बिम्ब कविका रुपमा परिचित कवि हेमप्रभास धादिङका स्थायी बासिन्दा हुन् । नेपाली भाषा साहित्यमा स्नातकोत्तर गरेका उनी लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिए । दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेका उनी पछिल्लो समय चलचित्र निर्देशनको अध्ययन गरी निर्देशन कार्यमा व्यस्त छन् । जहाँ र जता जोडिए पनि उनी मुलत: कविका रुपमा परिचित छन् । झण्डै दुई दशकदेखि कविता लेखिरहेका उनले दर्जनौँ राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उल्झन उपन्यास समेत लेखेका उनको पहाड बोकेर पहाडतिर, गीतैगीतको गाउँ, सहर पसेको मान्छे लगायत कविता सङ्ग्रह प्रकाशित छन् । साँझमा सेल्फी उनको भर्खरै प्रकाशित भएको कविता सङ्ग्रह हो । यसै कृतिमा आधारित भई सम्पादक जीवन खत्रीले कवि हेमप्रभासलाई गरेका पाँच प्रश्न र कविको जवाफ;

१, साँझमा सेल्फी कवितासंग्रहको बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न ।

– साँझमा सेल्फी ७० को दशकभरि लेखिएका कविताहरुको सञ्चयन हो । यसमा मैले २०७१ देखि २०८१ सम्म लेखिएका नयाँ ७५ कविताहरू समेटेको छु ।

२, यहाँको २०६६ सालमै पहाड बोकेर पहाडतिर जस्तो बिम्बैबिम्बले पूर्ण कवितासंग्रह प्रकाशित थियो । यससँगै अरु कविताकृति सहर पसेको मान्छे, गीतैगीतको गाउँ निकालिरहेको कविले फेरि उल्झन नामक आख्यान लेख्नुभयो । आख्यानको बाटो हिँडेपछि कविहरु विरलै कवितातिर फर्किएका छन् । तपाईँ किन कवितामै आउनुभयो ? किन के रहेछ कविता ?

– विगत २ दशकदेखि मैले निरन्तर हिँडिरहेको बाटो भनेको कविताकै हो । कुनै कुनै विषय वा सन्दर्भले ठुलो क्यानभासको माग गर्ने हुँदा त्यस्तो बेला मैले आफ्नो दृष्टिकोण आख्यानमार्फत सार्वजनिक गरेको हुँ । यसबाहेक मैले हिँडिरहने बाटो भनेकै कविताको हो । पत्रपत्रिकाहरुमा कविता प्रकाशित नगरी बस्नुको अर्थ कविता लेखिएको छैन भन्ने होइन, यो दश वर्षबिचमा लेखिएका ७५ नयाँ कवितालाई अहिले मैले संग्रहको स्वरुप दिएको छु । कविता संसारकै सुन्दरतम कलामध्ये एक हो । त्यही कलाको मोहले जीवन र जगतलाई नियालिरहन्छ ।

३, दर्जनौँ राष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको कवि हुनुहुन्छ तपाईँ । एउटा कविलाई कविता लेखिरहन पुरस्कारले सहयोग गर्छ ? कसरी ?

– पुरस्कारले हौसला, ऊर्जा र जिम्मेवारीको भारी एकैपटक बोकाइदिन्छ । पुरस्कारैले कविता लेख्न सहयोग गर्छ भन्ने चाहिँ मलाई लाग्दैन । कविता आविष्कार हो । लेख्छु भनेर कविता लेखिँदैन, कथा, निबन्धहरु लेखिएलान् ।

४, यही मेसोमा अलि भिन्न प्रश्न सोधिहालेँ, तपाईँ चलचित्रको अध्ययन र निर्देशन समेत गरिरहेको मान्छे, हुन त चलचित्र पनि कलाभित्रै पर्छ तर नेपाली चलचित्रमा के कमी महसुस गर्नुभयो र तपाईँ निर्देशनमा होमिनुभयो ? तपाईँ गर्न सक्ने पृथक काम जो हालसम्म नेपाली चलचित्रमा भएको छैन । त्यो के हो ? कहिलेसम्म पूरा हुन्छ ?

– चलचित्र निर्माण, निर्देशन मेरो रुचिको विषय हो । तसर्थ मैले यसबारे औपचारिक अध्ययन गरेको हुँ । कमी कमजोरीका कुरा गर्ने हो भने त कति छन् कति । र, ती कमजोरी मबाट पूरा हुन्छन् भन्ने चाहिँ होइन । मबाट त मेरो दृष्टिकोण सार्वजनिक हुने मात्र हो । नेपाली चलचित्रमा यस्तो भयो, यस्तो हुनुपर्छ, यस्तो गरिनुपर्छ भन्ने हेतुले मैले चलचित्रको अध्ययन गरेको होइन, मेरो शिल्पलाई दृश्यको माध्यमबाट कसरी अभिव्यक्त गर्न सक्छु भनेर मात्रै म लागेको हुँ ।

५, आजका पाठकहरुसँग किताबको विकल्पमा धेरै कुराहरु छन्, ती सबै विकल्प थाती राखेर एक काव्यप्रेमीले किताब किन पढ्ने ? साँझमा सेल्फी नै किन पढ्ने ?

– किताब पढ्नैपर्छ भन्ने छैन । आआफ्नो रुचि र सौखको विषय हो । काव्यप्रेमीले चाहिँ किताब पढ्नैपर्छ । कविता पढ्नैपर्छ । कविताको विकल्पमा अर्को केही हुनै सक्दैन । साँझमा सेल्फीको कुरा गर्नुपर्दा चाहिँ कविताप्रेमीहरुका लागि यो अनुपम खुराक हो । यत्तिको कवितासंग्रह साहित्य क्षेत्रमा विरलै प्रकाशित हुन्छन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर