– वसन्त ओली वसन्ती

गजल १,
खुसी भनेको हाम्रो जीवनको फौज र टेको हो
मैले त्यही भएर भर्ती गर्न चाहेको हो

म भोकले मर्नै लागेकोछु मेरो नजिकै विष छ
विष पिउँछु कसैलै नभनुन् त्यो भोकैले मरेको हो

प्रेम सुकेको पात हो त्यसमाथि सुस्त हिँड्नै पर्ने
सबले थाहा पाए जुनदिन ऊ बेसरी हिँडेको हो

घरबाट भागेर त्यसै म सहरमा आएको होइन
बुझ्नुस् बारीमा बाछो  हरियो खान  पसेको हो

छोरो मभन्दा अगाडि बित्यो भनेर नरुनोस् आमा !
हेर्नोस् त्यो हाँसिरहेको रुखको पनि हाँगो सुकेको हो

गजल २,
संकटकै बेला भनेछौ मैले सब सुविधा पाउनुपर्छ
भन्दा सम्झिनुपर्थ्यो कहिले उभिएर पनि निदाउनुपर्छ

रिसाएर दूर गएकी उनलाई आखिरमा घरमै ल्याएँ
सोचेँ,कपडा फाटे,सिलाउन मिलेसम्म सिलाउनुपर्छ

ढुङ्गाले घन बाहेक चिन्दो रहेनछ अरू कोहीलाई
सायद परिचय दिनलाई पनि एकपटक हिर्काउनुपर्छ

कसैले सोध्यो त्यतिका मान्छे कसरी दिलभित्र राख्न सक्छौ
मैले भनेँ बाकसमा धेरै कपडा राख्न पट्याउनुपर्छ

मनमा  केही कुरा नभए पनि मसँग बोल्न किन  डराएकीछौ ?
हुन त हो  रित्तो घरको ढोकामा पनि साँचो लगाउनुपर्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर