– मौन आवाज
म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु ।
तिम्रो ओठको हाँसो सम्झिरहन्छु
तिम्रो आँखाको आँसु सम्झिरहन्छु ।
म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु ।
सम्झिरहन्छु —
धमिलो पानीमा बगेको समय
सम्झिरहन्छु —
समयसँगै बगेर गएको हाम्रो सम्बन्ध !
गोधुली साँझको विरानो धुन सम्झिरहन्छु
क्षितिज पारिको जून सम्झिरहन्छु ।
सम्झिरहन्छु —
तिम्रो पाइतालाले तय गरेका दुरीहरू !
बालुवाको घर सम्झिरहन्छु
कल्पनाको झ्याल सम्झिरहन्छु
सम्झिरहन्छु —
सम्झनाका निर्दोष दृश्यहरू !
म त सम्झिरहने मान्छे
तिमीलाई सम्झिरहन्छु
तिमीले दिएको हृदयको घाउ सम्झिरहन्छु !
सम्झिरहन्छु —
प्रेम पत्रहरु
सम्झिरहन्छु —
वाचा कसम र / असंख्य भेट्घाटहरू !
दोबाटोको प्रतीक्षा सम्झिरहन्छु
हातमै ओइलाएका फूलहरु सम्झिरहन्छु
सम्झिरहन्छु—
अनन्त अनमोल पिडाहरू !
तिम्रो उपस्थितिको रोमाञ्च सम्झिरहन्छु
तिम्रो अनुपस्थितिको उदासी सम्झिरहन्छु ।
सम्झिरहन्छु —
आकाशका जम्मै तारा पुञ्जहरू
धर्तीका सबै फाँट र / कन्दराहरू ।
सम्झिरहन्छु —
वायु मण्डलका चरम स्वरहरू
ब्रम्हाण्डका गति र / चालहरू !
सम्झिरहन्छु —
हिमपात र / भीषण वर्षातहरू
आँधी तूफान र / प्रलयहरू ।
म सम्झिरहन्छु —
हाम्रो प्रेमको अवसान !
म त सम्झिरहने मान्छे
तिमीलाई हरदम सम्झिरहन्छु ।
तिमीले विर्सेर गएदेखि —
तिमीलाई झन् सम्झिरहन्छु !
***
प्रतिक्रिया
-
४
