सोल, दक्षिण कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको आठौँ अधिवेशन आगामी सेप्टेम्बर २५ गते शुक्रबार दक्षिण कोरियामा आयोजना हुने भएको छ। अधिवेशनसँगै ‘बृहत् साहित्य मेला–२०२६’ तथा अनेसासको काव्य–सुधा १८१औँ शृङ्खला समेत आयोजना गरिने भएको हो।
‘नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा साहित्यिक प्रस्तुतिका साथै संस्थाको आगामी नेतृत्व चयनका लागि निर्वाचनसमेत हुने जनाइएको छ।
अनेसास कोरिया च्याप्टरले सार्वजनिक गरेको पत्रअनुसार अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न जीवन खत्रीलाई निर्वाचन समिति संयोजक तोकिएको छ। निर्वाचन समितिको सदस्यमा निर्दोष शिव र महेन्द्र सापकोटा रहेका छन्। संस्थाले निर्वाचन कार्य सम्पन्न गर्न आवश्यक सदस्यहरूको अद्यावधिक विवरण तथा विधान उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।
साहित्यिक कार्यक्रम पनि विशेष
अधिवेशनका अवसरमा आयोजना हुने ‘बृहत् साहित्य मेला–२०२६’ मा विभिन्न साहित्यिक विधाका स्रष्टाहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा गजलकार रमेश थापा, कवि मातृहाङ नेम्वाङ तथा मुक्तककार आरपीसी संगमको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यसैगरी कार्यक्रममा गजलकार कमल संघर्षको विशेष प्रस्तुति रहनेछ। कार्यक्रमका सञ्चालकका रूपमा राजेश सुवेदी रहनेछन्।
कार्यक्रम सेप्टेम्बर २५ गते बिहान ११ बजे दक्षिण कोरियाको दोंग्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टको हलमा हुने आयोजकले जनाएको छ।
अनेसास कोरिया च्याप्टरले कोरियामा नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। आठौँ अधिवेशनले संस्थाको आगामी कार्यदिशा र नेतृत्व चयनसँगै कोरियामा नेपाली साहित्यिक गतिविधिलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ।
कार्यक्रमको मिडिया पार्टनरमा सेतोमाटो पनि जोडिएको छ।
प्रतिक्रिया
-
४
