– बालिका थपलिया

ए वर्णमाला ! जब मैले तिमीलाई पहिलोपटक देखेँ, त्यही समयदेखि प्रेम गर्न थालेँ । तिम्रो रूप र हाउभाउले लोभ्यायो । ती शालीन आँखा, भद्र तवरले पहिरिएको भेषभूषा, मेरो हृदय तिम्रो हृदयसँग वार्ता गरेर ‘प्रेम गरौं’ भन्न चाहन्थ्यो । त्यसपछि अविच्छिन्न रूपमा तिमी मेरो स्मृतिपटलमा ओहोरदोहोर गरिरहेका छौ । दिनप्रतिदिन बढ्दो अवस्थामा छ स्मृतिको तापक्रम, घट्ने सम्भावना छैन । यो कल्पना र सपनाको ज्वरोले मलाई जिन्दगीभर सताइरहने भयो । तिमीलाई पनि यो ज्वरो सारेर हामी दुवै ग्रस्त हुने मान्यता राखेकी छु ।
मिलन छोटो हुन्छ । बिछोड लामो । म यी विषाद्का दिन कष्टकर रूपमा काटिरहेकी छु । ए मेरो पहिलो र अन्तिम प्रेमी ! आऊ मलाई बरबाद गर । जीवनमा प्रेमको आबाद गर । नजर हुँदै यो मनसँग संवाद गर । प्रेमको हतियारले प्रयोगमा ल्याएर मलाई आक्रमण गर । यो मनको सिमानालाई अतिक्रमण गर । यो जिन्दगीको मैदानमा सकुशल विचरण गर । हुन त अहिलेसम्म त्यही त गरिरहेका छौ नि । म पनि कति बेहोसी, आन्तरिक आकाशमा पन्छीको भेषमा उडिरहन्छु तिमीलाई भेट्न । भरिपूर्ण पुष्पवाटिकामा गोलो ढुङ्गाको बीचमा बसेर हामीले सलिफा खाएको कति मज्जा !
मेरो सृष्टिपुञ्ज ! कोही असली सुन्दरता हेर्न चाहन्छन् त प्रेममा परून् । उनीहरू शून्यतामा पनि रङ्ग देख्न थाल्छन् । यो विश्वलाई प्रेमको आधारमा हेरियो भने प्रेम नै मात्र देखिँदो रहेछ । यी निलकमल र कुमुदिनी फूलमा पनि तिमी मुस्कुराइरहेझैं लाग्छ । अनुरागको कागजपत्रमा हामी दुवैले हस्ताक्षर गरिसकेका छौं । म प्रेमको निम्ति निरक्षर थिएँ । तिमीले साक्षर बनाइदियौ । आजकाल प्रेमका सुन्दर अक्षर मेरो मानसपटलको वरिपरि घुम्न थालेका छन् । प्रियवर ! हाम्रा ढुकढुकीले एक–अर्कालाई प्रेमको निमन्त्रणापत्र थमाउँदा कति मनोरम वातावरण थियो है ।
मेरो आभार ! दुष्प्रयास हुन्छ मेरो तिमीलाई बिर्सिन खोज्नु । फूल र काँडाजस्तै, हिमाल र हिउँजस्तै, घाम र पानीजस्तै धरती र आकाशजस्तै नङ र मासुजस्तै हाम्रो सम्बन्ध अन्योन्याश्रित छ । मेरो जीवनको बहुमूल्य आत्मसंस्मरण हौ तिमी । तिमी मेरो लागि पञ्चतत्व हौ । नवरस हौ । छन्द र पराग हौ । मनको हजारीले हाम्रो प्रेमको फूलमा पानी लगाऊ । आऊ मायालु, निदाएको हाम्रो जीवन पुनः जगाऊ । यो प्रकृतिको कलाकारिताले तिमीप्रतिको मेरो प्रेममा अझ नुनचुक थप्ने काम गरिरहेको छ । भुइँ नै रङ्गिन बनाएर लटरम्म फुलिरहेका गुराँस, चाप, शिरीषले मेरो संवेदनशील मनलाई रोमाञ्चित बनाइदिन्छन् र स्फूर्तिदायक आभा छरिदिन्छन् । जमिन छेडेर अङ्कुराएका टुसाहरूले मेरै छातीमा उर्वरता बिछ्याएझैं लाग्छ । अदृश्य भएर पनि भगवान्झैं सर्वत्र प्रभाव जमाउने यो प्रेम कमालकै चिज रहेछ । आश्चर्य र चमत्कारको झुन्ड, कल्पनाको कुञ्ज, रहस्यको पुञ्ज ।
मेरो प्यारो वैद्य ! म प्रेम रोगी भएँ । प्रेमको भयङ्कर चोटलाई आएर शल्यक्रिया गरिदेऊ । अदृश्य घाउ दुखेर हुरुक्क भइसकेँ । तिम्रो माया लागेर क्लान्त छु । प्रेमाकुल छु । तिमीमै विलिन भएर चारैतिर भड्किन थालिसकेँ । हाम्रो मिलनका प्रत्येक घटनालाई कैयौंपटक दोहो¥याइसकेँ । म पुनः पूर्वस्मृतिमा फर्किएर आफनो गुमसुम आवेग खोलिरहेछु ।
एकपटक तिमी र म झिसमिसे बिहानीमा भेट भएका थियौं । कलिलो झुल्के घामको किरण तिमीले मेरो मुहारमा छरिदिएका थियौ । म तिम्रो छातीमा टाँस्सिएर धेरैबेर रोएँ । तिमी पनि भक्कानिएका थियौ । मायाको रुमालले हामीले एक–अर्काका आँसु पुछ्यौं । अनि नदी किनारतिर घुम्न गयौं । गुलियो मिठाई खाँदै काँधमा काँध मिलाएर हिँड्यौं । एक–अर्काका आँखामा प्रीतिको बीजारोपण ग¥यौ । पानीसँगै खेल्यांै । तिम्रो अञ्जुलीबाट मैले पानी पिएँ र मेरो अञ्जुलीमा तिमीले । सल्लाघारी अनि सिसौघारीमा लुकामारी खेल्दै हामीले साथसाथै शृङ्गारिक गजल लेखेका थियौं । चियाबारी र हरिया डाडाँकाँडा घुम्यौं ।
ए मेरो साहेब ! प्रेम निक्कै शक्तिशाली हुँदो रहेछ । हामी सँगै हुँदाको समयतिर दृष्टिगोचर गर्दा जिन्दगी नै मधुमासमा बदलिएझैं लाग्छ । अझ हाम्रो भेट हुँदाको हद खुसीको परिस्थितिलाई के म सामना गर्न सकूँला ?
ए मेरो सुरक्षाकवच ! युगौंदेखिको विरहले धुलो, कसिङ्गर अनि झारले ढाकेर झाडी नै झाडीसरि भत्किएको भग्नावशेषजस्तो थिएँ म । तर तिमी आएर काँटछाँट अनि स्याहारसम्भार गर्दा सुन्दर आकृतिमा परिवर्तन भएँ । चोटैचोट बोकेको यो घायल छातीभित्र छिरेर प्रेमको अमृत पोखिदियौ । अनि बल्ल आफूलाई सजीव भएको अनुभूत गरेँ । तिम्रा परेलीका साँघु चढेर मायाको जङ्घार तर्ने उत्कट अभीप्सा छ मेरो । यो कुइरीमण्डल जिन्दगीमा तिमी सुकिलो आकाशको घाम बनिदेऊ । तिमी रुख बन म शीतल छहारी बनिदिऊँला । प्रेम गर्नमा निपुण बन्ने सपथ खाऔं हामी ।
ए बन्दरगाह ! मन र प्रेम सँगसँगै बहँदा रहेछन् । एक–अर्कामा जोडिएका यिनीहरूको बन्ध्याकरण गर्न नसकिने रहेछ । यादहरू अनुशासनका बन्दी हुन्नन् । ब्रेकबिनाको गाडीझैं, लगामबिनाको घोडाझैं लगातार कुदिरहने अनौठो हुँदो रहेछ यिनीहरूको मिलन । प्रेमीहरूले मात्र देख्न सक्दा रहेछन् यिनीहरूको मिलनसभा ।
ए मेरो अणु परमाणु ! मभित्रको उहापोह भकारीमा नअटेर अटेसमटेस भएपछि यही कागजको सुकुलमा भावनाको बिस्कुन सुकाउने गर्छु । प्रीति घेराबन्दीमा अडिन सक्दो रहेनछ । तिमीसँग भेटेर प्रेमरस पिउन मन लाग्छ । तिमीसँग बितेका ती पल बल्झिइरहन्छन् अतीतको गर्भिणी मौनतामा । कहिलेकाहीँ त म बारुद भएर पड्किन्छु जस्तो लाग्छ प्रेमको रणभूमिमा । अनि मिठो युद्ध गर्नेछौं हामी दुई लडाकुहरू । कि दुवै हार्नेछौं कि दुवै जित्नेछौ । प्रेममा हार्न–जित्न पाउनु पनि विरलो अवसर रहेछ । जिन्दगीका अरू हार अप्रिय लागे पनि प्रेमको हारले गौरवान्दित बनाउँदो रहेछ । बरु जित तिमी म हार स्वीकार्न तयार छु । प्रेमको युद्ध साँच्ची नै मिठो हुँदो रहेछ । जित्नभन्दा हार्न मज्जा लाग्दो रहेछ । आफ्नो प्रियतम अथवा प्रेयसीको अघि झुक्दा कति धेरै गौरवान्दित महसुस भएको ? जसमा हिनताबोधको साटो खुसीयालीले वर्चस्व कायम गर्दो रहेछ । त्यसैले ए विजेता ! तिम्रो पयरमा शिर झुकाएर म हारेको प्रमाण पेस गर्न चाहन्छु ।
ए आज्ञाकारी ! तिम्रो मेरो भेट हुनु कति लोभलाग्दो र सधैं भइरहोस् जस्तो लाग्ने दुर्घटना थियो । जुन दुर्घटनाको असर जिन्दगीभर रहिरहनेछ । मेरो घायल प्रेमलाई बारम्बार बल्झाइरहनेछ । म मनमनै तिम्रो लागि प्रेमको निवेदन र प्रतिवेदन पेस गरिरहेकी छु । तिम्रो पे्रमपत्र पाएपछि संसारकै अमूल्य चिज पाएजस्तो लाग्छ । तिमीले शब्द–शब्दमा दिल मिसाएझैं लाग्छ । पढ्दापढ्दै जुहार चम्किइरहेको अनुभव गर्छु । अनुराग पोखिएर छताछुल्ल भएका हाम्रा चिठ्ठीहरूले दुवैको मनमा प्रेमको तार जडान गर्न मेकानिकको काम गरेका छन् । ए मेरो पुजनीय मान्छे ! म भित्ताको क्यालेन्डर हेरेर तिमीसँग भेट हुने बखतलाई पर्खिरहेकी छु । यी प्रणयमय पंक्ति तिमीलाई समर्पित गरिरहेछु ।
कहाँ बाँकी राखिनँ र मैले तिम्रो नाम लेख्नलाई ? मेरो जिन्दगी नै तिम्रो नामको अभिलेखले भरिएको छ । ताराहरू जम्मा गरेर जूनभित्र तिम्रो नाम लेखेँ । बादललाई पगालेर बर्सातमा तिम्रो नाम लेखेँ । धरतीको छातीमा प्रेमजडित तिम्रो नाम लेखेँ । तिम्रो नाम मेरो संसार ! जिउने आधार ! आत्माको पुकार ! मभित्रको असीमित आकार ! तिम्रो नामको बिउ सबैतिर छरिदिऊँ जस्तो लाग्छ । जहाँ मेरो नाम पनि जोडिनेछ र हाम्रो प्रेमले प्रेम जन्माउनेछ ।
मेरो वाद्यवादन ! तिम्रो अनुसरण र अनुकरणले यो उर्लंदो विलाप सम्याइदेऊ । मनलाई उल्लेख्य सूचनाको जाहेरी दिएर म तिमीलाई दिने खास संज्ञा ठम्याउने प्रयत्नमा छु । तिमीले मेरो आसपास कस्तूरीको सुगन्ध छरिदिएका छौ । मेरो पन्छीजस्तो सोचमा तिमीले कल्पनाको पखेटा जडिदियौ अनि म उड्न थालेँ भुरुरु… भुरुरु… तिम्रो हाँगेदार रुखमा गुँड लगाउनलाई । जहाँ दुवै आत्मा एक–अर्कासँगै टाँस्सिएर प्रेम साटिरहेका हुन्छन् ।
मेरो विदुषक ! संसारमा तिमी त्यस्तो मान्छे हौ जसलाई म असङ्ख्य शैलीमा प्रेम गर्छु । गर्दागर्दै कहिल्यै थाक्दिनँ । म ज्वारभाटा बनेर पोखिन चाहन्छु तिम्रो जीवनमा । सदाबहार उपहार बनिदिऊँ जस्तो लाग्छ तिम्रो लागि । म आत्मसमर्पण गर्दै छु तिम्रो निम्ति । तिमीलाई खुसी बनाउन कुनै कसुर बाँकी राख्न चाहन्नँ । तिम्रो सुख र दुःख मेरो जीवनको प्रतिविम्ब हो । मेरो परिचायक ! तिमी मेरो जिन्दगीमा नआउन्जेल परिचयविहीन थिएँ । तिमीले पहिचानको सुरुवात गरिदियौ । साह्रै फिक्का लाग्दो रहेछ परिचयबिनाको जिन्दगी । म तिम्री दीर्घकालीन प्रेमिका, तिमी मेरो बहुरूपी प्रेमी ।
ए लेख्यप्रमाणक ! मेरो प्रेमको नागरिकता हराएको छ । तिमीले मात्र त्यसको प्रतिलिपि निकालिदिन सक्छौ । किनकि म तिमीबिना आफ्नो चिनारीको परिकल्पनासम्म पनि गर्न सक्दिनँ । हाम्रो छाती प्रेम देशको राजधानी बनोस् । हाम्रो मन प्रेम प्रदेशको राहदानी बनोस् । तिमी र म मिलेर प्रेमको संविधान लेखौं । मुटुमा अनुरागको झन्डा गाडेर स्वाभिमान जोगाऔं । जस्तै कठिनाइ आए पनि हामी कहिल्यै नझुकौं । फहराइरहूँ सधैंसधैं प्रेमको सानदार प्रदर्शन गर्नलाई ।
मेरो आभूषण ! जसरी भूकम्प खबर नगरी आउँछ र संसार हल्लाएर जान्छ, त्यसरी नै आउँछ मलाई तिम्रो याद । तिम्रो यादको भूकम्पले मेरो मुटुलाई केन्द्रविन्दु बनाएको छ । अनि याद आएपछि आफूलाई सम्हाल्न निक्कै गाह्रो लाग्छ । म भौंतारिन थाल्छु अनि व्यग्रतासहित पर्खिन थाल्छु तिम्रो उपस्थिति । तिम्रो दर्शन गर्नु मेरोे जीवनको एक मात्र उद्देश्य । आऊ प्रिय ! यो भूकम्पले भताभुङ्ग जिन्दगी समेटिदेऊ । परकम्पमा थरथराएको मेरो प्रीतिकोे खम्बालाई दर्बिलो बनाइदेऊ । हाम्रो भूकम्प संवादलाई म सम्झिइरहेछु यतिबेला ।
‘भूकम्पपछि कति जोडी प्रेमविहीन भए होलान् ?’ तिमी सोचमग्न बनेका थियौ ।
‘प्रेमविहीन कि जीवनविहीन ?’ मैले प्रश्न गरेँ ।
‘प्रेम नहुनु जीवन नहुनु हो । बाँच्नु ठूलो कुरा होइन, घाइते भएर बाँच्नु पनि ठूलो कुरा होइन । तर प्रेमविहीन बाँच्नु नै दुःखदायी कुरा हो ।’
‘आज अचानक भूकम्पलाई किन सम्झियौ ?’ म छक्क परिरहेकी थिएँ ।
‘मैले यस्ता मानिस देखेको छु, जसले प्रेम पाएरै मरे । उनीहरूलाई भूकम्पले लिएर गयो तर उनीहरूले आफ्नो प्रेम साथै लिएर गए । मर्दा उनीहरू अर्थले मरे । तर…’
‘तर… ?’ मैले प्रश्नमय दृष्टिकोणले तिमीलाई हेरेँ ।
‘तर केही बाँचेर पनि अर्थहीन भएर हिँडिरहेका छन् । प्रेमविहीन बाँच्नुभन्दा प्रेमयुक्त मरण ठिक हो । मायालुको रोजाइमा पर्नु नै विजय हो । जोडीविनाको जिन्दगी पराजय हो । प्रेमले त पापीलाई पनि सुधार्छ नि ।’
तिमीले त्यसपटक पनि प्रेमको अर्थ खोलेका थियौ । मलाई त्यो स्पष्टीकरणले चित्त बुझेको थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर