको माटो पवित्र देश यो
अनेक जाती अनेक भूषा सुन्दर भेष यो

सिताले पानी पिएको कुवा जनकपुर गाउँ
अरनिको र भृकुटीजस्ता विभूति हाँस्ने ठाउँ
नागबेली बाटा पखेरातिर, गुराँस फुल्ने वन
स्वर्गको टुक्रा जसै छ नेपाल, रम्दछ हाम्रो मन

पहाडलाई मधेशसँग मितेरी लाएर
समानताको गाऔँ न गीत उभौली नाचेर
यति हो अब छुवा र छुत त्याग्नुछ भेदभाव्
विकासको ज्योति बालेर हाम्ले बाँढ्नुछ सद्भाव

मुटुमा बग्ने रगतझैँ नदी बगेर जाँदैछ
युवाको पौरख सिप र बल मुग्लानले लाँदैछ
र‍ोक न रोक अब त रोक देशमै केही गर
जन्मेको माटो मायाले बेर बनाउ अमर

***

प्रतिक्रिया

सम्बन्धित खवर