– एकदेव अधिकारी
बिमल हट्टा कट्टा युवक । असाध्यै हिस्सी परेको थियो । सबैको नजरमा पर्न सक्ने थियो । सँधै कलेज जाँदा ऊ एउटै बाटो जाने गर्थ्यो । त्यो बिमलको सँधै हिँडने बाटो थियो । सँधै जसो ऊ कलेज जाँदा या कलेजबाट आउँदा त्यही उपहार पसलको अगाडि रोकिएर भित्रतिर हेर्ने कोशिश गर्थ्यो । त्यो उपहार पसलमा रंगी बिरंगी पोष्टकार्डहरू, फूलहरू, लगायतका अन्य उपहारहरू सजाएर राखिएका हुन्थे । उसका आँखाहरू ती उपहारहरू बीच केही खोजिरहे जस्ता प्रतित हुन्थे । केही बेर त्यतै उपहारहरू तथा केही बेर उपहार पसल भित्र बसेका पसलवालीलाई हेर्दै केही बेर त्यसै बिनाकाम पनि त्यतै तिर अल्मलिएर हिँडने गर्थ्यो ।
आज फेरी सँधै झैँ ऊ त्यहाँ आइ पुग्यो । सँधै झैँ आज पनि ऊ त्यहि उपहार पसल अगाडि टक्क रोकिएर मोटरसाइकलबाट ओर्लियो । मोटरसाइकलको ऐनामा आफ्नो कपाल मिलाएर पसल भित्र पस्यो । पसलमा रातो स्वेटरमा सजिएकी सम्झनालाई हेरेर मुसुक्क मुस्कायो । सम्झनाको लागि ऊ मात्र एक ग्राहक थियो । सम्झनाले उसको अनुहारमा सामान्य भाव लिएर उसलाई सम्बोधन गर्दै सोधी – “हजुर के खोज्नु भयो होला।”
“तिमी सम्झना होइनौ, बिमला र तिमी एउटै कक्षामा पढ्छौ होइन ?” – उसले कुराकानिको सिलसिला शुरू गऱ्यो ।
“हो बिमला र म एउटै कक्षामा पढ्छौँ । ऊ आफ्ना साथीहरूसँग बस्छे म आफ्ना साथीहरूसँग बस्छु । हाम्रो कक्षा भर्खरै सुरू भएकोले हामी बीच त्यति गहिरो चिनाजानी भने भएको छैन ।” उसले पनि सामान्य भावमा बिमलको प्रश्नको उत्तर दिई ।
“ए उसो भए तिम्रो र बिमलाको सँधै भेट हुन्छ हैन त ?” बिमल अझ प्रष्ट हुनका लागि सोध्दै गयो ।
“हो हाम्रो भेट त सँधै नै हुन्छ ।” सम्झनाले पनि बिमलसँगको बोलिचालीको औपचारिकता निभाई ।
“बिमला मलाई राम्रोसँग चिन्दछे । यदि तिमीले उसलाई सँधै भेट्छौ भने मेरो एउटा सानो अनुरोध मान्छौ ? धेरै केही पर्दैन एउटा सानो काम मात्र हो ।”
बिमलको प्रश्नमा रहस्य थियो र जसको लागि पनि यसले कुतुहलता ल्याइदिन सक्थ्यो । सम्झनालाई पनि त्यही कौतुहलताले बिमलसँग प्रश्न सोध्न बाध्यो बनायो – “कस्तो अनुरोध । के गर्नु पर्छ मैले भन्नुस् न ।”
“म भन्छु, पहिला एउटा ग्रिटिङ कार्ड लेऊ न ।” उसले दोकानमा भएका ग्रिटिङ कार्डहरू तर्फ इंगित गर्दै भन्यो ।
पसलमा अनेक प्रकारका ग्रिटिङ कार्डहरू थिए । पर्व विशेषका ग्रिटिङ कार्डहरू पर्वको बेलामा मात्र चल्दथ्यो । त्यो समय दशैँ पर्वको नजिकमा भएकाले दशैँको शुभकामना आदान प्रदान गर्ने कार्डहरू पसल भरि थिए । भएका कार्डहरूको चाङ तिर देखाउँदै सम्झनाले बिमललाई सोधी – “कस्तो कार्ड दिउँ ?” उसले केही दशैँका शुभकामना कार्डका स्याम्पलहरू उसको अगाडि फिँजाइदिई । उसले एउटा आकर्षक कार्ड छान्यो र त्यसमा दशैँको शुभकामना सन्देश लेख्यो । सन्देश लेखेर एउटा खाम मागेर उक्त खाममा त्यो कार्ड राखेर सम्झनालाई दिँदै भन्यो – ल यो कार्ड पुऱ्याइदेऊ है । भोली नै दिनु नि, पर्सिबाट त दशैँको बिदा पनि शुरू हुन्छ ।”
सम्झनाले केही बेर सोची । उसको मनमा आयो ‘आखिर एउटा शुभकामना कार्ड दिनु त हो नि । अनि फेरी आफ्नै व्यापार पनि त हुन्छ नि ।’ यस्तो सोच्दै उसले उसको त्यो अनुरोध सहर्ष स्वीकारी र भोलिपल्टै कलेजमा त्यो कार्ड बिमलालाई दिई । बिमलाले कार्ड बाहिरबाटै पठाउनेको नाम हेरी र कुनै पनि भाव नदेखाइकन त्यो कार्ड झोलामा राखी । बिमलाको कार्ड तथा कार्ड पठाउने प्रतिको उपेक्षा देखेर पहिला त ऊ चकित भई । अनि फेरी बिमला पनि ऊसँग मित्रता बढाउन त्यति चासो राख्दैनथी त्यसैले उनीहरूको परिचय हाइ हेल्लोमा मात्र सिमीत थियो । उसले यो बारेमा अरू चासो नराख्ने विचार गरेर त्यहाँ बाट फर्किई ।
दशैँ बिदा पछि कलेज फेरी शुरु भयो र तिहारको समय आयो । अनि तिहारमा पनि बिमलले त्यसरी नै सम्झनासँगबाट कार्ड लिएर सम्झनाकै हातबाट बिमलालाई पठायो । बिमलाले त्यो कार्ड पनि त्यसरी नै उपेक्षा गर्दै झोलामा राखी मानौँ जसले त्यो कार्ड पठाएको थियो ऊसँग उसको केही मतलब थिएन । तिहार पछि छठ आयो त्यसरी नै छठको शुभकामना कार्डको आदान प्रदान भयो र त्यसरी नै उसले उपेक्षाका साथ त्यो कार्डलाई झोलामा राखी । त्यस पछि क्रिस्मस आयो, अङ्ग्रेजी नयाँ वर्ष आयो र नेपाली नयाँ वर्ष आयो । प्रत्येक पर्वहरूमा रिठ्ठो नबिराइकन बिमलले त्यसरी नै कार्ड पठाउँदै गयो । सम्झनाले कार्ड पुऱ्याउँदै गई र बिमलाले त्यो कार्डको उपेक्षा गर्दै गई ।
कार्ड पुऱ्याउँदा पुऱ्याउँदै उसलाई बिमलप्रति सहानुभुतिको भावना फैलँदै थियो । ऊ बिस्तारै बिमलका लागि चिन्तित हुँदै थिई । बिमलाको बिमलप्रतिको उपेक्षा देखेर ऊ त पहिलेदेखि नै अचम्भित भएकी थिई, निराश भएकी थिई – ऊ सोच्ने गर्थी आखिर ऊ त्यस्ती निर्दयीको लागि किन मरिहत्ते गर्दैछ ? आखिर ऊ राम्रो थियो, लायक थियो पक्कै राम्रै काम गर्थ्यो उसको आर्थिक हैसियत पनि राम्रै देखिन्थ्यो । बिस्तारै बिस्तारै उसले बिमललाई बुझ्दै थिई बिमलालाई चिन्दै थिई । मनै-मन ऊ बिमलको सफलताको कामना गर्न थालेकी थीई ।
एकदिन सबेरै बिमल सम्झनाको पसलमा आइपुग्यो र भन्यो – “सम्झना अब तिमीले मेरो लागि गर्नु पर्ने यो अन्तिम दुःख आज गरिदेऊ । यो अन्तिम कार्ड आजै पुऱ्याइदेऊ भोलि उसको विबाह हुँदैछ । यो नै अब मैले उसको लागि तिम्रो हातबाट पठाउने अन्तिम कार्ड हो ।”
बैशाखको महिना थियो तर पनि मेघ गर्जनका साथ पानी परिरहेको थियो पसलमा बस्ने मानिस कोही थिएन । सम्झनाले पसलको समस्या ऊसँग भनी, र बिमलले पनि ऊ फर्केर नआएसम्म पसल कुरिदिने वाचा गऱ्यो । सम्झना एउटा छाता बोकेर कार्ड लिएर गई र केही बेरमै कार्ड पुऱ्याएर फर्केर पनि आई । बिमल पसलमा नै कुरेर बसिरहेको थियो ।
“फेरी एउटा अर्को कार्ड लेऊ त ।” भर्खर कार्ड पुऱ्याएर फर्किनासाथ आएको यो अनुरोध उसलाई अनौठो लाग्यो । आफ्नो कौतुहलता शान्त गर्न उसले सोधी – “भर्खरै त मैले कार्ड पुऱ्याएर आएँ । अनि जसका लागि तिमीले यो कार्ड पठाउँदै छौ उसमा तिमीप्रति कुनै भावना भएको मैले त देखिनँ । अनि यो कार्ड किन ?”
“यसको उत्तर म दिन्छु एउटा कार्ड त लेऊ ।” बिमलले आफ्नै सुरमा सम्झनासँग कुरा राख्यो – “कार्ड तिमीलाई सबै भन्दा बढी मन पर्ने लेऊ है ।”
सम्झनाले कार्ड उसको अगाडि ल्याइदिई बिमलले कार्डमा एउटा कविताका साथ केही शुभकामनाका शब्दहरू लेख्यो । त्यसलाई मन-मनै फेरि पढ्यो र आफूले बोकेको ब्यागबाट एउटा गज्जबको रातो गुलाबको फूल निकाल्यो अनि कार्ड र गुलाबको फूल हातमा राख्दै सम्झनालाई दिँदै भन्यो – “यो कार्ड चाहिँ तिम्रो लागि हो मेरी प्यारी सम्झना । बिमला त मेरी बहिनी हो त्यसैले उसले त्यो कार्डहरू उपेक्षाका साथ लिने गर्दथी । म तिमीलाई असाध्यै मन पराउँछु र तिमीसँग प्रेम प्रस्ताव राख्न चाहन्छु । के तिमी मेरी प्रेमिका बनेर मेरो जीवनलाई धन्य बनाइ दिन्छौ ?”
“अनि बिमला तिम्री बहिनी भए उसका लागि यत्रो समयदेखि कार्डहरूमा खर्च के-का लागि गऱ्यौ त ? अनि यतिका उपलब्धि बिहीन खर्च के-का लागि ?”
“मेरो खर्च उपलब्धि बिहीन कसरी भयो । म त तिमीसँग हिमचिम बढाउन चाहन्थेँ । तिमीसँग गफ्फिन चाहन्थे । तिमीसँग नजिकिन चाहन्थेँ यो कुरालाई यसैले त सहयोग गऱ्यो नि होइन र ? तिम्रो हाम्रो चिनाजान यही कार्डहरू मार्फत भएका होइनन् र ?”
उसको प्रेम प्रस्ताव स्वीकार गर्दै ग्रिटिङ कार्ड र गुलाबको फूल लिँदै गरेकी सम्झनाका गालाहरू लाजले त्यसै राता भए ।
***
प्रतिक्रिया
-
४
