– राजन खत्री

बहुत याद आइरहेछ यो आगोको,
यो परवरिसको, यो तापको—
खै, किन हो कुन्नि!

सायद आज घरमा पाहुनाको आगमन हुँदैछ।
आँगनमा फूलहरू पनि फुल्दैछन्,
बोटबिरुवामा कोपिला लागिसकेका छन्।
माली आफ्नै व्यस्ततामा हराइरहेको छ,
फूलहरू भने आफ्नै अस्तित्व र सौन्दर्यमा रमाइरहेका छन्।

यता पर्वहरू नजिकिँदैछन्।
आमाले घर सजाउन कमेरो र माटो तयार पार्दै हुनुहुन्छ,
बहिनीले मायाका धागोहरूमा माला उन्दै छिन्।
तराईवासीहरू छठ पर्वको पूजाका लागि तयार हुँदैछन्,
हिमाल मुसुक्क मुस्कुराइरहेको छ—
प्रेम, आस्था र प्रकृतिको सुन्दर प्रतिबिम्ब बनेर।

न फुल्नु छ, न फुलाउनु छ,
न भुल्नु छ, न भुलाउनु छ—
यही त रहेछ जीवनको सार।

यता तन्दुरीको भट्टीमा आगो दन्किरहेको छ।
त्यही आगोको तापमा
एउटा कोमल रोटी बिस्तारै पाकिरहेको छ।
आगोले पोल्छ, तर त्यही आगोले
भोक मेटाउने रोटी पनि तयार पार्छ।

आज त्यही आगोसँग जीवनका कथा साट्ने,
त्यही रोटी पकाउने भट्टीको छेउमा उभिने
एउटा पात्र हुँ म।

म केवल रोटी पकाउने मान्छे होइन,
आगोको तापमा आफ्ना सपना सेकिरहेको मान्छे हुँ।
अरूका थालीमा स्वाद र सन्तुष्टि पस्कँदै,
आफ्नै जीवनका अधुरा कथाहरू पकाइरहेको मान्छे हुँ।

किनकि मेरो जीवन पनि एउटा तन्दुरी हो—
जहाँ पसिनाले मेहनतको स्वाद दिन्छ,
आगोले संघर्ष सिकाउँछ,
र प्रेमले जीवनलाई अर्थ दिन्छ।

आगो बलिरहोस्, प्रेम जीवित रहोस्,
र जीवनको तन्दुरीमा आशाका रोटीहरू
सधैँ पाकिरहून्।
***

प्रतिक्रिया

सम्बन्धित खवर