– पुष्प अधिकारी “अञ्जली”

“बा, आज कुशे औँसी! हजुरलाई के मन पर्छ?”
आँखा खोल्दा कोठा सुनसान थियो। सिरानीको छेउमा बाको त्यही एउटा धमिलो, कालो-सेतो तस्बिर टोलाइरहेको थियो। म तीन वर्षको छँदा नै बाले संसार छाड्नुभएको रे। उहाँको अनुहारको प्रस्ट रूप रेखा मेरो सम्झनामा छैन, तर उहाँको न्यानो काख र मखमली स्पर्शको एउटा धुमिल आभास भने अझै मनभित्र जीवितै छ।

आज बाको मुख हेर्ने दिन। गाउँभरि छिमेकीहरू आफ्ना बालाई फलफूल, मिठाई र नयाँ लुगा दिएर ढोगिरहेका थिए। म भने ढोकाको सँघारमा बसेर टोलाइरहेँ।
अचानक, मनको कुनै कुनामा बाको आकृति उभियो। सेतो कमिज, अनुहारमा अगाध स्नेहमय मुस्कान। सपना होस् या विपना, सङ्कट पर्दा सधैँ मलाई सम्हाल्न आउने तिनै बाका हातहरूले आज पनि मेरो शिरमा स्पर्श गरेझैँ भयो। “बा, हजुर कहाँ हुनुहुन्छ?” मेरो भित्री आत्माले सोध्यो।

हावाको एउटा मीठो स्पर्शले मेरो कपाल सुम्सुम्यायो, मानौँ बाले भन्दै हुनुहुन्थ्यो— “म तँभित्रै छु, छोरा।”
मिठाई वा उपहार दिने बा सामू हुनुहुन्नथ्यो, तर उहाँले दिएर जानुभएको संस्कार, ज्ञान र निस्वार्थ प्रेमको आशीर्वाद मेरो हरेक पाइलामा साथै थियो। तस्बिरको धूलो पुछेँ, ढोगेँ र आँखाका दुई थोपा आँसु नै बाको चरणमा अर्पण गरेँ। बाविनाको कुशे औँसीमा मेरो श्रद्धा नै बाको मुख हेर्ने सबैभन्दा ठूलो उपहार बन्यो।

***

प्रतिक्रिया

सम्बन्धित खवर