✍️ बालिका थपलिया
मेरो चित्रालय ! एक दिन बिहानपख हामी भेट भएका थियौं । मेरो ओठ तिम्रो कान्छी औंलाले छोयो । मैले छक्क परेर हेर्दा तिमी सूर्योदय हुन लागेको रक्तिम आकाशतिर हेरिरहेका थियौ । जसरी मलाई रातमा उदाउने तारा मन पर्ने र तिमीलाई सूर्योदयको यो अकाशे रङ्ग । त्यही बेला तिमीले भन्यौ, ‘तिमी ब्रह्म मुहूर्तमा गुञ्जिएको वेदको पहिलो ऋचा हौ । मेरो लागि तिमी ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद हौ । अठार पुराण पनि तिमी नै हौ । मेरो जीवनको धार्मिक, मानसिक, सामाजिक सबै पक्षमा तिम्रो सहभागिता छ ।’
म पनि आभारी हुँदै बोलेँ, ‘तिमी मेरो जीवनको पहिलो र अन्तिम प्रेम हौ ।’
तिमीलाई भेटेपिच्छे मेरो स्पन्दन सीमातीत हुन्थ्यो । लाजले रातोपिरो हुन्थेँ म । बेहाल मेरो हालत सुधार्न प्रयासरत रहन्थ्यौ तिमी । अनियन्त्रित धड्कनलाई नियन्त्रण गर्न अँगाल्थ्यौ । प्रेमको चाप घट्नुको साटो अझ घनीभूत हुन्थ्यो । ओहो ! कुनै गल्ती गरेझैं प्रेममा कति डर लागेको होला ? किन प्रेमीको सामु झुक्नमात्र मन लागेको होला ? मैले कानमा लगाएको जवाहरातको इयररिङको टलकमा तिमी समाहित केवल समाहित हुन्थ्यौ । मोतीमाला पनि तिम्रै लागि पहिरिएथेँ । अहिले पनि तिम्रै नाममा अर्पित गरेकी छु ।
त्यो हाम्रो स्पन्दन गफ सम्झिएर एक्लोपनले आहत भएको शरीरलाई राहत दिन खोज्छु । मेरो ढुकढुकीको नजिक तिमीलाई राखेर भन्थेँ, ‘सुन त, ए सुन त, कसको नाम ढुकढुकाउँदै छ ?’
तिमी एकदम उल्लासित भएर भन्थ्यौ, ‘मेरो प्रार्थना ! जहाँ न अरुको कुनै वैकल्पिक स्थान छ, न नाम । ल मेरो ढुकढुकीको छेउमा आऊ त । कसको नाम छ, सुनौं न ।’
तिम्रो पनि हालत उस्तै थियो । मेरो नाममा श्वासप्रश्वास अडिएको । म प्रेमको जलनमा तरल–तरल भएर तिमीमा छल्किदै बोले, ‘प्रेम ईश्वरको अवतार हो तर यो बदनाम छ । यसलाई संसारभरिका मनमा सुवर्ण अक्षरले मेटेर सधैंसधैं पवित्र बनाऔं हामी ।’
तिमीले मेरो हात समाएर धाप मार्दै भन्थ्यौ, ‘हाम्रो धड्कनको कसम ! तिम्रो इच्छा पूरा गर्न अहोरात्र लागिपर्नेछु । तिमी मेरी पाठशाला हौ । शिक्षा लिनुछ तिमीबाट ।’
हामी नजर–अधरको उन्नयनमा हाम्रो महान्तालाई उष्णता प्रदान गरिरहेका थियौं । आहा ! त्यो प्रेरक प्रसङ्गले मलाई पलपल स्निग्ध बनाउँछ । सबैतिर नादलहरी अनि सौगातको दोहोरीलत्त लस्कर लामबद्ध गरिदिएको छ । कहिले उचालिन्छु यादको भुवँरीमा, कहिले थेचारिन्छु । तिमीलाई नदेख्नुको बिलौनामा नराम्ररी बजारिन्छु । मेरो स्नायु र तन्तु हौ । ए मेरो नायक ! म तिम्री नायिका ! प्रेमको पर्दामा अभिनय गर्ने अभिप्राय छ । ंमलाई चुस्त तन्दुरुस्त बनाउने तिमी प्राकृतिक जडीबुटी ।
मेरो मनमालिक ! तिमी जहिल्यै बोल्छौ, सार्थक र गम्भीर बोल्छौ । हुन त प्रेममा परेपछि म पनि उस्तै भएकी छु । न नियममा न सूत्रमा, न व्यक्तिमा न भावमा यसको कुनै निश्चित सिमारेखा छैन । कतै पनि नअटाउने तर मिलाउन खोज्दा जता पनि घुलमिल हुने प्रेम हाम्रो लागि भगवान्झैं सम्माननीय छ । अरू चिज बाँड्दा सकिन्छ तर यो जति बाँड्यो त्यति बढ्छ । प्रेम जहिल्यै तिर्खाउँछ तृप्तिको रूप लिन सक्दैन । प्रेम हाम्रो निम्ति अमृतझैं स्वादिलो छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण तत्व भएकोले सायद लेखक, चित्रकार, कलाकारहरूले यसको आफ्नै किसिमले गुनगान गरेका छन् । उनीहरूले आफनो कलाकृतिमा यो अदृष्य शक्तिलाई विशेष स्थान दिएका छन् ।
ए मेरो ज्ञान विज्ञान ! जसरी जूनबिना ताराको अस्तित्व छैन, धरतीबिना आकाशको अस्तित्व छैन, जसरी फूलबिना काँडाको अस्तित्व छैन, धामबिना धर्मको अस्तित्व छैन, किनारबिना समुद्रको अस्तित्व छैन; त्यसरी नै प्रेमबिना जीवनको अस्तित्व छैन । नदेख्नेगरी सर्वत्र छाएको यो कदम–कदममा हामीलाई पछ्याइरहेको हुन्छ । हामी यसबाट भागेर कतै पनि लुक्न सक्दैनौं । हाम्रो प्रयास जहिल्यै पनि प्रेमलाई प्रेमकै रूपमा रहिरहन दिने हुनुपर्छ ताकि घृणामा रूपान्तारित हुन नसकोस् । तिमी र मलाई थाहा नै छ घृणा प्रेमको शत्रु हो । त्यसैले यसलाई अनुरागको छालले पखाल्दै जानुपर्छ ।
मेरो सुवर्ण ! जीवनमा मिलन र बिछोडलाई भाग गर्ने हो भने पाँच भाग बिछोड र एक भाग मिलन हुँदो रहेछ । तर बिछोडमा नै प्रेम मौलाउँदो रहेछ । पहराबाट पानीको मुल फुटेझैं मुटुबाट प्रेमको फोहरा उब्जिँदै जिन्दगी छताछुल्ल बनाइदिने । म पालुवा तिमी यसको सजावट । प्रेमको दाममा आउन्न कहिल्यै गिरावट । म यो जुनीमा तिम्रो प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता नहँुदा अतृप्त हुन्छु । यादको जाँतोमा न्यासध्यान पिसिरहेछु । मेरो खुत्रुके ! थैलीभरि तिमीलाई दिन भनेर खत्र्याकखुत्रुक प्रेम लुकाइरहेछु । आएर हेर है तिम्रो नाममा तयार भएका मेरा पोका पुन्तुरा । मसँग अन्ताक्षरी खेल्दै यी जुहिनाजुहिनी फुकाऊ । हामी प्रेमको उत्कर्षलाई पार गरौं ।
ए अनुष्ठान ! प्रेम र आँसुको निकटतालाई म क्रमशः बुझ्दै छु । सायद तिमी मेरा आँखाको डिलमा आँसु बनेर बसेको छौ । अनायास पोखिन्छौ । प्रेमले आँसुमै प्रहार गर्दो रहेछ । अनि म प्रत्येक बुँदमा तिम्रो उपस्थितिको प्रार्थना गर्छु । जब प्रेमले अन्तस्करणमा स्पर्श गर्छ तब दर्दको सूत्रपात हुन्छ । परिणाममा आँसुले प्रवेश गर्छ । जिन्दगी संवेदनाको सवाल बन्छ । त्यसैले ए मलाई सताउने राजा ! म यही आँसुको कोसेली तिम्रो लागि पठाइरहेछु ।
मेरो मनकमल ! फूल फुल्छ, ओइलाउँछ । फेरि उम्रिन्छ कोपिला बन्छ र फुल्छ । प्रकृतिले अनेक रूप लिन्छ । ऋतु फेरिन्छन् । तर तिमीप्रतिको मेरो प्रेम स्थायी छ । न घट्छ न बढ्छ । म तिम्रै यादको प्याला पिएर सधैं एकनास झुमिरहन्छु । तिम्रो समीपमा रहँदाको पलमा घुल्दा घुल्दै हायलकायल हुन्छु । यो नजरमा तिम्रो अद्भुत हेराइको चिनो खिल बनेर बसेको छ र प्रेमले घोच्नासाथ छ्यालब्याल हुन्छ । प्रेमको खिल नशाझैं हुँदो रहेछ बल्झिइरहने । अन्तरकुन्तरमा अल्झिइरहने । अनि म प्रेमको याचना गर्छु । मलाई प्रेमदान गर मेरो गन्तव्य ! तिम्रै जपनमा समर्पित छ जिन्दगी । म तिमीबिना शून्यप्राय छु । आऊ बिथोल मलाई । हेर, निभ्न लागेँ, आऊ बिरोल मलाई । मनको घात खुब प्यारो हुँदो रहेछ, आऊ जति सक्छौ पिरोल मलाई । तिम्रो लागि ग्रन्थ बन्न चाहन्छु म । एकाग्र भई छिचोल मलाई । प्रेम सार्वभौम हुँदो रहेछ म बुझ्दै छु । सँगसँगै चढौं प्रेमको सगरमाथा र प्रेमकै झन्डा गाडौं । जहाँ हामी दुई जनाको नाम लेखिएको हुनेछ ।
ए सगुन ! तिमी मेरो आत्मसम्मानको गरिमा हौ । तिमी मेरो रूपक र अलङ्कार, मेरो अभिधा, लक्षणा र व्यञ्जना । तिमी मेरो उपसर्ग र प्रत्यय । तिमी नै आख्यान र गैरआख्यान । तिमी मेरो जिन्दगीको रमिता, तिमी मुक्तक, गजल अनि कविता । मेरो सिर्जनाका हरेक पंक्ति तिमीमै आबद्ध छन् । मेरो जीवन गजलको प्रत्येक शेर, काफिया, रदिफ र तखल्लुस हौ तिमी । तिमी मेरो अन्वेषक, सुपरिवेक्षक, विश्लेषक र निर्देशक हौ । मेरो मधुपर्क ! प्रेममा दुखाइको कति व्यापक स्थान छ है । यदि मेरो जिन्दगीमा तिमी दुखेको थिएनौ भने म बिलकुल फिक्का र रङ्गविहीन हुने थिएँ । प्रेमको चोट छ जुन यो मनमा, मलाई सिजर्नशील बनायो जीवनमा । घाउबाटै कलाका पालुवा पलाइरहेछन् ।
ए चिरपरिचित ! प्रेम गर्नेहरु वर्षौं बिछोडिएर पनि बाँचेका छन् । तर तिमीलाई देख्न नपाउँदा मभित्र भङ्गालो छुटेको छ । जहाँ भुलभुलाउनु र कुलकुलाउनु मेरो नित्यकर्म बनेको छ । मेरो भुलभुलैया ! भेट्नु र छुट्नु हाम्रो नियति रहेछ । तर हाम्रो एक अर्काप्रतिको भरोसा कहिल्यै विचलित नहोस् यही प्रार्थना छ । यही अभिलाषा छ । ए सम्राट ! ममाथि शासन गर । तिमीलाई मैले अधिकार सुम्पिइसकेँ । अब एकक्षत्र राज्य गर । मलाई तिम्री साम्राज्ञी बनाऊ । हाम्रो प्रेम वाणिज्यको अनुक्रम चलिरहोस् ।
०००
प्रतिक्रिया
-
४