– पुण्यप्रसाद घिमिरे

गजल १,
दिन अन्धकार अचेल, रात उज्याला छन् किन,
घर ठास्सठुस्स परका, बात उज्याला छन् किन

लट्ठ नशा वा तनाव आगाे, देखिन्न काेही हाेसमा,
चेत पाेली अचेत रमण, मात उज्याला छन् किन

कमाऊ खाऊ र रमाऊ, उफ् कर्म दुई नम्बरी,
सहयाेग मृतप्राय जनमा, घात उज्याला छन् किन

मान्छे राेबाेट राेबाेट मान्छे, बन्याे जीवन प्रविधि,
चुँडिए फूल रूनुपर्ने, पात उज्याला छन् किन

धर्म बन्याे गाेला बारूद, भयावह हर दैनिकी,
कालाेसेताे गहुँगाेराे मान्छे, जात उज्याला छन् किन

गजल २
घाँटी नहेरी हाड निल्ने, खर्च किन गर्छ दुनियाँ,
अरूभन्दा म नै महान, दर्ज किन गर्छ दुनियाँ

बिराेध वा समर्थन, तथ्य बुझी गरेहुने,
पानीमथी नाैनी आशा, तर्क किन गर्छ दुनियाँ

साेचाइमा पराकाष्टा, झाेले वा सुटकेशेहरू,
मलामी खिज्याइ गीत, पर्व किन गर्छ दुनियाँ

मनलागी अल्पविराम, बिच वाक्यै पूर्णविराम,
काव्य आधा नहुँदैमा, सर्ग किन गर्छ दुनियाँ

झुठ खेती राेप्न सहज, उठाउन कठिन हुन्छ,
बचाउका नाना बहस, सर्त किन गर्छ दुनियाँ

***

प्रतिक्रिया

सम्बन्धित खवर