– मुकुन्द प्रयास

थाहा छैन
कसरी यही ठाउँमा बस्न आइपुगेँ ?

कसैले चक्लेट किन्न बोकेको थियो
र चक्लेट पसल नपुग्दै यतै खसें,
कि निहुरिएर गट्टा खेल्ने ढुंगा टिप्यो कुनै बालकले
र गोजीबाट विना सूचना हाम्फलें सडकमा ?

यही बाटो भएर दगुर्ने बसको झ्यालबाट
नजिकै बग्ने लेउती खोलाको नाममा
भेटी चढाउन फाल्यो कसैले
अथवा माइक्रो बसको कन्डक्टरको हातबाट भागें
स्वतन्त्रताको भोकले ?

आमाको पटुकीको फेरबाट खसें कि ?
यही सडक सफा गर्दै गरेको
मजदुरको हाफ पाइन्टको पकेटबाट झरेको पो हुँ कि ?
कसैले “गाई कि त्रिशुल” बाजी मार्दै गर्दा
झरेको ठाउँमा भेटिइन र आजसम्म हराइरहेको पो हुँ कि ?
कि जजमान गरेर फर्किरहेको पुरेतको पोको प्वाल पर्‍यो र यतै चुहिएँ ?
कि कसैको मृत्यु पछिको यात्रामा लाशको अघि अघि फालिएँ ?

मूल्यवान भएर पनि कसरी अमूल्य बसिरहेछु यो सडकमा ?
अलकत्रासँग टाँस्सिएको यतिका वर्षसम्म
आफ्नै मूल्य सोंचिरहेकै समयमा
अरुणको सिरानसम्म पुग्ने हतारमा दगुरिरहेको
विशाल ट्रकको चक्काले थिचेर जान्छ र ब्युँझिन्छु,
पानी पर्छ र म उज्यालिन्छु,

डिजेलगाडीको साइलेन्सरबाट निस्केको धुँवाले छोपिन्छु
र परबाट आफैंलाई नचिनी नचिनी हेरिरहन्छु, बिर्सिन्छु,
भर्खरै पिरती गाँसिएका जोडीहरु
मैमाथी गुडाउँछन् मोटरसाइकल र म प्रेमील हुन्छु केही क्षण
मृत्युको ठेगानासम्म पुर्‍याउन
गाडीभरी कुखुरा बोकेको पिकपले टेकेर जान्छ
र म जीवनका टुक्राहरु सम्झिन्छु ।
चुनाव जितेको विजयी मुस्कानले
मलाई नै कुल्चिएर गयो कि सिंहदरबारको गेटसम्म
अथवा साँगुरीगढी गाउँपालिकाको भवनसम्म ।

गोठालोको गीत सुनिरहेको एकहुल गाईको बथान
मलाई नै खुरमुनी पारेर चर्न जान्छ – भोक सम्झिन्छु
चरेर फर्किन्छ – तेसै अघाउँछु ।

मेरो मूल्य लेखिएको अक्षर क्रमशः खिईदै गईरहेछ
मेरो आयतन क्रमशः पातलो भईरहेछ
थाहा छैन अझै कतिपटक टेकिईरहने हुँ ?
अझै कति समय टाँस्सिईरहने हुँ ?
कति पटक देखेर नदेखिने हुँ ?
कति पटक नदेखेर देखिने हुँ ?

यतिका प्रश्नहरुले थिचिएर लाटो भै बसिरहेको एक साँझ
आए दुई कवि र खिचे मेरा केही थान तस्बीरहरु
ओ हो !
म उनीहरुको कवितामा अटाउँछु कि अटाउदिन होला ?
उनीहरुको सम्झनाबाट हराउँछु कि हराउँदिन होला ?

***

प्रतिक्रिया

सम्बन्धित खवर