✍️ बालिका थपलिया

उही स्वप्नलोक
श्रद्धेय आदम
प्रेममा परेका सबैलाई आफ्नो प्रेम सर्वप्रिय, सर्वसुखाय र सर्वयुगको महानतम् गाथा लाग्छ । जिन्दगीको कमाइ र आम्दानी नै प्रेम हो । सर्वोत्तम उपलब्धि हो । हाम्रो पहिलो भेटपछि दोस्रो र दोस्रोपछि तेस्रो कुनै पनि भेट केवल भेटमात्र थिएन ।

प्रेमका विषयमा लेखिएका अनगन्ती गाथा थिए । यी सबै समयले दिएका सुन्दर बिछ्यौना साबित भए, जसले मलाई इच्छित सपना देख्न सक्ने बनाइदियो । यी सपनाहरूमा तिमीले स्वर्ग र त्यसका विभिन्न आयाम छरिदियौ ।

कुनै कल्पवृक्षबाट मायाको पुष्पवृष्टि गरिदियौ । मेरो आवश्यकतालाई प्राथमिकतामा राखेर कुवा र इनार खनिदियौ । मैले प्रेमको कमण्डलुले उघाएर दुवैलाई सुनपानी छर्किदिएँ । मेरो लागि तिमी प्रेम सलसलाउने तालतलैया बनिदियौ ।

मेरो स्फुरण १ अझै पनि त्यो तृप्तिको तृष्णा बाँकी नै छ, जहाँ तिम्रो आत्माको नदीसँग मिसिएर यो मन रुमानी समुद्रमा आरेखित हुन चाहन्छ । ए भद्र मान्छे ! समुद्रको नुनिलो पानीझैंं हुँदो रहेछ माया । जति पियो त्यति तिर्खा जाग्ने । कहिल्यै सन्तुष्ट नहुने । मायाप्रीति लगाउनको लागि एक पलजस्तो मात्र लाग्छ यो जीवन । किनकि यो सार्वभौम छ र अविश्रान्त ।

प्रेमको अर्को नाम जादु रहेछ । कहिल्यै नउत्रिने नशा रहेछ । प्रेममा परेपछि मात्र वास्तविक जिन्दगीको आविष्कार हुँदो रहेछ । उफ् ! म सक्दिन प्रेमलाई तस्बिरमा उतार्न । यसको आयतन छैन । अलिखित छ । व्यापक छ । यसलाई तराजुमा जोख्न सकिन्न । कुनै पनि मापदण्डमा नाप्न सकिन्न ।

मेरो परमहितैषी ! ती लुटेराहरूले घमण्ड गर्नु बेकार छ, जो अर्काको सामान सकुशल लुट्न पाएकोमा गर्व गर्छन् । हामीले त संसारकै अमूल्य चिजलाई आफ्नो स्वामित्वमा लिएका छौं । त्यो हो हाम्रो मन । जसलाई हिरामोती, जवाहरात, खजाना कुनै पनि महँगो कुराले किन्न सकिन्न ।

यो त्यस्तो मोती हो, जसले जीवनको अँध्यारो बाटोमा प्रज्वल टुक्राहरू फालिदिन्छ । यही ज्योतिको सहारामा हामी प्रेमको यात्रा सफल बनाउन तत्परतासाथ प्रयासरत रहन्छौं । अनि मात्र बाँच्न लोभलाग्दो बन्छ हाम्रो चोला ।

ए चिरञ्जीवी ! म लठ्ठिन्छु, अर्धबेहोस हुन्छु । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु दुनियासँग । तिमीलाई नसम्झिएको कुनै क्षण छैन । यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जूनताराको शीतलता, धरतीको हरियाली, फूलहरूको सुगन्ध अनि सुन्दरता । आरुबखडा, आल्चा, पैयुँका फूल हेरेर हाम्रो आत्मिक सम्बन्धलाई मगमग बनाउँछु । खोला किनारमा उभिएका साल, सिसौ र देवदारुका रुख पनि हाम्रो नाममा अनुगृहीत छन् ।

मेरो मानसरोबर ! शीतको माला, असिना र हिउँको साम्राज्य, हिमाल–पहाडको लहर र जुनसुकै चिजले मेरोसामु स्मृतिको सौगात लिएर आउँछन् । प्रेमगीतहरू सुन्दा अझ तिमीप्रतिको मोहले उग्र रूप लिन्छ । यो पृथ्वीको हर कणमा तिमी भएको प्रतीत हुन्छ ।

तिमी साँच्चै नै सर्वशक्तिमान् रहेछौ । सायद यो लोकमा प्रेममा जति ठूलो शक्ति अरू कुनै चिजमा छैन । यही प्रतापले तिमी र मेरो विश्वासलाई मजबुत बनाइदियो । त्याग र भरोसामा हामी यो कठोर अवधि काटिरहेछौं ।

मेरो पहिलो र अन्तिम प्रेम ! नदीमा डुबुल्की मारिरहेको माछाले सपनामा पानीमा पौडिन नपाएको सपना देखेजस्तै भएको छ मेरो जीवन । तिम्रो यादको किरण झुल्किएपछि मलाई मर्माहत बनाउँछ । म काम गर्दागर्दै काम गर्न बिर्सिन्छु, हिँड्दाहिँड्दै बाटो बिर्सिन्छु, खाँदाखाँदै गाँस बिर्सिन्छु, पिउँदापिउँदै प्यास बिर्सिन्छु । यो प्रेमको सरगर्मीमा थाहा छैन के बिर्सिन्छु के सम्झिन्छु ।

मलाई केको खबर र म केमा बेखबर, तिम्रो आधिपत्यबिना महाशय ! ए मेरो कोमल प्राणी ! म तिम्रै बारेमा हरपल सोचिरहन्छु । तिम्रो भोक–तिर्खा, सन्चो–बिसन्चो, तिमीले अनुभूत गरेको जाडो–गर्मी, एक्लोपनको बारेमा मलाई चिन्ता लागिरहन्छ ।

जहाँ जाऊँ तिमी नै तिमी, हेराइमा तिमी, खोजाइमा तिमी, यो जिन्दगीको श्रुतिमधुर झङ्कार र धुन तिमी । हर्ष र विस्मात अनि गुनासो सबैमा तिमी नै तिमी । हामी जति नै टाढा भए पनि तिमीले मलाई पाइला–पाइलामा पछ्याइरहेझैँ लाग्छ ।

सिसी क्यामेराले झैंं मलाई कसैले चोर्छन् कि भनेर निगरानी गरेझैंं लाग्छ । मेरो वरिपरि तिमी केवल तिमी भएझैं लाग्छ । तिमीले सन्देशवाहकमा लेखेको थियौ नि । म पनि सोही किसिमले झस्काउँदी रहेछु है तिमीलाई । यही नै त हो नि प्रेमको मर्मच्छेदन । सुसंंस्कृत कलाकारिता । हामीलाई नजिक बनाइराख्ने बहाना ।

मेरो मन्तव्य ! भावना मनको भकारीमा नअटेर अटेसमटेस भएपछि यही कागजको सुकुलमा अक्षर, शब्द र संवेदनाको सञ्चयनलाई छरछार पार्छु अनि निर्माणधीन प्रेमको जगलाई पक्की बनाउँछु । प्रेममैत्री सिँढीहरूमा हामीले हात समाएर तलमाथि हिँडेको, एउटै ऐनामा हाम्रा मुहार नियालेको टड्कारो स्मृति बनेर ब्युँझाउँछ मलाई ।

तिम्रा स्याउरङ्गी गाला र अङ्गुरझैं रसिलो ओठ चुम्दाको उन्माद क्या बात १ तिम्रो निरञ्जनताको तारिफ गर्न म सम्माननीय स्तुति गाइरहेछु । तिम्रो आशीर्वादबिना मेरो शरीरका सबै पुर्जा दुर्घटित सवारीसाधनझैं हुने थिए । विश्वासको ढाकीमा प्रेमका सन्दर्भसामग्री बटुलेर तिमीलाई चढाउन शिर झुकाइरहेछु । नमन केवल नमन गरिरहेछु ।

बाफ रे बाफ ’ तिमी मभित्र स्थापित छौ कि अब विस्थापित हुने सम्भावना छैन । यो हर्षोल्लास सम्झिएर आफैसँग गर्व लाग्छ । विश्वविजय गर्छु जस्तो साहस बढेर आउँछ । प्रत्येक दिन डायरीमा पानामार्फत उड्दैउड्दै तिमीसामु आइपुग्छु । माया प्रस्ट्याएर प्रस्टिन्न तैपनि प्रेमको सङ्ग्रहालय बनाउन दौडधुप गरिरहेछु ।

तिम्रो निसानाछापको कलेजी रङ्गमा डुबेर स्फूर्तिदायक जागृति अभियान सुचारु गर्न चाहान्छु । सुरुङ खनिदेऊ न । प्रेममा दुरदृष्टि हुन्छ, त्यसैले फोक्सोको पातालबाट चियाइदेऊ न । तिम्रो नामावलीलाई जीवनको मतपेटिकामा चढाएकी छु । चुनावमा सधैं तिमीले मत जित्ने पक्कापक्की छ । जसलाई तिम्रा आँखाले मात्र देख्न सक्छन् । प्रेमको हेराइमा जस्तो दिव्यता कतै पाइन्न । म गरिबलाई प्रेम बक्सिएर तिमीले धनाढ्य बनायौ ।

मेरो मङ्गलसूत्र ! संसारभरिकै आदरणीय, अद्वितीय र प्रिय छौ तिमी मेरो लागि । म तिम्रो नाममा प्रेमको लिपि निर्माण गरेर तिमीलाई लिपिबद्ध गर्न चाहन्छु । हरेक प्रेम गर्नेले पढ्नेछन् र प्रेमिल शिक्षित बन्नेछन् । हाम्रो प्रेमका अक्षर कण्ठ पार्दै आफ्नै प्रेमलाई उच्चतम अङ्क ल्याएर सफल बन्न परीक्षा दिनेछन् । त्यो दिन प्रश्नपत्र बन्नेछौं– तिमी र म ।

मेरो शास्त्री ! यो कस्तो बेहोसी, कस्तो चञ्चल अवस्था ? यसको वास्तविकता खोज्दै छु तर भेट्टाउन सकेको छैन । सबैतिर मायालुको रूप देख्ने दृष्टिभ्रम हो कि यथार्थ ? म दोधार अवस्थामा धरमराइरहेछु । मझधारमा खडा भएर तिमीलाई पुकारिरहेछु ।

तिम्रो गुनगान गाउन, तिम्रो भव्यताको तारिफ गर्न, तिमीलाई सम्बोधन गरेर बोलाउन कुनै दर्जा पनि उचित छन् जस्तो लाग्दैन । तिमी सबैभन्दा अग्रस्थानमा छौ । कुनै पनि चिजबिजसँग तिम्रो तुलना हुन सक्दैन । त्यसैले न तिमी उपमा हौ न उपमेय । तिमी मेरो सोचाइको वरिपरि छाएको बेला प्यालाका प्याला माद पिएर भटभटाउँछु । सुनौलो घेराबन्दीमा छटपटाउँछु ।

मेरो मानसरोवर ! तिमी मेरो मानस हौ । मानिक हौ । म कहिल्यै ननिभ्ने आगलागीमा परेछु अनि अविराम जलिरहेछु । अब हामी सँगसँगै जलौं । तर कस्तो अचम्म, हेर त यो जलनले पनि शीतल अनुभव गर्छ । म कहिल्यै उम्किनै नसकिने पहेलीको बीचमा जेलिएकी छु । तर अनौठो माकुरी जालो कसैले देख्न सक्दैन ।

तिमीले जीवनमा दिएको कोसेली यो प्रीतको बारेमा जति लेखे पनि म अनभिज्ञ हुँदै छु । जुन बेला तिम्रो अनुहार याद आउँछ, मेरो रानी–मासुमै छोएझैं लाग्छ र आत्मासम्म त्यसको झट्का पुग्छ । वास्तविक प्रेममा संंवेग र आवेग दुवै सँगसँगै आउने रहेछन् । कहिले खुसीले फुरफुर गर्छु म अनि कहिले मुर्झाउँछु । बादललाई चिरेर घाम उदाएजस्तै तिम्रो याद नैसर्गिक रूपमा उत्पन्न हुन्छ मभित्र । प्रकृतिका हरेक सिर्जना, जीवनका हरेक आयाम र मोड तिम्रो स्मृतिको सँगालो लिएर आउँछन् । हाम्रो प्रेममय रस्साकस्सीलाई ब्युँझाउँछन् ।

मेरो दौडधुप ! म प्रेमकवि हुँ । म आसुकवि हुँ । तिमी यसबारे बेखबर छैनौ । प्रेमकविमा हुनुपर्ने विशेषताको बारेमा पनि तिमी जानिफकार छौ । किनकि तिमी मेरो प्रेमी अनि म तिम्री प्रेमिका । साह्रै कमजोर छ मेरो मन । काँडा त परै जाओस् फूलले हान्दा पनि दुख्छ । कसैलाई चोट लागेको देख्दा मलाई पीडा हुन्छ । अझ तिमीलाई विपत्तिबाट टाढा राख्न त म आफूलाई न्यौछावर गर्न तम्तयार छु । तिमी मेरो जीवनको हिमाल, पहाड, तराई हौ । प्रेम निर्बन्ध यातायात हो । मनको स्टेसनसम्म निमेषभरमा पुग्छ । एकपटक टिकट लिएपछि छुट्ला भनेर कहिल्यै पनि डराउनु पर्दैन । कहिलेकाहीँ पङ्चर हुन खोज्छ तर गुडान रोकिदैन ।

मेरो प्रार्थी ! म तिम्रै दर्शनाभिलाषी बन्न चाहान्छु । अब तिमी मभित्र कसैले निकाल्न नसक्नेगरी प्रवेश गरिसकेका छौ । मेरो मृत्युमा पनि मेरो लासबाट तिम्रो प्रेम छुट्याउन नसकिने भएको छ । त्यो बेला पनि तिमीलाई साँचेको अमर माया बाँचिरहनेछ । मेरो मायालु, माया अपरम्पार र निराकार रहेछ । बोलेर, लेखेर, भोगेर नसिद्धिने । यसको भण्डार जति रित्यायो त्यति भरिने । साँच्चै माया अमर र अथक रहेछ । अपरिभाषित, अवर्णनीय, अस्पृश्य, अतुलनीय रहेछ । तिमी मेरो विधेयक, ऐन र कानुन सबै हौ । यी सबैलाई एकमुष्ट पारेर मलाई तिमीमा समायोजन गर है ।

मेरो नक्षत्र १ रातको शून्यतामा तिम्रो पदचापको आहटले पटकपटक ब्युँझिन्छु । आँखा खोलिरहँदा तिमी आउँछौ, मेरो छेउमा बस्छौ, अँगाल्छौ । जूनको शिरफूल लगाइदिन्छौ । चाँदनी र तारा जडेर सिलाएको टलटल टल्किने चुँदरी ओढाइदिन्छौ ।

मेरो निधार चुम्छौ, शरीर हुँदै मनसम्म स्पर्श गर्छौ । यो भोकाएको अधरमा मिठो चुम्बन गर्छौ अनि मलाई सुरक्षित बनाउन आफ्नो छातीमा टाँस्छौ । म पनि तिमीलाई प्रणयले ओतप्रोत चुम्बनको साउती गर्छु अनि प्रफुल्लित भएर बजाउँछु पियानो र भायोलिनभरि प्रेमको सङ्गीत । तिमीबाट प्राप्त हुन थाल्छ मलमल आलिङ्गन । म दिलको आँगनमा प्रेमको बिस्कुन छर्छु, तिमी घाम बनेर तातो बनाउँछौ । हामी त्यो मिलनलाई हर्षबढाइँ र उत्कण्ठासहित मनाउँछौ । दुवै प्रमत्त हुन्छौं । आहा ! त्यो चिरनूतन बाहुल्यको कसरी सप्रसङ्ग व्याख्या गर्नु ?

कसरी समीक्षा गर्नु ? तिम्रो आगमन मेरो लागि तिलस्मीयुक्त खजानाभन्दा पनि मूल्यवान् हुन्छ । त्यही बेला तिमीलाई कल्पिँदाकल्पिँदै म निदाउँछु र पुनः त्यस्तै झुल्दाझुल्दै निद्रा पु¥याउँछु । तिम्रै प्रतापयुक्त संहिताबद्ध अनावरणमा म अनावृत भएछु ।

मेरो मुग्धरस १ मानिसहरू सोच्छन्, म तिमीलाई कुन बेला सम्झिन्छु । उनीहरूलाई के थाहा, मैले तिमीलाई बिर्सिएको पल छैन भन्ने ध्रुवसत्य । अतीत, वर्तमान र भविष्यको दसगजामा उभिएर तिम्रै नाम पुकारिरहेछु । फेरि उही पूर्वस्मृतिमा डुबुल्की मारिरहेछु ।

बर–पिपलको चौतारीमा हामीले भेट्ने मेलोमेसो मिलाएका थियौ । छहारीमा शीतलता ग्रहण गरिरहेको बेला मैले ख्याल–ख्यालमा तिमीलाई प्रश्न गरेँ, ‘तिमी धेरै आँटी छौ । यस्तो आत्मविश्वासी कसरी बन्न सकिन्छ ?’

‘मेरी मायावती ! जीवनसँग साथी भएर । प्रेमले छोएर । कायरहरु प्रेमी बन्न सक्दैनन्,’ तिमी जमजमायौ ।
‘जीवनसँग नाता त गाँस्नैप¥यो नि । सबैले यसै गर्छन् । यो हाम्रो नियति हो,’ मैले तिमीलाई प्रस्ट पारेँ ।
‘तर तिमीजस्तै प्रेम गर्ने जोकोही हुँदैनन् । तिमी जीवनभन्दा धेरै मलाई प्रेम गछ्र्यौ ।’
‘तिमीले कसरी थाहा पायौ रु मैले त तिमीलाई प्रेम गर्छु भनेकै छैन,’ म नजानेझैं भएँ ।

‘सबै कुरा शब्दले भनिँदैन, केही आँखाले भनिन्छ । केही हाउभाउले भनिन्छ । केही इसाराले अनि केही मादकताले । प्रेमको भाषा विश्वव्यापी हुन्छ । यो अन्तस्करणले देखिन्छ । विभिन्न ढाँचाको मलमल कागजपत्रमा यसको नाम लेखिन्छ । गमलामा खुम्चिएर फुल्ने फूल होइन प्रेम । यसले सबै कुनामा जरा फिँजाएको हुन्छ ।’

म उस्ताद त थिइनँ तैपनि प्रेमको बारेमा आफनो अवधारणा थपथाप पारे ‘शरीर कस्तो रहेछ भनेर हेर्नको लागि काँचको अनि प्रेम देख्नको लागि मनको दर्पण चाहिन्छ । काँच चुक्यो भने झ¥यामझुरुम हुन्छ । मन टुट्यो भने प्रेमलाई धुन्छ र सफासुग्घर बनाउँछ ।’ हामीलाई सर्जक बनाउने प्रेमलाई दुवैले जयजयकार गर्यौ ।

मेरो उपनाम ! यसपछि नै हो, मैले कम बोलेर नै प्रेम दर्शाउन सकिन्छ भनेर बुझेको । तर आज हेर त तिमीले अर्थ लगाएझै मेरो हाउभाउ, मेरो इसारा, हेराइ र मादकता सबै म पोखिरहेकी छु अक्षरमार्फत । थाहा छैन, यसले मेरा सबै अभिव्यक्ति बुझाउन सक्छ सक्दैन । तिमी त्यो धर्का हौ जसले प्यारपूर्वक आशाका भुजाहरु जोडिदिएको छ ।

ए प्रेमको पुनरावृत्ति ! संसारमा सबै भाषाभन्दा फरक हुँदो रहेछ प्रेमको भाषा । प्रेमविभोर भएकाहरूले मात्र पढ्न सक्ने । तिमीले त्यही अस्पृश्य भाषासँग मेरो परिचय गराइदियौ । म यसलाई विश्वव्यापी बनाउनको लागि शुद्धशुद्धि कार्यमा खटिरहेछु । आशा छ, तिमीले सम्पादन गरिदिनेछौ । मेरो सम्पादक !

मेरो आदर ! मेरो कदर ! हामी एक–अर्काबिना पूरा हुन सक्दैनौं । तिमी मेरो आधा अङ्ग हौ र म तिम्रो आधा अङ्ग । हामी दुवैको सङ्गम पूर्ण रूप हो । तिम्रो र मेरो तन, मन एकै ठाउँ जोडिएको जस्तो लाग्छ । अनि वचन पनि एउटै भएझैं लाग्छ । तिम्रो वचन महावाणी १ तिम्रो राम्रो खबर सुन्दा मन फुरुङ्ग हुन्छ र नराम्रो सुन्दा ओइलाउँछ ।

मलाई सुनसानीमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मूकतालाई । बेहोसीमै तिम्रो बारेमा सोचेर बरबराउँछु । शून्यता र भिडभाडमा पनि तिमी भएको आभास हुन्छ । तिमी सर्वव्यापी भगवान् ! म प्रेमको माला जप्दै छु र तिम्रो आगमनको आह्वान गर्दै छु ।

मेरो श्रीपेच ! सपनामा पनि यस्तो लाग्छ, म धनुषको ताँदोमा चढेर काणझैं छुटन लागेकी छु तिम्रो निसानासम्म । त्यो निसाना तिम्रो आत्मा हो म सुरक्षित रहने पवित्र ठाउँ । ठेगानाबिनाको चिठ्ठीजस्तो थिएँ म । तिमी मेरो पत्रबाहक बन्यौ । शुभकामनाको संवाहक बन्यौ ।

तिम्रो तरलतामा तरङ्गित छु म । तिम्रै आकर्षणमा झङ्कृत छु । समग्रमा मेरो अन्तस्करणको सदाबहार झङ्कार र आवाज रहेछौ तिमी । जति बुझ्यो त्यति नै बुझ्न बाँकी हुन्छ तिम्रो महत्व । ए स्मृति स्तम्भ ! तिमीलाई सधै अक्षुण्ण राखेर म उच्चाटलाग्दो एक्लो जीवनलाई हराभरा बनाउन चाहन्छु । कति सदाबहार है यो प्रेम ! जहिल्यै नौजवान रहिरहन्छ ।

मेरो फरफारक ! म बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको याद दिलाउने अमूल्य, अद्भुत, अस्पृश्य भलकहरू ! ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरेँ । तिम्रो तस्बिरलाई मनको क्यानभासमा टाँगे । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरून् भनेर समर्पणको पहरा लगाएँ । हे प्यारा ! हामीले प्रेमको ढोका खोलेर स्वर्गमा प्रवेश गरेको क्षण सम्झ त ।

‘नमरी स्वर्ग देखिँदैन’ भन्ने सुनिन्थ्यो तर हामीले जीवित अवस्थामा यसको चरम खुसीका साथ अनुभूति गर्ने सुनौलो अवसर पायौं । म कति भाग्यमानी प्रेमिका रहेछु । तिम्रो झलकले चिरनूतन बनाउने स्वर्गको सुविधा भोग्न पाएँ । अनि यो त मायालुहरूको दृष्टिमा हुँदो रहेछ जस्तो लाग्छ । निष्कर्षमा प्रेमको नजर नै स्वर्गद्वारको चाबी रहेछ । जति बलियो प्रेम त्यति चाबी पक्का ।

प्रतिक्रिया

सम्बन्धित खवर