✍️ बालिका थपलिया

प्रेम भएपछि धेरै मान्छे कवि भएका छन् । अझ कवि भइसकेको व्यक्ति प्रेममा परेपछि मज्जा आउन बाँकी के रहला ? नौ वर्षको उमेरदेखि मैले कवितासँग भेटघाट गरे । यसलाई आफ्नो सहयात्री बनाए । दिन प्रतिदिन कविताप्रतिको प्रेम बढिरह्यो । यही प्रेमले मलाई साहित्यका अन्य विधा लेख्नको लागि प्रेरित गरिरहयो ।

किशोरावस्थामा म खुब प्रेमपत्र लेख्थे । यसलाई दैनिकीको रूपमा पनि लेखे । २०६१ सालमा मैले प्रेमपत्र लेखेर पूरा डायरी भरे । यसलाई कलात्मक चित्रले सजाए । धेरै वर्षपछि प्रेमपत्रलाई किताबको रूप दिने सोच पलायो ।

मायालु मन्ले लेखेको हुनाले सार्बजनिक गर्न मन् लाग्यो । यो थन्किएको भए लोप हुन्थ्यो । कृति बनाएपछि धेरैको हातमा पुग्यो । अन्ततोगत्वा सत्र वर्षपछि डायरीले २०७८ सालमा किताबको रुप लियो । यस कृतिको नाम ‘प्रियदर्शन’ रह्यो ।

प्रियदर्शनलाई सुन्दर बनाउन दुई वर्ष मेहेनत गरे । अध्ययन गरेर पठनयोग्य बनाउने प्रयत्न गरे । अहिलेको समयमा प्रविधिले मान्छेको भावनालाई साँघुरो बनाइरहेको छ । प्रियतम र प्रेयसीलाई प्रेमपत्र लेख्ने चलन हराउँदै गइरहेको छ । यसलाई बचाउन, यसको अभिलेख राख्न मैले ‘प्रियदर्शन’को जन्म दिए ।

प्रियदर्शनमा बाइस हजार शब्द छन् । यसमा दुई जना मात्र पात्र छन् । नारी पात्रले मनोवार्ता गरेकी छिन् । उनले आफ्नो प्रेमीसँग विताएका सुमधुर क्षणको सम्झना गर्छिन् । समग्र पत्रले अतित र वर्तमानसँग चाकाचुली खेलेको छ । उनी प्यारो मान्छेसँग विताएको समय सम्झिदै आफू एक्लै हुँदाको परिस्थितिलाई तुलना गर्छिन् । उनीहरूको छोटो मिलनले यस कृतिकी पात्रलाई जीवनभरको स्मृति चिनोको रूपमा छोडेको छ ।

यस पुस्तकलाई मैले सत्र खण्डमा विभाजित गरेकी छु । प्रेम–अध्याय, प्रवेश, समर्पण, एकाकार, अष्ठरङ्गी प्रेम, प्रेमोत्सव, स्विाकारोक्ति, विश्वविख्यात प्रेमगाथा, पत्र–इतिहास, परिवर्तन, पर्खाइ, दुरी, मायावी दिन, प्रेमोन्माद, साकार ती खण्डका शीर्षक हून् ।

मैले प्रेमपत्रलाई काव्यात्मक बनाउने कोशिस गरेकी छु । यसमा गजल र कवितालाई सलल बग्न दिएकी छु । लेख्न, देख्न, जोख्न, नाप्न नसक्ने प्रेमलाई अक्षर र भावनामार्फत अभिव्यक्ति दिने दुस्साहस गरेकी छु ।

मैले प्रियदर्शनलाई बजारमा आइरहेका आख्यानात्मक कृति भन्दा फरक बनाउन चाहेकी छु । यसमा पात्रको नाम छैन् । कुनै निश्चित पृष्ठभुमि छैन् । यो कृति पढेपछि पाठकले आफ्नै जीवनमा घटेको घटनाजस्तो ठानुन् ।

जुन देशमा बसेर पढेपनि त्यही देशमा, ठाउँमा बसेर पढेजस्तो लागोस् । यही मेरो लेखनको उद्देश्य हो । मायालु मर्छन् तर उनीहरुले प्रेमको लागि गरेको बलिदान कहिल्यै पनि मर्दैन् । आजसम्म चर्चित भएका प्रेम जोडीहरु त्यागबाटै अमर बनेका हून् ।

शारीरिक प्रेम क्षणिक हुन्छ तर आत्मिक प्रेम कहिल्यै मर्दैन् । निश्चित उमेरका मान्छेले मात्र प्रेमपत्र लेख्नु र पढ्नुपर्छ भन्ने छैन् । यो त संबेदनाको उपज हो । कसैप्रतिको आत्मियताको प्रतीक हो । यसमा केहीको छेकबार छैन् । प्रेम जुनसुकै समयमा जोसँग पनि हुन सक्छ । यसको कुनै नियम, मापदण्ड र सिमाना छैन् ।

प्रियदर्शन पढेपछि पाठकमा सिर्जनशीलता र कल्पनाशीलता बढोस् । मेरो यही उद्देश्य हो । लेखन र प्रेम अक्षर अनि भावनाका जुवा हून् । जति खेल्न जान्यो त्यति नै मिठास आउँछ । अझ डुब्न मन् लाग्छ । शब्दसँग लुकामारी खेल्न मन लाग्छ ।

प्रेम गरेको मान्छेको यादमा ओतप्रोत भएको हुनाले यो किताबलाई म अगाध माया गर्छु । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया लाग्छ । यसलाई पुस्तकाकार दिन मैले कयौ पटक सम्पादन गरे । चिटिक्क बनाउन मेहेनत गरे । यसले अवश्य पनि प्रेम साहित्यको इतिहासमा सुनौलो नाम लेख्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर