नेपाली साहित्यमा गजल र कवितामार्फत आफ्नो परिचय बनाएकम ललित बिष्ट पछिल्लो समय आख्यानमा बलियो उपस्थिति जनाएका कथाकार हुन् । अछामको कमलबजार नगरपालिकामा जन्मिएका बिष्ट हाल काठमाडौंमा रहेर साहित्य सिर्जनामा सक्रिय छन् ।आफ्ना सिर्जनामा सामाजिक यथार्थ, मानवीय संवेदना र समयका विविध पक्षको कलात्मक प्रस्तुति दिने उनको पहिलो कथा सङ्ग्रह ‘मोहपथ’ हो । जसले नेपाली कथा क्षेत्रमा उनको अलग परिचय स्थापित गर्यो । हालै प्रकाशित ‘उत्कर्ष’ कथा सङ्ग्रहमार्फत उनले समकालीन समाज र जीवनका विभिन्न आयामलाई कथाको विषय बनाएका छन् । यसैको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले कथाकार बिष्टसँग गरेका पाँच प्रश्न र कथाकारको जवाफ
१, कथा संग्रह ‘उत्कर्ष’का बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न ।
‘उत्कर्ष’ फरक–फरक समाज र विषयका १० वटा कथा समावेश छन् । पुस्तक करिब ३०० पृष्ठको छ । केही लामा कथा र लामा कथाको तुलनामा केही छोटा कथाहरू छन् । उत्कर्षलाई एउटै अर्थमा भन्नू पर्दा मेरो आँखाबाट हेरिएको अहिलेको समयको अभिलेखीकरण हो । अझै मैले ‘उत्कर्ष’ नाम राख्नु पछाडि मेरो तर्फबाट पुस्तकमा वर्तमान समाज भएका लिखित विषयको चरम अभिव्यक्ति हो ।
२, यहाँको पहिलो कथा संग्रह ‘मोहपथ’ प्रकाशित भएको थियो । र दोस्रो पनि कथा संग्रह नै प्रकाशित भएको छ । बताइदिनुस् र कथा के रहेछ ।
– परिभाषा मेरा लागि अव्यक्त अभिव्यक्ति हो । एक परिभाषामै कथा यो रहेछ भन्नू कथालाई न्याय हुँदैन । बरु पुस्तककै विषयमा कुरा गरूँ– ‘मोहपथ’ सामाजिक भावभूमिमै समेटिएका र वैचारिक रूपमा एक अर्थ लगाएर पढ्न सकिने कथा कृति हो । त्यहाँ कथाहरू पात्रमार्फत ‘ओपन इन्डेड’ भएर सकिन्छन् । ‘उत्कर्ष’ समाज र कल्पनामै सिर्जित पुस्तक हो । यसमा फरक के छ भने यो विषयलाई धेरै अर्थले हेर्न सकिने कृति हो । पहिलो पुस्तक पात्रहरूद्वारा ओपन इन्डेड थियो । यो पुस्तक विषयद्वारा ओपन इन्डेड हो ।
३, तपाईंका कथाहरू सरल, नरम र बिम्बात्मक त हुन्छन् नै आञ्चलिकताका हिसाबले पनि उत्तिकै प्रिय देखिन्छन् । कथामा आञ्चलिकता प्रयोगका लागि कतिको सहज असहज हुँदो रहेछ ? र यसले कथालाई कसरी फरक पार्दो रहेछ ? यहाँको अनुभव बताइदिनुस् न ।
– आञ्चलिकताप्रति मेरो बुझाइ यो समाजको लवज वा ध्वनि त हो नै, एक पात्रको लवज वा उसको स्वरध्वनि पनि हो । लेखक समाज र पात्रमा के कति समाहित भयो, त्यही अनुसार आञ्चलिकता अनुसरण लेखकका सहज र असहज हुने कुरा हो । लेखक हुर्किएकै र अनुभव गरिएकै परिवेश हो भने सहज हुन्छ ।
आख्यानमा आञ्चलिकता पात्र र भूगोलको प्रतिनिधित्व गर्ने तत्त्व हो । पक्कै पनि चरित्र चित्रणमा उसको छाप अविस्मरणीय राख्नमा महत्त्वपूर्ण योगदान रहन्छ ।
४, सुनिन्छ मेहनतले लेखेपछि प्रकाशन गर्न धेरै नै जटिल काम हुन्छ । सुरुमा त प्रकाशकले पत्याउनै गाह्रो, प्रकाशनपछि लेखकले पारिश्रमिक पाउन उत्तिकै गाह्रो छ भनेर भन्छन् । तपाईंको अनुभव कस्तो छ ?
– दोस्रो पुस्तकसम्म आएर एउटा कुराको बोध भयो– सिर्जनात्मक कार्य सधैँ पहिलो नै हुन्छ । हरेक रचनाको अन्त्यपछि अर्को रचना उहीँ पहिलै कदमबाट नै सुरु हुन्छ । प्रकाशन प्राविधिक कार्य भएता पनि मूल सिर्जनात्मक कार्यसँग जोडिन्छ, फेरि पनि उहीँ यात्रा हुन्छ । पुस्तक स्वीकार अस्वीकार, आर्थिक, गैरआर्थिक आदि इत्यादि चरणहरू पुस्तक र लेखकको जीवन यात्रा हुन् । प्रकाशन गृह गैरआर्थिक हुँदैनन्– उनीहरू लगानीको सुनिश्चितता चाहन्छन् । त्यसैले प्रकाशकले पुस्तक छनोट– आफ्नो रुचि, बजारको रुचि, सेलिब्रेटी र सार्वजनिक व्यक्तिहरू छनोटमा पर्छन् । उनीहरूलाई साहित्य, सिर्जनात्मक दिमाग र नयाँपनभन्दा पनि आम र चलनचल्तीवाला काम चाहिन्छ । उदाहरण चाहिन्छ र ?
५, कथा संग्रह ‘उत्कर्ष’ किन पढ्नुपर्छ ? नपढ्ने पाठकको के कुरा छुट्ला ?
– उत्कर्ष अहिलेको आँखाले अहिलेको समयलाई नियालेर लेखिएको कथा हो, न कि कल्पनाको आधारमा लेखिएको इतिहास । त्यसैले यो आधिकारिक छ । राज्य, समाज र व्यक्तिका आफ्ना–आफ्ना व्यवस्था बोधका लागि पनि महत्त्वपूर्ण छ । उत्कर्ष नपढे छुट्ने वा गुमाउने ? यो प्रश्नमा जस्तोसुकै उत्तर पनि अहम्जन्य हुन जान्छ । कसैले नपढे पनि केही छुटाउँदैन, केही गुमाउँदैन । बरु पढेपछि उसको व्यक्तित्व र बोधका लागि राम्रै हुन्छ । जुनसुकै पुस्तकको हकमा पनि लागू हुन्छ ?
***
प्रतिक्रिया
-
४
