– रमेश पौडेल

१,
फुलेको छ गुराँस यता ढकमक्कै गाउँमा
के गर्दैछौ परदेशमा विरानो त्यो ठाउँमा
घरदेशमा गुराँस फुल्यो, काफल पनि पाक्यो
नसुनेकोे भाखा सुनेँ आज तिम्रै नाउँमा !

२,
सिसाको घरमा बस्नेले ढुङ्गो हानेर गए
बाठा थिए र त, लाटो बुङ्गो ठानेर गए
जानेहरू गए आाफु खुशी गन्तव्य भेट्न-
बर्षाएपछि ढुँगा आफैँ हलुङ्गो मानेर गए !

३,
जस्ले रोप्यो फेरि उसैले, काट्यो मलाई
बोक्रा पनि नराखी, पापीले चाट्यो मलाई
घाम छेकेँ,पानी छेकेँ,सारा दुनिया देखेँ –
आमा त भन्थ्यो, कपुतले ढाँट्यो मलाई !

४,
आफ्नु डम्फु आफैँ बजाउन जानेन उस्ले
यसरी मज्जाले बजा भन्दा नि मानेन उस्ले
उस्ले सोध्यो, कोदो पेलेर तेल निकाल्नु कसरी ?
के चुहियो मुटु निचोरेर ? कहिल्यै छानेन उस्ले !


माला लाएपछि, भाषणै गर्नु पर्छ भन्ने छैन
पदकै लागि ज्यान फाली, मर्नु पर्छ भन्ने छैन
कलम बोक्नेले देश भत्काउँदैनन् कहिल्यै-
शासन, सत्ताबाटै वैतरणी तर्नु पर्छ भन्ने छैन ।

***

प्रतिक्रिया

सम्बन्धित खवर