
-जीवन खत्री
झण्डै एघार महिना पन्ध्र दिन पछि
गाउँले भित्ताको बृद्ध ऐना फेरेको छ
र ऊ भएको छ जवान
अब जवान गाउँ
पर्फ्यूम छर्केको टिसर्टमा कालो चश्मा भिरेर
एका-बिहानै माथ्लो घरमा पुग्छ
र कुडेँभरीको दूध हेरेर नचिनैझैँ भन्छ,
-“अरे क्यानम, यो के तताई लिएछ ?”
वाल्ल परेका हजुरबुबा हजुरआमालाई
ऊ दिन्छ एक एक खिल्ली ‘सिगरेट’
र भन्छ, -“सबकुछ अच्छा छ नि ?”
ऊ गाउँभरीका केटाकेटी जम्मा गरेर
सिनेमाको कथा सुनाउँछ
हिरोलेझैँ हातगोडा हावामा नचाउँछ
र भन्छ, -“क्या फाईट हानि दिन्छ अल्लु अर्जुन ।”
ऊ पछ्याउँछ
पँधेरो जान लागेका रित्ता गाग्रीहरूलाई
र हावामा रमरम मात मिसाएर
बैँशालु सिट्टी मार्छ
दोस्तहरूको हालचाल बुझ्न
ऊ गाउँ चहार्छ
र खानै बिर्सेर दिनभर ‘म्यारिज’ फिट्छ
उसलाई लाग्दैन,
पिँढी बढारूँ, आँगन छेउको झार उखेलूँ
भित्तामा कमेरो दलूँ, रातोमाटो पोतूँ
भैंसी गोठमा जाउँ, घाँस हालूँ, गोबर फ्याकूँ
खेत खलिहान पुगूँ, साँध सिमाना जाचूँ
बा-आमालाई खुब सुनाउन मन छ,
भैँसीले दुध नदिएको दु:खको कुरा
बर्खामा कुलो भत्किएको पीडाको कुरा
हरेक रात कम्मर दुखेर सुत्न नसकेको अनिन्द्राको कुरा
आदि आदि….
तर उसैले एक एक सुनाईहाल्छ
छुकछुके रेलको यात्राको रमाईलो
फराकिला सडक र पच्चासौँ तल्लाका भवनहरू
भीडभाड, बजार, छोला-भटुरा र दुधमलाईको स्वाद
डरलाग्दा काला जादु र सिनेमाका अनौठा कथा
आदि आदि….
यसरी सुनाउँदा सुनाउँदै
कर्कलाको पातमा बसेर, फुत्तै चिप्लिन्छ दशैँ
र ऊ
बा-आमाको आँखा धमिला पारेर
फर्किन्छ मुग्लान
यता गाउँले अनुहारमा फेरि पोत्छ बुढ्यौली
र तरुण हुने आशमा कुर्छ अर्को दशैँ ।
***
प्रतिक्रिया
-
४