
– बालिका थपलिया
कविको आफ्नै रोजाइ हुन्छ, आफ्नै खोजाइ हुन्छ । कवि गिरिराज बाँस्कोटा आफ्नी निष्ठुरी प्रेमिकालाई प्रेम गर्नु र ढुङ्गालाई प्रेम गर्नु उस्तै ठान्छन् । प्रेमिकाको मन् ढुङ्गाझै नपग्लिने भए पनि उनी प्रेममा झुकेका छन् ।
उनले कवितासङ्ग्रह ‘ढुङ्गाको प्रेम’मा काव्यिक छविलाई प्रस्तुत गरेका छन् । यो कृतिलाई शिखा बुक्सले प्रकाशित गरेको छ ।
यो कृतिमा सत्ताइस वटा कविता समावेश गरिएका छन् । कविताहरुले प्रेम, समाज, प्रकृति, युद्ध आदि विषयबस्तुलाई समेटेका छन् । कठोर बनेकी आफ्नी प्रेमिकाको बारेमा उनले यसरी गुनासो गरेका छन् ।
छुटिएपछि तिमी यति टाढा बन्दै गयौ
क्षितिजझै दूरदूर
लाग्छ बिर्सने योजनामै थियौ
तिमी ढुङ्गाझै बन्दै गयौ
यता म ढुङ्गालाई प्रेम गर्न थाले ।
कुनै कुनै कवितामा गिरिराज आफ्नै गाउँघरतिर डुलेका छन् । गाउँकै देउराली, उकाली, ओरालीलाई माया गरेका छन् ।
कविको विचारमा कसैलाई सम्झिनु जीवनको अविष्मरणिय पाटो हो । उनले ‘सम्झनाको कथा’ शिर्षकको कवितामा मार्मिक अनुभुति प्रस्तुत गरेका छन् ।
लेखिन्छन् हरफहरु
च्यातिन्छन् कागज बनेर
सपना देख्दा देख्दै भत्किन्छ निद्राको सावर
गजब त यो छ कि
बाँचिदिन्छन् सम्झनाहरु कथा भएर ।
उनले कविता मार्फत जीवन र जगतलाई नजिकबाट नियालेका छन् । प्रेमलाई गम्भीर रुपमा अनुभुत गरेर लेखेका छन् । युद्धमा भोगेको प्रेमको पीडालाई कविताको रुप दिएका छन् । उनको ‘युद्ध र म’ शिर्षकको कविताले युद्धको वास्तबिकता र प्रेमको मार्मिकतालाई उजागर गरेको छ ।
प्रियतमा,
यादहरु उतै थुनेर राखिदिनु
युद्धमा त्यसको काम छैन
प्यारको पोखरी बगाइदिनु
फर्किआएछु भने मिलेर झिकौला
अधुरो संगीत
अधुरो माया
अधुरो बाटो
बाल्यकालमा चप्पलको लोती चुँडिदा टुकीमा तताएर गाँसेको अनि नगासिदा सुत्लीले अडयाएको उनी सम्झिन्छन् । डटसँग सुई साटेको सम्झिन्छन् । उनी बाल्यकालका घटनाले भविष्यतर्फ डोहोर्याएकोमा सन्तुष्ट छन् ।
मानविय संबेगको नजिक रहेर बाँस्कोटाले कविता लेखेका छन् । उनका हरेक कविताले गम्भीर विषयबस्तुलाई सम्बोधन गरेका छन् । समग्रमा कृति पठनयोग्य छ ।
***
प्रतिक्रिया
-
४