– जीवन खत्री
गजल १,
हे प्रभु, हे ईश्वर मलाई यस्तो दाउ लागोस्
मेरो थरमा जोडिएर उसको नाउ लागोस्
ओबे, कुन तोरी हो त्यो? पर्फ्यूम छरेर हिँड्ने
जो होस्, बैनी भनोस् र उसको पाउ लागोस्
झरी परेको साँझ छाता ओढेर म फकाउँ
ऊ जान्न भनोस् तर मन्मा जाउँजाउँ लागोस्
निथ्रुक्क रुझेर फर्किँदा म मेरो डेरामा लगूँ
र उसलाई मिठो चिया पकाउँ पकाउँ लागोस्
चियाएर हेरुन, डाहा गरुन पल्लो कोठाकाहरू
भाउजु हो भनेर तिनलाई चिनाउँ चिनाउ लागोस्
गजल २
नजाउ भन्दिन म, जाउ हेरेर जाउ
यो दिलमा दुखेको घाउ हेरेर जाउ
देउता ठानेर पुज्थेँ तिमीलाई जहाँ
म देखाउँछु मन्दिर आउ हेरेर जाउ
उस्तै हो मेरो पनि पिडा र छटपटी
चिलले चल्ला लगेको माउ हेरेर जाउ
तिम्लाई बुहारी भन्ने सपना देखेका
उता हुनुहुन्छ आमाबाउ हेरेर जाउ
तिमी जानेनै भए, म मानेझैँ गरुँला
फकाउ, फुल्याउ, सम्झाउ हेरर जाउ
सायद अब कहिल्यै फर्किने छैनौ
अन्तिम पल्ट मेरो गाउँ हेरेर जाउ
बदला लिन खोज्छन् याहाँका ढुङ्गा
सम्हालेर ती दुई पाउ हेरेर जाउ
जानेबेला जोर घडा राख्न सकिन
यी दुई आँखाका तलाउ हेरेर जाउ
तिमी पुग्दा नपुग्दै, म बिलिन हुनेछु
यो जीवनको डुब्दो नाउ हेरेर जाउ
***
प्रतिक्रिया
-
४
