नेपाली साहित्यको नाटक र कविता विधामा स्थापित गोपी सापकोटा अङ्ग्रेजी भाषामा पनि कलम चलाउँछन् । उनका ‘एक अन्त्य एक शुरुवात’ (कविता सङ्ग्रह, २०५२), ‘पूर्णविराम’ (नाटक सङ्ग्रह, २०५५), ‘कमिलाको सपना’ (बालकथा सङ्ग्रह, २०५७), ‘खरानी’ (नाटक सङ्ग्रह, २०६०), ‘गुलाफको एस्ट्रेमा मृत्यु’ (कविता सङ्ग्रह, २०६३), ‘कालो आकृति’ (नाटक सङ्ग्रह, २०६४), ‘अ सुसाइड नोट’ (अङ्ग्रजी कविता सङ्ग्रह, २०६७), ‘प्रेम कतिपय’ (नाटक २०६९) र ‘काँचो कागज’ (उपन्यास २०७७) प्रकाशित छन् । ‘चिसो बाफ’ उनको दोस्रो उपन्यास हो । उनको औपन्यासिक कृति ‘चिसो बाफ’को सन्दर्भमा आजको आँगनमा सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सम्पादित अंश यस्तो छः

गएको हप्ता मात्र यहाँले ‘चिसो बाफ’ उपन्यास लोकार्पित गर्नुभयो । यो उपन्यास कस्तो खालको उपन्यास हो भनेर भन्नुपर्‍यो भने कसरी अर्थ्याउनुहुन्छ ?

यो एउटा प्रयोगधर्मी उपन्यास हो । नेपालमा अहिले लेखिने भन्दा अलि फरक लेख्ने विचारले मैले यो उपन्यास लेखेको हुँ । विश्वमा विभिन्न खाले उपन्यासहरू लेखिएका छन् । अङ्ग्रेजी पढ्नेहरूले त्यस्ता उपन्यासहरू पढेका छन्, तर नेपाली मात्रै पढ्ने पाठकहरूले त्यस्ता उपन्यासको स्वाद लिन पाएका छैनन् । त्यसैले मैले यो उपन्यास त्यस्ता पाठकहरूका लागि लेखेको हुँ ।

विमोचनको क्रममा यो उपन्यासलाई प्रयोगवादी मानसिक विचलन भएको पात्रको कथा भनेर भनिएको छ । यो उपन्यासमा यहाँले के कस्तो प्रयोग गर्नुभएको छ र ?

यसमा एउटा त संरचनागत प्रयोग छ । अर्को यस उपन्यासले पाठकमा पार्ने प्रभावको बारेमा प्रयोग गरेको छु । पहिलो पटक उपन्यास पढेर सक्दा रमाइलो लागोस् । अलि पछि गहिरिएर सोच्दा उपन्यासका घटनाहरूमा के नमिलेकोजस्तो लागोस् । अलि सोचेपछि फेरि बुझेजस्तै लागोस् भन्ने हो । अन्तराष्ट्रिय सिनेजगतमा त्यस्तै प्रभाव दिने सिनेमाहरू बनेका छन् र ती चर्चित पनि भएका छन् । इन्सेप्सन, सटर आइल्याण्ड, आई एम थिंकिंङ्ग अफ इन्डिङ्ग थिंङ्स केही उदाहरण हुन् । ती चलचित्रहरू हेर्दा दर्शकहरूमा जस्तो प्रभाव पर्छ, मैले पनि त्यस्तै प्रभाव दिने कोसिस गरेको छु ।

उपन्यासमा पात्रले लाससँग प्रेम, संभोग र संवाद गर्छ । यस्तो खालको कथा बुन्ने सोचको काल्पनिक झिल्को कसरी आयो ?

उपन्यास लेख्नु भन्दा पहिले एकदमै फरक खाले पात्रको कल्पना गर्न थालेँ। समाजका सामान्य मान्छेहरु भन्दा अलिक फरक चरित्र भएको पात्र खोज्ने क्रममा अमित फेला परेको हो, जसले लाससँग संवाद, प्रेम र संभोग गर्छ । मानसिक स्वास्थ्यमा समस्या भएको पात्रको कथा लेख्ने भएकाले मानसिक स्वास्थ्यको बारेमा अलिकति रिसर्च पनि गरेँ । पात्रले लाससँग गर्ने संभोगको कुरा पाठकले पात्रलाई गहिरिएर नचिनेको सन्दर्भमा आउँछ । तर जब पाठक पात्रसँग कनेक्ट हुन्छ, उसले आफ्नी प्रेमीकासँग गरेका सबै कुरा जष्टिफाईड लाग्छन् । अमितको मुनासँगको प्रेम र सम्बन्ध, उनीहरुको सम्बन्धमा आएको क्रमिक विकास, उनीहरुले भोग्दै आएको स्थिति, उनीहरुको समय र पात्रको मानसिक अवस्था र उसले सोच्ने तरिकाले उसले गरेका क्रियाकलापहरुलाई न्याय दिन्छ ।

यो उपन्यास कति समय लगाएर लेख्नुभयो र उपन्यास लेख्दा कस्तो(कस्तो प्रक्रियाबाट गुज्रिनु भयो ?

यो उपन्यास दुई वर्षमा लेखेँ । सुरुमा अनौठा पात्रहरू राख्ने सोच बनाएँ । सेटिङ्गका लागि एउटा कोठा मात्रै होस् भन्ने सोचें । मुख्य पात्रहरु जम्मा दुईजना मात्रै हुन् भनेर सोचेँ। पात्रहरूको सम्बन्ध र उनीहरुको जीवनमा घट्न सक्ने घटनाको बारेमा सोचेँ ।
खासमा मैले यो उपन्यासमा कुनै घटनालाई देखाउनु भन्दा पनि त्यसको प्रोसेसलाई देखाउने कोसिस गरेको हुँ । त्यसो त प्रोसेस प्रायः सबै उपन्यासमा हुन्छ नै, तर पनि मैले देखाउन खोजेको कुरा केटाको बिग्रदो मानसिक स्वास्थ्य र केटीको बिग्रदो शारिरिक अवस्था हो । अनि त्यो परिस्थितिबाट जन्मने क्लाइमेक्सको कुरा हो ।

जसरी शिवले करौडौं वर्ष सतीदेवीको मृत सरिर बोकेर हिँडे उसैगरी यस उपन्यासमा पात्रले मृत शरीरलाई जिन्दगीमा जोडेर जीवनशैली बनाएका छन् । यो उपन्यासबाट पाठकलाई के भन्न खोज्नु भएको हो ?

शिवले सतीदेवीको मृत शरिर बोकेर हिंड्नुलाई मैले प्रेमको आँखाले हेर्छु । उपन्यासमा पनि अमितले मुनालाई गर्ने प्रेमले नै उसले आफ्नी प्रेमीकाको मृत शरिरलाई आफ्नो साथमा राखेको छ । दुवै परिस्थितिमा प्रेमको भूमिका छ ।

साहदत्त हसन मन्टोले आफ्नो कथा ‘ठन्डा गोश्त’मा लाससँग संभोग गरेको लेखेको छ्न् । यो उपन्यासमा पनि लाससँग संभोग गरिएको छ । यसलाई प्रभावित भन्न मिल्ला ?

‘चिसो बाफ’मा लाससँगको संभोग एउटा दृश्य मात्रै हो, र त्यो मुख्य कुरा होइन । मुख्य कुरा त्यो पात्र कसरी त्यो अवस्थामा पुग्यो भन्ने हो । प्रोसेसको कुरा हो । उपन्यासमा ‘प्रोसेस अफ कन्सस् डाइङ्’ देखाएको छु । मर्न त सबैजना मर्छन् एकदिन, जन्मेपछि मर्नै पर्छ । तर जब तपाईंले कोही मर्ने प्रक्रियामा पुगिसकेको व्यक्ति देख्नुहुन्छ र ऊ तपाईंकै आँखा अगाडि बिस्तारै मर्दै जान्छ, त्यो प्रक्रिया आफ्नै आँखाले हेरिरहनु र आफूले केही पनि गर्न नसक्नु एकदमै पीडादायी हुन्छ ।

सधैँ एकै किसिमका उपन्यास पढ्दा आजित भएका पाठकको लागि यो उपन्यासले फरक स्वाद दिन सक्ने संभावना त देखिन्छ तर यस्तो नवीन र काल्पनिक विषयलाई नेपाली साहित्यले स्वीकार गर्न सक्ला कि नसक्ला ?

एकदमै राम्रो प्रश्न गर्नु भयो । नेपाली साहित्यले यस्तो नयाँ कुरालाई स्वीकार गर्ला कि नगर्ला भन्ने कुरा नै आफैँमा प्रयोग हो । संसारमा गरिएका सबै प्रयोग सफल हुन्छन् भन्ने छैन । नयाँ कुरालाई स्वीकार गर्न त्यति सजिलो हुन्न । तर हामी नेपालीहरूको नयाँ कुरामा चासो राख्ने बानी छ । त्यसैले यो उपन्यासले नेपाली साहित्यमा आफ्नै तरिकाले योगदान दिन्छ भन्ने लाग्छ ।

यो उपन्यास लेख्दा पात्रको ह्याङओभरमा पर्नु भयो ?

हो, उपन्यास लेख्दा पात्रको ह्याङओभरमा परेँ नि । उपन्यास लेख्ने भनेर सोच्न थालेपछि नै अमितले अरु सामान्य मान्छेले नगर्ने के के कुरा गर्न सक्छ भनेर सोच्न थालेँ। मानसिक स्वास्थ्यको बारेमा अध्ययन गरेँ । कतिपय च्याप्टर लेख्नको लागि बिभिन्न ठाउँमा गएँ । मैले मनमा सोचेको कुरा यदि वास्तविक संसारमा भयो भने कस्तो ठाउँमा हुन सक्ला भन्दै सिनेमाको सुटिङ्गको लागि लोकेसन खोज्दै हिँडेजस्तै म पनि त्यस्ता ठाउँहरू खोज्दै हिडेँ ।
ह्याङओभरको कुरा गर्दा मलाई लाग्छ, गहिरिएर यो उपन्यास पढ्नु भयो भने तपाईंलाई पनि यो उपन्यासको ह्याङओभरले केही दिन छोड्ने छैन । उपन्यास पढ्दा आउने आनन्द एउटा हुन्छ, ह्याङओभरले दिने आनन्द अर्कै ।

अन्त्यमा, स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

‘चिसो बाफ’ सरल भाषामा लेखिएको जटिल उपन्यास हो । यसको अर्थ बिभिन्न तह र पत्रहरूमा छन् । सामान्य पाठकले आफ्नै पाराले बुझ्छन् र रमाइलो मान्छन् । गम्भिर पाठकहरूले कतै कामु र बेकेटका पात्रहरूको झल्को पाउँछन्, त कतै म्याजिक रियालिज्मको संसार देख्छन् । मलाई धेरैले सोध्छन्, उपन्यास किन यति सरल भाषामा लेखेको भनेर । जटिल कुरालाई जटिल भाषामा नै लेखियो भने त केही पनि बुझाउन सकिदैन, त्यसैले म जटिल कुरा लेख्न सरल भाषा प्रयोग गर्छु । जनकजी, अन्तमा तपाईंलाई धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर