दक्षिण कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा बृहत् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। च्याप्टरको १८२औँ काव्यसुधा शृङ्खलाअन्तर्गत आयोजित उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो।
नेपाली भाषा, साहित्य, कला र सिर्जनाको प्रवर्द्धन गर्दै प्रवासमा नेपाली साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यकार, कवि, सर्जक तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अनेसास दक्षिण कोरिया च्याप्टरका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मिलन शर्मा बस्यालले गर्नुभएको थियो। कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी अनेसास केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला विशेष अतिथि तथा च्याप्टरका संरक्षक लोकराज न्यौपाने अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा आमन्त्रित स्रष्टाका रूपमा छन्दवादी समाज नेपालका अध्यक्ष तथा कवि कविराज पौडेल, अनेसास कोरियाका पूर्वअध्यक्ष तथा साहित्यकार प्रमोद सारङ, पद्मकन्या क्याम्पसका उपप्राध्यापक तथा कवि राजिन पनेरू र नेपाल आइडलकी प्रतिस्पर्धी तथा कवयित्री रविना कँडेल सहभागी हुनुहुन्थ्यो। संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज भण्डारी सर्वहाराले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा आमन्त्रित स्रष्टाद्वय कविराज पौडेल र प्रमोद सारङले महाकवि देवकोटाको व्यक्तित्व, कृतित्व तथा नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे चर्चा गर्दै आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। यस क्रममा कवि पौडेलले देवकोटाको जीवनसँग सम्बन्धित कम चर्चामा आएका तथा ओझेलमा परेका विभिन्न पक्षबारे विशेष प्रस्तुति दिनुभएको थियो। उहाँको प्रस्तुतिले देवकोटाको स्थापित साहित्यिक परिचयभन्दा बाहिरका जीवनका विविध पाटाहरूलाई समेत उजागर गरेको थियो।
त्यसैगरी कवि राजिन पनेरूले जीवनका अनुभूति, प्रेम, प्रकृति, सामाजिक यथार्थ तथा मानवीय संवेदनालाई समेटिएका कविता प्रस्तुत गर्नुभएको थियो। कवयित्री रविना कँडेलले विभिन्न छन्द र लयमा आफ्ना कविता वाचन गर्दै कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो।
विशेष अतिथि राजु सिटौलाले अनेसास दक्षिण कोरिया च्याप्टरले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधिको प्रशंसा गर्दै महाकवि देवकोटासम्बन्धी मर्मस्पर्शी कविता वाचन गर्नुभएको थियो। प्रमुख अतिथि कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै संयुक्ता छन्दमा रचित ‘वृद्ध’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रियकरणमा प्रवासी नेपालीहरूको भूमिकामाथि समेत प्रकाश पार्नुभएको थियो। प्रवासको व्यस्त दैनिकीका बीच पनि नेपाली साहित्यप्रतिको अनुरागलाई जीवन्त राख्न यस्ता साहित्यिक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने सहभागीहरूको धारणा थियो।
महाकवि देवकोटाले नेपाली साहित्यमा स्थापित गर्नुभएको सिर्जनात्मक उचाइ, मानवीय चेतना र भाषिक सौन्दर्यको स्मरण गर्दै आयोजित यस कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको छ। भौगोलिक दूरीले साहित्यिक आत्मीयता र सिर्जनात्मक सम्बन्धलाई कमजोर बनाउन नसक्ने सन्देशसमेत कार्यक्रमले दिएको छ।
प्रतिक्रिया
-
४
