आँगन

– राधिका कल्पित
प्रिय छोरा !
म जन्मदै
तिम्रो लागि एउटा `घर´ लिएर आएकी थिएँ ।
तिम्रो खुत्रुके जत्रो मेरो पाठेघरमा
नौ महिना बसेपछि
तिमी जन्मियौ ।
तिमी जन्मिएपछि
तिम्रा पिताले सकिनसकि तिम्रा लागि एउटा घर बनाइदिए ।
तिमी बढ्दै गयौ
बाउको घर पनि साँघुरो ठान्यौ
फेरि अर्को आलिसान घर बनायौ ।
हिजो मेरो पाठेघरबाट तिमी निस्किएपछि
म `आमा´ बनेकी थिएँ ।
छोरा
आज तिम्रो महलबाट म निस्किएपछि
तिमी `छोरो´ बन्यौ कि बनेनौँ ?
***
प्रतिक्रिया
-
४
-
१०