✍️ राधिका कल्पित

काँचोपात झैँ माडेर सुर्ती बनाई
च्यापिदिउँ ओठको पत्रभित्र
या एकै डल्लो पारेर
अठ्ठाइदिउँ छातीभित्र
या आइड्रप बनाएर
भरिदिउँ आँखाभित्र
या रीसले चूर भएर
चिरिदिऊँ बेसोमतले
या भावाबेगले उत्तेजित भएर
च्यातिदिउँ हरामी हर्कतले
मौनी झैँ चुपचाप–चुपचाप बस्छ तिम्रो तस्बिर
चन्द्रका चक्षुले झैँ हेर्छ तिम्रो तस्बिर !

तिमी जस्तो छुच्ची छैन तिम्रो तस्बिर
तिमी जस्तै डरछेरुवा पनि छैन तिम्रो तस्बिर
तिमीले जस्तै नखरा पार्न पनि जान्दैन तिम्रो तस्बिर
तिमी जस्तै डराएर पर पर पनि भाग्दैन तिम्रो तस्बिर ।

ए मेरी मनकी सखा !
कस्तो बोधित्व मुद्रामा छ्यौ तिमी
न छुँदा मात्तिन्छ्यौ
न छोड्दा आत्तिन्छ्यौ
न रिसाउछ्यौ म रक्सिले रन्थनिदै कोठाभित्र छिर्दा
न भन्छ्यौ मुख गन्हायो दुर्गन्धित सास फेर्दा
न भन्छ्यौ घुरेर सुत्न दिएनौ रातभर
न गालि गर्छ्यौ बिथोलिरहँदा दिनभर ।

समयलाइ हराएर बन्यौ निराकार तिमी
उमेरलाई जितेर बन्यौ सदाबहार तिमी
आँखा झिमिक्क नगरी हेर्छौ तिमी कसोरी
मानौ तिम्रै नजरबाट हराइहाल्छु कि जसरी !

तिमी जहाँ जहाँ जाउ या ज- जसकी भऊ
गुनासो छैन केही सम्झ मलाई या बिर्सिदेऊ
मसँग जो छ तिम्रो तस्बिर यो आफ्नै तक्दिर जस्तो
म हूँ तिम्रो भक्त मानौ तिमी देउता बस्ने मन्दिर जस्तो !

कहिलेकाहीँ तिमी ठुस्किदी हौ म फकाउन नसक्दो हूँ
कुनैदिन तिमी बुढी हुँदी हौ म मन पराउन छोड्दो हूँ
कुनैदिन तिमी झर्केर बोल्दी हौ अनि फन्केर जाँदी हौ
कुनैदिन त म बढि पिरोल्दो हूँ तिमी हार खाँदी हौ
तर तस्बिर यो तिम्रो सदा मुस्काएर जो हेर्दछ
मेरो अँध्यारो कोठामा दीप झैँ रोशनी जो छर्दछ
म लाटो सरी मुसार्दछु
घरि पागल सरी चिथोर्दछु
घरि बैरो भइकन सुन्दछु
घरि भावविह्वल भइ चुम्दछु !

 

प्रतिक्रिया

सम्बन्धित खवर