स्रष्टा ओम रिजाल दैलेख जिल्लाको दुल्लु दरा अन्तर्गत हुँमेगाउँमा जन्मिनुभएको हो। साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका रिजालले आफ्ना कृतिमार्फत ग्रामीण जीवन, मानवीय संवेदना, समाजका यथार्थ तथा यात्राका अनुभूतिहरूलाई सजीव ढङ्गले प्रस्तुत गर्नुभएको छ। उहाँका सिर्जनामा कर्णाली क्षेत्रको भूगोल, संस्कृति र जीवनभोगाइको गहिरो प्रभाव देख्न सकिन्छ। उहाँको पहिलो प्रकाशित कृति ‘यात्रिबम्ब’ कविता सङ्ग्रह २०५९ सालमा प्रकाशित भएको थियो। त्यसपछि ‘रुदै बग्दोछ मुगुकर्नाली’ यात्रा संस्मरण (२०६९), ‘हटारु’ उपन्यास (२०७८) र ‘पैकेलो’ उपन्यास (२०८२) प्रकाशित भएका छन्। उपन्यास पैकेलोमा आधारित रहेर उपन्यासकार ओम रिजालसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उपन्यासकारको जवाफ ;

१, उपन्यास पैकेलोका बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न, जुन पढेर पाठक यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

पैकेलो दैलेखको दुल्लु क्षेत्रमा प्रचलित लोकप्रिय वीरगाथा बालाराजा काशीरामको भारतलाई मूल कथा बनाएर लेखिएको उपन्यास हो । यो लोकले स्वीकारेको तर नेपाली इतिहासमा कतै नसुनिएका दुल्लुको देउलीगढ र मोरङको मानगढ राज्यबीचको लडाइँको कथा हो । खस सभ्यता‚ संस्कृति‚ भाषा र इतिहासको खोजमूलक गाथा हो । पैकेलो कोरा भावना र कल्पनाको कथा नभएर खस सभ्यताको जरो खोज्ने दस्तावेज हो । समाजशास्त्रीय‚ मानवशास्त्रीय र भाषाशास्त्रीय अध्ययनको सन्दर्भ सामाग्री हो । खस पञ्चमूल खप्तडी‚ खुलाल‚ श्रीपाली‚ कालीकोटे र सिँजापतिका वीर योद्धाहरूको गुमनाम कथा बोकेको उपन्यास पैकेलो हालसम्म नलेखिएको जाति‚ भाषा‚ सभ्यता‚ संस्कृति‚ इतिहास र राज्यप्रेमको वास्तविक कथा हो ।

२, पैकेलो उपन्यासको नामाकरणको बारेमा केही बताइदिनुस न् ?

खस भाषाको शब्द पैकेलोको शाब्दिक अर्थ लडाकु योद्धा हुन्छ । ऐतिहासिक मूलस्थली दुल्लुका बस्तीहरूमा भेटिने लोककथा‚ वीरगाथा र वीरखम्बहरूमा सिमित रहेको नेपाली खस पञ्चमूलका पैकेलाहरूको कथा भएकाले उपन्यासको नामाकरण पैकेलो गरेको हुँ ।

३, खस सभ्यता विशेषगरी त ऐतिहासिक विषयहरू माथि नेपाली उपन्यासहरू अलि कमै जस्तो देखिन्छन् यो उपन्यास चाहिँ यहाँलाई लेख्ने हुटहुटी कसरी चल्यो यो उपन्यास लेखनका लागि सोच र पृष्ठभूमि केही बताइदिनुस् न

हालसम्म पनि कर्नाली सभ्यताको खोज पूर्ण रूपमा हुन सकेको छैन । अपवाद बाहेक कर्नालीका विषयमा लेख्ने धेरै विद्वानहरूले कर्नालीका अँध्यारा पाटाहरू मात्र लेखे । कर्नालीको उज्याला पाटाहरू देखेनन् ‚ लेखेनन् । कतिले कर्नाली नटेकेरै लेखे । तथ्य बङ्ग्याएर भ्रम लेखे । पाठकहरूले भ्रमलाई सत्य मानिदिँदा कर्नालीप्रति गलत भाष्य निर्माण भयो ।

कर्नाली जसले नेपाली भाषा दियो‚ सभ्यता दियो‚ इतिहासको कुनै कालखण्डमा राजनीतिक चेतनाको दीयो बाल्यो आज बत्तीमुनिको अँध्यारो बन्नपुगेको छ । कर्नालीको लोकसंस्कृति लोपोन्मुख छ । भाषा हराउदै गएको छ । इतिहास अपुरो छ । खस पञ्चमूलको त कुनै इतिहास लेखिएकै छैन । यसो हुनुमा कर्नालीकै लेखकहरूको कम चासो र चिन्ता प्रमुख कारण हो भन्ने लाग्छ ।

विगत केही वर्षदेखि कर्नालीको लोकसाहित्य‚ संस्कृति र इतिहास पढिरहेको छु । कर्नालीको आजभन्दा करिब एक शताब्दी अघिको लोकसंस्कृतिमा आधारित मेरो पहिलो उपन्यास हटारु लेखेपछि केही समय कर्नालीका लोकगाथाहरूको अध्ययनमा बिताएँ । यसैक्रममा दैलेखको दुल्लु आठबीस दरा र कुमाउ गढवालमा समेत प्रचलित लोकगाथा बालाराजा काशीरामको भारत जसमा इतिहासकारहरूले त्रिशुलीको किनारसम्म मात्र फैलिएको भन्ने गरेको खस साम्राज्यका पैकेलाहरूले मोरङमा गएर लडेको कथाले मलाई सोच्न बाध्य गरायो । यो वीरगाथामा मैले खप्तडी‚ खुलाल आदि खस पञ्चमूलको गुमनाम गाथा भेटेँ । मलाई लाग्यो– यो वीरगाथा खस सभ्यताका जरा खोज्ने आधार हो । यही गाथालाई मूलकथा मानेर सभ्यता‚ संस्कृति र इतिहासका तथ्यहरू लेख्दै जाँदा पैकेलो जन्मियो ।

४, यो डिजिटल जमाना, भिडियो र रिलहरूको जमाना अक्षरमा कम मोह भएजस्तो पनि देखिन्छ । उपन्यास पढ्ने पाठकहरू कतिको रहेछन् यहाँको उपन्यास प्रकाशन भइसकेपछि पाठकहरूका कस्तो कस्तो प्रतिक्रिया प्राप्त भए ?

पछिल्ला वर्षहरूमा पठन संस्कृति घट्दै गएको भन्ने सुनिन्छ । तर यो कुनै अनुसन्धान गरेर निकालिएको निचोड हो जस्तो लाग्दैन । वर्षेनी प्रकाशन हुने पुस्तकको सङ्ख्या बढ्दै गएको छ । राम्रा पुस्तकहरूका नयाँ नयाँ संस्करण पनि बजारमा आएकै छन् । सबैले सबै पुस्तक पढ्नै पर्छ भन्ने छैन । पाठकहरूले आफ्ना रुचीका पुस्तक पढेर पाठकीय प्रतिक्रिया दिइरहनु भएको छ । सायद उपन्यासप्रति पाठकहरूको झुकाव अलि बढी भएर हो कि पछिल्ला वर्षहरूमा अन्य विधाभन्दा उपन्यास अलि बढि प्रकाशनमा आएको देखिन्छ ।

पैकेलो कसैबाट नदेखिएको र नलेखिएको कर्नालीको कथा भएर होला कर्नालीलाई मन पराउने पाठकहरूबाट राम्रै माया पाइरहेको छ । खस भाषा‚ सभ्यता र संस्कृति मन पराएका प्रतिक्रिया पाएको छु । पाठकहरूले पैकेलोलाई खस भाषा‚ सभ्यता‚ संस्कृति र इतिहासमाथि लेखिएको हालसम्मकै गहन उपन्यास भन्नुभएको छ । पाठकहरूको प्रतिक्रिया सकारात्मक नै छ। अझै रचनात्मक प्रतिक्रियाको अपेक्षामा छु ।

५, उपन्यास पैकेलो नपढ्ने पाठकले के कुरा छुटउला?

नेपाली भाषाको आदिरूप‚ कर्नाली सभ्यता र संस्कृति तथा खस पञ्चमूलको गुमनाम इतिहास थाहा पाउन पैकेलो पढ्नुपर्छ भन्ने लाग्छ ।

***
 

प्रतिक्रिया

सम्बन्धित खवर