✍️ मलामी : जनक कार्की

थाहा छैन, चैत बजेर जेठ मिनेट जाँदा हुनुपर्छ, कल्प ग्रन्थको मलामी हिँड्न सुरु गरेको । मलामी नकारात्मक शब्द लाग्यो कि ? उहुँ चल्ता हे । नगरकोटी आफै घरभन्दा घाट मनपराउने मान्छे । त्यसैले पनि कल्प ग्रन्थको पठनलाई शब्दहरूको मलामी गएको भन्न खोजेको । कल्प ग्रन्थभित्र कथा छ भनेर सुनेको तर कथा मात्र होइन, लघु–कथा, कविता, फिल्म आदि ककटेल छन् । कतै प्रयोग कतै दुरुपयोग, कतै नयाँ कतै पुराना, कतै दाम्मी कतै बोर, कतै खत्रा कतै अलपत्र जिन्दगी जस्तै छ कल्प ग्रन्थ । नगरकोटी नेपाली साहित्यमा कथामा धेरै कल्पना र टन्नै कला भित्राउने कथाकार हुन् । उनको साहित्य मूडलाई फ्रेस बनाउने खालका हुन्छन् । मलामी जाँदा देखेको दृश्य अब सुरु हुन्छ ।

नगरकोटीले मृतक पोस्टकार्डलाई पुनर्जीवन दिएका छन् । यो अर्थमा उनी लेखक मात्र कदापि होइनन् , तान्त्रिक लेखक पनि हुन् । पोस्ट कार्ड स्टोरी कल्प ग्रन्थको वेदका ऋचा हुन् । कतै रुमिका लघु–कथा जस्ता लाग्ने , कतै कविताका सुन्दर पङक्ति जस्तै लाग्ने, फेरि कतै दार्शनिकको गीता झैँ लाग्ने पोस्ट कार्ड कथा यस किताबको सबैभन्दा रोचक र सटिक सिर्जना हो । यो कथाका शृङ्खला मैले साउन बजेर माघ मिनेट जाँदा सुरु गरेको थिएँ ।

– ब्ल्याकबोर्ड, चक र डस्टर

चक : यो ब्ल्याकबोर्डमा म आफ्नो जीवनको कथा लेख्न चाहन्छु ।

डस्टर : कथा लेख् या कविता ! हु केयर्स ! म मेटाइदिन्छु ।

###

बगर

नदीमा
तिम्रो नाम कोरेको थिएँ

आज
बगरमा बालुवा भेटेँ

प्रार्थना

हे नाथ,
तिमी किन यति अनाथ ।

#####

ट्यापोग्राफिक स्टोरी नेपाली कथा इतिहास नौलो होइन, होइन अति नौलो त्यो पनि होइन नौ~~~~~लो प्रयोग हो । खग्रासको ग्राफबाट सुरु भएको कथाले कति ठाउँमा त ग्रहणमा परेको सूर्यलाई हेरेपछि तिरमिराएको आँखा झैँ दृष्टि भ्रममा पुर्‍याउँछ । कथा पढ्दा पाठको घाँटी यति घुमाउन पर्छ एक किसिमले घाँटी कसरत नै हुन्छ । कहिले अक्षर उल्टो आउँछ, फेरि सुल्टो, अनि कही अक्षर कोल्टे परेर आउँछ , एकछिनमा फेरि घोप्टो परेको अक्षर आउँछ । किताबलाई ब्रेक डान्स गराइगराइ पढ्न पर्छ यो कथा । खैर पढ्नलाई जति मन्टो दुखाउन परे पनि कथा भने युनिक हो । कथा ५ देखि ७ बजेले जे जे हलचल बनाउँछ, त्यो रोचक छ । सुनिल दाजुको अवाधिक मृत्यु , महाभारतका उत्तराधुनिक पात्र र प्रत्येक दिन ५–७ बजेको समयमा भेट्याउने वालेटले कथासँग अँगालो हालिरहन मन गर्छ । धन्न यो कथा पढ्दा बर्थ मार्क अर्थात् जन्म ट्याटू अत्यावश्यक छैन नत्र कथाका पात्र झैँ विर्यानी खानबाट वञ्चित हुनपर्ने थियो, वर्थमार्कको इन्ट्री टिकेट नभएर !

ooooooo

– खरबुजा

खरबुजा , कल्प ग्रन्थको छोरा हो कि छोरी थाहा छैन । तर कल्प ग्रन्थसँगै प्राप्त हुन्छ, खरबुजा । अलग्गै सानो गोजी किताब जत्रो वा हनुमान चालिसाभन्दा अलि ठूलो आकारमा प्राप्त हुन्छ । खरबुजा गर्मी मौसमको अमृत हो । कथा सुरु हुनुपूर्व एउटा पेजमा खरबुजाको बारेमा लेखिएका विश्वप्रसिद्ध उखान र व्यक्तिको उद्धरण पढ्न पाइन्छ । त्यसले खरबुजालाई अझै रसिलो बनाउँछ ।

‘उनी खरबुजा जस्तै भित्रबाट पाकेकी छिन् ।’

‘खरबुजामा चाकु खसोस् वा चाकुमा खरबुजा खसोस्, पीडा खरबुजालाई नै हुन्छ ।’

‘रिसाएकी प्रेमिकालाई खरबुजा देऊ , सब ठीक भइहाल्छ’ : नगरकोटी उखान ।

कथा जब सुरु हुन्छ , डिहाड्रेसन भएको व्यक्तिले खरबुजा चुसे जस्तै मीठो लाग्छ । जबजब कथाले कल्पनाको हिमाल चढ्छ । ‘कथाले गोरेटो त्यो गाउँको खोजीखोजी थाकेनी, पहिल्याउन सकिनँ।’ हो यही गीतको याद दिलाउँछ । श्रद्धा(सुमन प्रेमध्वज प्रधान । नगरकोटी स्टाइलको अर्को सानदार कथा हो ,खरबुजा । कृपया कथा पढ्न आउँदा तिर्खालु भएर आउनु होला पाठकजी । पानी पिएर आएमा खरबुजा मन नपर्न सक्छ ।

कल्प ग्रन्थको पहिलो कथा जसको शीर्षक , एकछिन है हेर्नै पर्छ । शीर्षक यति लामो छ कि ! यदि यो कथा कुनै कोर्सबूकमा राखियो भने यसलाई घोक्न सकिन्न । एक्जाममा चिट लिएरै जानपर्छ । कथाको नाम नाइल नदीभन्दा लामो र सगरमाथाभन्दा अग्लो छ । यो कथाको शीर्षक लेख्दै छु । अझ भनौँ सार्दै छु कल्प ग्रन्थको पृष्ठ –५ बाट : ‘अलजाइमर्सग्रस्त एक अधबैँसे जगेडा आर्टिस्टको सिजनल दिमाग अर्थात् मायावी भँवरजाल , कुहिरोको ल्याण्डस्केप र अनसेन्सर्ड विचारहरूको आकशगङ्गा ।’

जति यो कथाको नाम एब्स्ट्र्याक्ट छ, त्यति नै कथा गोलमाल छ । यो कथा पनि एउटा प्रयोगवादी कथा हो । जसमा कथाकारले लेखेको कथालाई प्रकाशकले सम्पादकको सम्पादित गर्न पठाउँछ । कथामा लेखकको मैलिक लेखनमा विद्यालयको गृहकार्य जाँच्दा सच्चाए झैँ सम्पादक भर्सन पनि छ । यो कथाले पनि पाठकलाई अलमलमा पारिरहन्छ । कथा पढ्दै गर्दा पाठक आफैँ अल्जाइमर्सग्रस्त हुम सक्छ । त्यो जिम्मा पाठककै हो, नगरकोटी जवाफदेही हुने छैनन् । कथामा प्रयोग भएका मिथक र वर्तमान राजनीति र कुरूप समयलाई राम्रो चित्रण गरिएको छ । परम्परागत कथा लेखनबाट आजित भएका पाठकलाई यो कथाले मोमो र चाउमिनभन्दा अलग स्वाद दिनेछ । एउटा सुझाव पाठकलाई कथा पढ्नु अघि घाटी दायाँबायाँ र तलमाथि मज्जाले हल्लाएर पढ्नु होला । यो कथामा पनि घाटी र आँखाको जबर्जस्त व्यायाम हुने छ ।

****
ट्रान्स कृएटेड स्टोरीज

गुल्जार, माइअकलेन्जलो एन्ड अ स्लिम युवती (गुल्जार र फरनान्डो सोरेटिनोको आत्म) गमन यी दुई कथालाई अनु सिर्जनाको रूपमा कल्प ग्रन्थमा पाउन सकिन्छ ।

अनु सिर्जनाका यी कथाहरूलाई ओभरकोटीले माथि तल आफ्ना शब्द झुण्डाएर ककटेल स्वाद पस्केका छन्।

‘किनभने रङ्हरूले अरु रङसित सहवास गर्दा तिनले आफ्नो निख्खर गाढापनको कौमार्य नष्ट गर्छन् ।’

‘रङहरू परिवर्तित हुन्छन् तर ढुङ्गा या सङमरमर परिवर्तन हुँदैनन् ।’

माथिका दुई लाइन पढ्दा आनन्द लाग्ने लाइन भएर साभार गरिएको हो ।

लवलीनमय यो ओभरकोटीको आफ्नै शब्द हो । जसलाई प्रज्ञाको शब्दकोशमा पाइन्न । कुनै दिन प्रज्ञाले शब्दकोशमा अटाउन हाल्यो भने श्रेय कोटीकोटी नमनको साथ ओभरकोटीलाई नै जान्छ ।

फरनान्डो सोरेन्टिनोको आत्म गमन विश्व प्रसिद्ध द रिर्टन कथाको अनु सिर्जना हो । यो कथालाई पाठकले रुचिपूर्ण पढ्ने कुरालाई अस्वीकार गर्न सकिन्न ।

****

ग्रे स्टोरीज

‘बुख्याचा’ एउटा हत्याराको कथा हो । हत्याराको अनौठो किसिमको हत्या गर्ने शैलीले काथासँग अँगालिन मद्धत गर्छ । हत्याराहरूको समूह हुन्छ । आ–आफनै विभाग हुन्छन् । कथाले रोमाञ्चक स्थान बनाउँदै जान्छ । कथाले ‘काफिरोकी नमाज’ भन्ने अफ बिट फिल्मको पनि याद गराउँछ । यो ओभरकोटीको नगरकोटीयन शैलीको भिन्न कथा हो ।

‘अच्छा, अच्छा ! यो पाल्तु टुप्पी रहेछ ।
मलाई त लागाथ्यो, फाल्तु टुप्पी हो ।’

भिजिटिङ बार्बरको सेन्स अफ ह्युमरको कथन कथा ‘सेलफोनको’ हो ।

माथिका हरफ हाँस्यास्पद भए पनि सेलफोन निकै दुःखद कथा हो । सेलफोन कथा एक कुनाबाट सुरु हुन्छ, गल्लीगल्ली घुम्छ अनि फेरि त्यहीँ कुनामा आउँछ । सेलफोनको कारणले कथाका पात्रहरूमा आइपरेको समस्याको कथा हो । एउटा सेलफोनले मानिसको जीवनमा ल्याउने दर्दनाक अवस्थाको चित्रण हो । कथालाई उपकथाले जोड्दै अन्त्यमा प्रमुख कथाबाट समापन गरिएको कथाले मनमा तानपुराको तार चुडिएपछिको निशब्दता छोडेर जान्छ ।

‘झ्यालिञ्चा’ यो नाम मैले पहिलोपटक सुनेको हुँ । यसको शब्दको अर्थ के हो भनेर मोबाइलमा अटाएको प्रज्ञाको शब्दकोशमा औँला दबाएँ तर भेटिनँ । भयो भो झ्यालिञ्चा कुनै किराको नाम होला भनेर बुझेँ , यसैले काम चलाएँ । झ्यालिञ्चा कथाले पाठकवर्गमा अब के हुन्छ भन्ने कौतूहलता बनाइराख्छ ।

।।

इन्स्टलेसन स्टोरिज

यो परिच्छेद भित्र १० वटा कथा छन् । ग्रेभडिगर्स र गर्लफ्रेन्डस कथा छोटो तर एउटा आध्यात्मिक चिन्तन बोकेको कथा हो । हाम्रा मनको विकारलाई कलात्मक कथामा बुनिएको छ । मानसिक आश्रम अर्को एउटा व्यङ्ग्य कथा हो । कलब्रेकर्स कथा पनि राजनीतिक व्यङ्ग्य कथा हो । यो कथाको कला पनि रोचक छ । गायब एउटा झिल्को दिने कथा हो ।

सधैँ हट्के गर्न रुचाउने नगरकोटीको कल्प ग्रन्थसँग मलामी जाँदा मैले केही मलामी पुरानै देखेँ अर्थात् पूर्वप्रकाशित सिर्जनाहरू । ग्राफिक कथाको एक शब्दको एउटा पेजको प्रयोगले किताबलाई ओभेसिटीको रोग लगाएको छ । अन्त्यमा कल्प ग्रन्थलाई हार्दिक समवेदना । वैकुण्ठमा वास होस् । किनभने कल्प ग्रन्थले मृत्युको उत्सव मनाइसकेको छ । कुनै माहात्माले झैँ आफ्नो मृत्युको मिति आफै तोकेको थियो । लिमिटेड एडिसनमा जन्मियो अनि आफ्नो प्राण त्याग्यो । कल्प ग्रन्थले आफ्नो मृत्यु आफै घोषणा गरेको कारण म पनि मलामी जान पाएँ, खुसी छु । श्रद्धाञ्जलीका दुई फूल फेरि पनि । जसरी आत्मा कहिल्यै मर्दैन त्यसरी नै
तिमी भित्रका शब्द कालजयी बनून्।

प्रतिक्रिया

सम्बन्धित खवर