– मनिराम मञ्जिल

“अन्तरमनको झङ्कार” कवि भैरव ढकालद्वारा लिखित कवितासङ्ग्रह हो । यो कवितासङ्ग्रह १२४ पृष्ठमा संरचित छ । ८२ वटा कविता सङ्ग्रहित यो कवितासङ्ग्रह कवि ढकालको पहिलो प्रकाशित कृति हो। विद्यार्थीकालमा साहित्यिक गतिविधिमा सामेल हुँदै सिर्जनमा लागेका उनी जब जागिरमा प्रवेश गरे तब उनको सिर्जनायात्रा एक किसिमले रोकिन पुग्यो। जीवनको उत्तरार्धमा आइपुगेपछि उनले आफ्नो प्रतिभालाई न्याय गर्दै यो कवितासङ्ग्रह २०७९ चैत्रमा प्रकाशनमा ल्याए । संग्रहमा प्रा.डा. खेम कोइराला बन्धुको शुभेक्षा¸ प्रा.डा. नरेन्द्र ढकालको मन्तव्य र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको भूमिका रहेको छ । यस कवितासंग्रहको लागि कविलाई नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)द्वारा समेत शुभकामना व्यक्त गरिएको छ ।

“अन्तरमनको झङ्कार” कवितासंग्रहमा कविले आफ्नो भनाई पनि राखेका छन्, जसमा भनिएको छ- “मैले यो सङ्ग्रहमार्फत मेरो अतीतको झल्को¸ समाजको पीडा¸ मेरो मनमा रहेको जन्मस्थलप्रतिको माया र देशको राजनीतिले सिर्जना गरेको आक्रोसलाई उजागर गर्ने प्रयास गरेको छु।” कविले उद्घोष गरेझैँ संग्रहित कविताहरुका विषयवस्तु यिनै क्षेत्रमा केन्द्रित छन् । कविता सङ्ग्रहको शीर्षक समग्र सङ्ग्रहित कविताहरुको एकमुष्ट सङ्केत मिल्नेगरी चयन गरिएको छ । कवितामा मूलतः देश¸ समाज¸ राजनीति¸ विचार¸ दर्शन¸ परिवार र प्रकृति लगायतका तमाम विषयमा कविका मनमा उठ्ने तर्कनाहरुलाई काव्यिक स्वरूपमा ढालिएको छ । यस अर्थमा मनको अभिव्यक्तिको रूपमा देखिएकाले पनि यस संग्रहको शीर्षको विषयवस्तुकै आधारमा सन्तुलित र उचित देखिन्छ। यो कवितासङ्ग्रहलाई मूलतः कविको ‍अन्तस्करणमा रहेको प्रतिभाको प्रवाह भन्न सकिन्छ, जुन ५० वर्षदेखि कुनै विवशतावश बाँधिएको थियो । कविले त्यसलाई मुक्त गरिदिएर यस कविता सङ्ग्रहलाई जन्म दिए ।

गरिबी अभाव र दैनिक जीवनका जटिलताहरुलाई “सखर बन्न पाएका छौं” शीर्षको कवितामा कवि प्रतिकात्मक ढङ्गबाट यसरी पोखिन्छन्-
हे गरिबी !
तँलाई धेरै धेरै धन्यवाद
तेरो आशीर्वादले गर्दा
उखु भएर निचोरिदै सखर बन्न पाएका छौँ।

“जीवन” शीर्षको कवितामा कविले जीवनको क्षणभङ्गुरता¸ निस्सारता र अनित्यता बोधको प्रकटीकरण गरेका छन् । यस कवितामा कवि यसरी अभिव्यक्त हुन्छन्-
बँचाइका
तिनै गुमेका अङ्कहरुको पोको रहेछ जीवन।
त्यो पोको खोलेर अङ्क घटाउँदै हेर
अङ्क बढाउँदै हेर
अङ्कहरुको जोड घटाउको सरदर रहेछ जीवन।

“चरी” शीर्षकमा कविले मानव जीवन भन्दा पन्छीको जीवन सुन्दर रहेको भाव व्यक्त गरेका छन् । उनले आफू लेक र तराई सर्दा नाक र मुख छोप्नु पर्ने विवशता रहेको भाव व्यक्त गरेका छन् । तर पन्छीको बसाइँ सराइ भने सुखद र आनन्ददायी हुने उनको बुझाइ छ । यस कवितामा भोगाइ भन्दा देखाइ नै सुन्दार देख्ने मानवीय विशेषता देख्न सकिन्छ।

“मतदाताको मनोविज्ञान” शीर्षको कवितामा कविको राजनीतिक सचेतनाको प्रस्तुती पाउन सकिन्छ । वर्तमान परिप्रेक्षमा विकृत दिशाउन्मुख राजनीतिक शृङ्खला र विजेता उम्मेद्वारले जनताको कुरा नसुकेको, जितिसकेपछि जनताको आवश्यकता, माग र चाहनालाई उपेक्षा गर्ने गरेको पाइन्छ । वर्तमानका राजनीतिक नेतृत्वको यस्तो प्रवृत्तिप्रति आक्रोस व्यक्त गर्दै कवि लेख्छन्-
त्यसैले म भन्दै छु
मेरो बिचारको सम्मान गरिने हो भने
अब औँलामा मतदानको निसानी होइन
मेरो हातमा विजित उम्मेद्वारको कान हुनुपर्छ।

उनका कतिपय कविताहरुमा खस्कदो मानवीय संवेदनशीलता र स्वार्थकेन्द्रित तवरबाट विकसित भैरहेका मानवीय संस्कार र संस्कृतिप्रति चिन्ता र शोकाभिव्यक्ति समेत पाउन सकिन्छ । कविताहरु पढ्दा लाग्छ कि कवि राजनीतिक परिवेशदेखि ज्यादै निराश छन् । आफूले विगतमा लगाएका जिन्दावाद र मूर्दावादका नाराहरुप्रति अहिले आफ्नो विश्वास धर्मराइसकेको उल्लेख उनले कविताहरुमा गरेका छन् ।

“आमा-छोरी” शीर्षकको कवितामार्फत कवितले नारी भावनालाई समेत केलाउने प्रयास गरेका छन् । मानवेतर पात्रद्वारा आत्मपरक अभिव्यक्ति “चरीको व्यथा” शीर्षको कवितामा पाउन सकिन्छ । “हामी प्रकृतिको नियमले भाग्यमानी / समष्ट पृथ्वी हाम्रो साझा घर” भन्दै कविले यस कवितामा प्रकृतिको नियममाथि गौरव बोध गरेका छन् ।
उनका “अपूर्व अनुभूति”¸ “नयाँ युग” लगायतका ‍कविताहरुमा राष्ट्रभक्तिका स्वर र स्नेह¸ जन्मभूमी प्रतिको प्रेम र वात्सल्यलाई छताछुल्ल पोखेका छन् ।

“सोत्तर” शीर्षकको कवितामा कवि भन्छन्-
किलो त आफ्नो लाग्छ भने
दाम्लो त आफ्नो लाग्छ भने
बँदुवा पशुलाई
कहिल्यै
कैद नगर्ने सोत्तर
किन आफ्नो नलागोस् ।

“याद” शीर्षकको कवितामा कविले आफ्नो विगतप्रतिको र विशेष गरी विगतको भोगाइप्रति असन्तुष्टि प्रकट गरेका छन् । साथै कर्म नै महत्वपूर्ण रहेको भाव व्यक्त गर्दै कवि भन्छन्-
धेरै महत्पपूर्ण छ कर्म
कर्म गर्नु नै धर्म हो ।
तर हामी अबुझहरुले
कर्म नै धर्म ठानेनौ ।
यस कवितामा कविले आफ्नो विगतको कामप्रति सुसुप्त पश्चाताप समेत व्यक्त गरेका छन् ।

“कष्ट” शीर्षकको कवितामा कविले भनेका छन् –
सफल मान्छे त्यही हुन्छ
जसको काम हुन्छ प्रष्ट ।
तर आफ्नो भागमा त परेको छ
सँधै नै अस्तित्वहीन हुनुको कष्ट।

कविले आफ्नो दार्शनिक चेतनालाई समेत जागृत गरेको पाइने “दिव्यदृष्टि” शीर्षको कविता बोल्छ –
आकाश हेर्नलाई
आँखा माथी तान्नुपर्छ
ओराली हेर्न उचाइमा पुग्नुपर्छ ।

राजनीतीक परिवर्तनको साथमा आफू हामी भएको तर यो परिवर्तन उपलव्धिमूलक हुन नसकेको सन्दर्भलाई कविले परिवर्तनको चाड मनाउन बजारबाट दुब्लो खसी लिएको उदृत गर्दै परिवर्तनको उपलब्धीप्रति प्रतिकात्मक व्यङ्ग्य छेडेका छन् । उनका कतिपय कविताहरु मूल रूपमा राजनीतिक परिवर्तन र योसँगै जन्मेका यावत असन्तुष्टि र विकृतिहरुमा केन्द्रत देखिन्छन् । यसरी कविले कविताहरुमार्फत राजनीतिक परिवेशमा आफूलाई सचेत नागरिको रूपमा उभ्याएका छन् । “विना नीतिको राजनीति” शीर्षको कवितामा कविले हाम्रो राजनीतिक चेतनाको आदर्श, मूल्य र उचाईको वास्तविकतालाई उजागर गर्ने प्रयास गरेका छन् । कतिपय कविताहरुमा कविले आफ्नो बाल्य जीवनप्रतिको मोह व्यक्त गर्दै आफ्नो वर्तमानप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

“ढुङ्गाको गुन” शीर्षको कविता उनको दार्शनिक चेत दर्शाउने अर्को सशक्त कविता हो । यस कवितामा कविले वस्तुपात्र ढुङ्गालाई यसरी सम्झन्छन्-
सृष्टिको आश्चर्य हो कि दृष्टिको
तापक्रमको रहस्य हो कि भूगर्भ विज्ञानको
माटोमा पुरिएको ढुङ्गामा
जीवको अस्तित्वको कथा लेखिएको पाइन्छ।
हुनलाई त ऊ ढुङ्गा हो
तर आफू पुरिएर अरुको इतिहास जोगाइदिनु
हुँदै होइन चानचुने काम।

‘ममता छैन र!’, ‘आमा , पार्ने छैन निराश’, ‘अनमोल हुन सक्छ देश’, ‘प्यारो देश’, ‘तेह्रथुमे मायालु’ लगायतका कविताहरुमा कविले आफ्नो जन्मभूमि, मातृभूमि र माटोको महिमालाई काव्यिक स्वरूप दिएका छन् ।

सहिष्णु बनौं¸ सोच बदलौं¸ आशावादी बनौ¸ नयाँ युग लगायतका कविताहरुमा कविले मानवीय जीवनको उन्नयन र सकरात्मक परिवर्तनका लागि र देश विकासका लागि साझा आह्वान समेत गरेका छन् । कविले आफू हाइकिङ् जाँदैगर्दाका अनुभवहरुलाई समेत कविताको स्वरूप दिएका छन् । यहाँ पारिवारिक खुशीका अवसरहरुलाई समेत कविता मार्फत व्यक्त गरिएको पाउन सकिन्छ । यहाँ खोक्रा आदर्श र आडम्बरप्रति व्यङ्ग्य प्रहार गरिएको देखिन्छ । कतिपय कविताहरुमा हाम्रा पौराणिक एवम् ऐतिहासिक पात्रहरुको सम्झनाका लयहरुको सुललित अभिव्यक्ति भेट्न सकिन्छ । प्रकृति प्रेम¸ राजनीतिक विचार र परिवेश¸ विगत प्रतिका तमाम अनुभूतिहरुको कलात्कम अभिव्यक्ति¸ भाग्यवाद प्रतिको तिव्र असहमति¸ कतै विगतप्रतिको निराशा त कतै विगतप्रतिको मोह लगायतका वियषहरुमा विचारपरक काव्यिक अनुभूति यस सङ्ग्रहभित्र संग्रहित कविताहरुमा पाउन सकिन्छ ।
समग्रतामा यस कविता सङ्ग्रहमा कविले आफ्नो जीवनका तमाम अनुभूति, बुझाइ र संवेदनालाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेका छन् । विभिन्न विम्ब, प्रतीक र अलङ्कारहरुको सफल प्रयोग यस सङ्ग्रहभित्र सङ्ग्रहित कविताहरुमा पाउन सकिन्छ । संरचनागत दृष्टिले पनि विविधताको स्वाद यस कविता सङ्ग्रहमा पाउन सकिन्छ । अधिकतर कविताहरु गद्य लयमा संरचित रहेतापनि कतिपय कविताहरु लोकलय झ्याउरेमा समेत संरचित छन् । उनका कविताहरु विषेशतः उनको जीवनको उत्तरार्ध समयका साथी हुन्‌ । उनीजस्तो जीवनको अधिकतम समय बाँचिसकेकाहरु सँग जीवन र जगतका थुप्रै आयामका व्यापक अनुभूतिहरु हुन्छन्, जसको पठनले मात्र पनि पाठकलाई धेरै कुराहरुको ज्ञान गराउन सक्छ । त्यसैले, कवि भैरव ढकालकृत “अन्तरमनको झङ्कार” नामक यस कविताकृतिलाई निःसन्देह संग्रहणीय र पठनीय कृति मान्न सकिन्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर