– डा. कुसुमाकार शर्मा गौतम
‘विवाहको कुराे छिन्न दुलाहा हुने केटा पनि आउने रे !’ भन्ने कुराले मेरो मन ढुक्क फुलेको थियो। एक हिसाबले त केटा कस्ता रहेछन् भन्ने थाहा हुने। कालो! गोरो! बोली कस्तो होला? सोचेको भन्दा फरक भयो भने? म के कम छु र? स्नातक गरेकी छु।
म हर्ष र बेचैनीको दोसाँधमा थिएँ। लाजले मेरो भाव भङ्गिमा फेरिएको थियो। मेरो दशा देखेर बाले मलाई हाँसी हाँसी सोध्नु भएको थियो,
“छोरी ज्ञानु, तिमीलाई केटामा के खोट नभइदिए हुन्थ्यो भन्ने लागेको छ?”
“के कुरा सोधेको त्यस्तो? केटो वकील, त्यसमा पनि सरकारी जागीरे। सबै राम्रो भएको सिनिमाको हिरो खोजेर कहाँ पाइन्छ?” आमा कड्किनु भयो।
“तैपनि छोरीको मनमा केही छ कि भनेर सोध्नु त पर्यो नि!”
बाले आमालाई शान्त गराउँदै हुनुहुन्थ्यो। लाजले गर्दा मेरो मुटुको धड्कन कान र तालुमा बजिरहेको थियो। केही नबोली भुइँमा आँखा गाडेर खुट्टाको बुढी औंलाले भुइँ कोट्याई रहेँ। भाईले जिस्क्यायो
“दिदीलाई त चुच्चे नाक भएको र तालुखुइले केटो मन पर्दैन रे!”
मैले भाईलाई चिमोटेँ।
“बाहुनको नाक चुच्चे भइहाल्छ नि! अनि के कपालले खान दिन्छ र?”
आमाले आँखा तर्दै मलाई हेर्नु भयो।
“त्यसो भने त्यस्तो खास केही छैन हो?”
बाले मलाई खार्नु भो। म चुपचाप बसी रहेँ। मौनम सहमति लक्षणम्, सोधाईको क्रम अगाडि बढेन। ठूलो बोझ हल्का भएको महशुस भयो।
एक दिन अपरान्ह घरको छेवैमा रहेको पँधेरामा नुहाई धुवाई गर्न र पानी भर्न गएकी थिएँ। नुहाई सिध्याएर पानी भर्दै गरेको बेलामा तीनजना सुकिला-मुकिला मान्छेहरू मूलबाटो समातेर पँधेरोतिरै आउँदै गरेको देखेँ। गाउँको मूलबाटो त्यही पँधेरो हुँदै हाम्रो घरतिर जान्छ। दुई जना इस्टकोट लगाएका र पछाडिपट्टि ढाडमा छाता झुन्ड्याएका अधबैंसे मान्छे पण्डित जस्ता देखिन्थे। तेश्रो व्यक्ति चाहिँ सर्ट, प्यान्ट, आँखामा चस्मा र ढाँका टोपी लगाएका जवान नै देखिन्थे। मलाई शङ्का लाग्यो कहीँ यिनीहरू मलाई नै हेर्न आएका त हैनन्?
त्यो सोच्ने वित्तिकै मेरो तालु सुक्यो। झटपट गाग्रीलाई डोकोमा राखेर कुद्नै आँटेकी थिएँ पछाडिबाट आवाज आयो, “ए नानी! मणिराम अर्जेलको घर कता पर्यो?” अब भने मलाई पक्कै भयो। बाको नाम सोध्ने यिनीहरू पक्का मैलाई हेर्न आएका हुन। फर्केर हेरेको त ती जवान केटाले मलाई नै क्वारक्वार्ती घुर्दै रहेछन्। केही न केही जवाफ त दिनै पर्यो। भनेँ, “यो मूलबाटो नछोडी जानुस्। बाँसको झाङ काट्ने बित्तिकै बाटोमुनि ढुङ्गाले छाएको रातो रङ्गको घर देखिन्छ, त्यही हो।” कसरी एक सासमै भन्न सकेँ आफैलाई अचम्म लाग्यो। उनीहरू गए पछि म पनि घरतिर लागेँ।
म घरमा पुग्दा पाहुनालाई बा,आमा अनि स्यानाबा र स्यानीमा मिलेर स्वागत सत्कार गर्दै हुनुहुन्थ्यो। पाहुनाहरुलाई आँगनको डिलमा कम्बल बिछ्याएर बसाइएको थियो। हजुरआमाले “को हौ? के हौ?” भनेर पाहुनालाई खगी-खगाउ पार्दै हुनुहुन्थ्यो। हजुरआमा बुढेसकाल लागेर आँखा कम देख्नु हुन्छ। त्यही भएर मुन्टो अगाडि तानेर एक एक जनालाई गहिरिएर हेर्दै हुनुहुन्थ्यो।
म आँगनमा पुग्ने बित्तिकै बाले मलाई देखाउँदै भन्नु भयो “यिनी मेरी छोरी ज्ञानु हुन।” गाग्री बोकिराखेकी म कस्तो अप्ठेरोमा परेँ भन्नै सक्तिनँ। लाजले निहुरिएकै अवस्थामा नमस्ते गरेर घरभित्र पसेँ। गाग्री राख्दै गरेको बेलामा भाइ आयो र “दिदी! दिदी! यी मान्छेहरू तिमीलाई हेर्न आएका हुन् रे! बाले भनेको। कस्तो गज्जप भयो नि! त्यो मान्छेको नाक चुच्चे छैन।” भनी कानेखुसी गर्दै आँखा सन्कायो। भाईलाई रिसाएको आँखा देखाएँ तर मनमनै खुशी भएकी थिएँ नाक चुच्चे नभएकोमा। फेरि मेरो सोचाइ तालुमा गयो। “टोपी लगाएको छ, तालु?” मेरो कौतुहलताले सीमा नाघ्दै गयो।
एक छिन पछि आमा भित्र आउनुभयो। आमालाई म कपडा लगाउन जान्छु भनेर भर्याङ चढेर माथि आफ्नो कोठामा गएँ। मेरो कोठाबाट पुरै आँगन देखिन्छ। झ्याल खुलै भएकोले मैले पाहुनाहरूलाई पुरै देख्न सक्थेँ। कोठाको एक कुनामा बसेर केटालाई हेरेँ। मनमा कता कता काउकुती लाग्यो। केटा गोरा, राम्रा रहेछन्। टोपी पनि कस्तो सुहाएको। चस्मा लगाउने भए पनि टोपी र चस्माले मुहार झन् खुलेको थियो। म पुलकित भएँ। टोपी झिक्यो भने के होला? तालु खुइले त नहोस्।
तालु सम्झने बित्तिकै पूर्व समृतिले डोर्यायो। म एसएलसी पछि आईए पढ्न शहर गएँ। त्यही समयमा मैले पढेको विद्यालयले एक जना शिक्षक भर्ना गरेको रहेछ। मेरा बा विद्यालय व्यवस्थापन समितिको सदस्य भएकाले ती शिक्षक मेरो घरमा आउ जाऊ गर्दा रहेछन्। त्यही मौकामा मेरो बारेमा ती शिक्षकले सबै जानकारी लिएका रहेछन्।
पहिलो वर्षको जाँच सिध्याएर म घर गएको बेला एक दिन साँझपख मैले नचिनेका एक जना मानिस हाम्रो घरमा आए। त्यतिखेर बा घरमा हुनुहुन्थेन। आमा पनि हजुर आमालाई लिएर स्यानाबाको घरमा जानु भएको थियो। भाइ विद्यालयबाट आइपुगेको थिएन। नचिनेको मान्छे घरमा आउँदा मैले “कस्लाई भेट्न आउनु भयो? भनेर सोधेँ।”
“तिमीलाई!” भन्ने जवाफले म खुर्मुरिएँ। हतप्रभ भएँ।
मैले कहिल्यै पनि नदेखेको र नचिनेको मान्छेको जवाफ सुनेर रीस उठेर आयो। तिनको नियत राम्रो नभएको जस्तो लाग्यो। यसका साथै मलाई डर लाग्न थाल्यो।
“मैले त तपाईँलाई आजभन्दा पहिले कहिल्यै पनि देखेकी छैन। नचिनेको मान्छेलाई किन भेट्नु पर्यो?” मेरो आवाजमा उत्तेजना र डर मिस्सिएको थियो।
“मैले त ठट्टा गरेको। म यहीँको विद्यालयमा शिक्षक छु। बुबासँग गफ गर्न मन लागेर आएको। सँधै बुबाले तिम्रो बारेमा कुरा गर्नु हुन्थ्यो। आज भेट भयो।” बोल्दा पनि उछिट्टिएका दाँत, चुच्चे नाक र खुइलिएर चिल्लो भएको टाउको देख्दा कति कुरुप मान्छे रहेछन भन्ने लाग्यो। रूपको साथ साथै बेहोरा पनि गएगुज्रेको लाग्यो।
“म आएको थिएँ भनेर बुबालाई भनिदिनू।” भनेर ती शिक्षक हिँडे। त्यो दिनको घटनाले एउटा कुराको शङ्काले घर गर्यो मेरो मनमा। ती शिक्षकको नियत मसङ्ग विवाह गर्ने त होइन? त्यो सोचाइले मेरो मन अत्तालियो। चुच्चे नाक र तालु खुइले प्रति घृणा जाग्यो। बा आए पछि ती शिक्षकको नियत र बेहोरा राम्रो नभएको भनेर गुनासो गरेँ। बाले त्यस्ता केटा सङ्ग विवाह नगर्दिउन भनेर भाइलाई “मलाई त चुच्चे नाक र तालु खुइले मन पर्दैन भन्दिनु बालाई” भनेर सम्झाई रहेँ।
म स्मृतिमा डुबी रहेको बेला आमाले कोठामा आएर “ज्ञानु!” भनेर बोलाउँदा झसङ्ग भएँ। आमा खुशी देखिनुहुन्थ्यो। “ज्ञानु! केटाले तँलाई मन पराए रे! हामीलाई पनि केटा राम्रै लागे। तँलाईं कस्तो लाग्यो?”
“मैले के भन्नु? हजुरहरुले राम्रै देख्नु भएकोरहेछ। ठीकै जस्ता छन्।” मेरो बोली फुट्यो।
“कुराे मिले पछि भोलि नै टिकाटालो गर्ने भन्नुहुन्छ उहाँहरूले। आज यहीँ बस्ने रे!” यति भनी आमा बाहिर जानु भयो।
‘यहीँ बस्ने रे?’ मन मनै दोहोर्याएँ। यहीँ हाम्रो घरमा? मलाई किन हो किन राम्रो लागेन। कता कता डर पनि लाग्यो। त्यहीबेला स्यानीमा म भएको कोठामा आउनुभयो र भन्नु भयो “केटा सोमतिला र खुला दिलका रहेछन्। तलाईं राम्रोसँग पाल्ने छन्। भाग्यमानी रहिछेस् ज्ञानु। खानेपिने र सुत्ने व्यवस्था हामी कहाँ गर्ने हो। सहयोग गर्न तँ पनि आइज तल।” पाहुना स्यानीमाकोमा बस्ने भन्ने भनाइले मलाई चरम खुशी दियो। ‘हस्’ को भावमा मैले टाउको हल्लाएँ।
कपडा लगाएर म पनि स्यानीमालाई सहयोग गर्न आमासँगै काँल्ना मुनि स्यानाबाको घरमा गएँ। खाना खानु भन्दा अगाडि स्यानीमाले मलाई र केटालाई कुरा गर्न आफ्नो कोठामा एक्लै पारिदिनु भयो। म त लाज र डरले भुतुक्कै भएँ। मेरो सास माथिको माथि, तलको तल अड्कियो। मैले केटालाई हेर्न त कता हो कता केटाको खुट्टा मात्रै हेर्न सकेकी थिएँ। निलो रङ्गको मोजा र निलै रङ्गको पाइन्टको मोता मात्रै देखेकी थिएँ। केटालाई पनि के भन्ने? के सोध्ने? भनेर बचैनी बढेको अडकल गरेँ। आफूले लगाएको हातेघडीको चेन खोल्दै लगाउँदै गरे धेरै बेर।
“मलाई ईश्वर भन्छन् अनि तिमी?”
म झसङ्ग भएँ। “मलाई ज्ञानु।”
“म वकील हूँ। छिमेकी जिल्लामा काम गर्छु। मलाई त तिमी राम्री लाग्यो। म कस्तो छु?”
मलाई झन् शरम लाग्यो। मुट्ठी कसेँ। भुइँ कोट्याउँदा कोट्याउँदा अब त नङ्ग नै खिइसक्यो। तैपनि केही त भन्नै पर्यो अनुहार रातो पार्दै भनेँ, “राम्रो”। धन्न त्यै बेला आमाले बोलाउनु भयो भान्सामा। “म भान्सामा जान्छु है?” भनेर दौडिएँ। भान्सामा दौडेर पुग्दा स्याँ स्याँ भएकी थिएँ। मेरो हालत देखेर आमा र स्यानीमा मरीमरी हाँस्नु भयो। मलाई भने केटाप्रति मायाँ जागेर आयो। पहिलो नजरमा पिरती बस्यो भनेको यही हो कि? मैले आफैलाई भाग्यमानी ठानेँ।
भोलिपल्ट बिहानै टिकाटालोको कार्य शुरू भयो। बा र आमाले हामी दुईलाई टीका लगाई दिईसकेपछि बाले हजुरआमालाई, ‘केटा केटीलाई तपाईँले पनि टीका लगाइदिनुस आमा !’ भन्नु भयो। हजुरआमाले टीका दाहिने हातमा लिएर केटा तिर बढाउनु भयो। आँखाले निधार ठम्याउन नसक्दा देब्रे हात अगाडि बढाउनु भयो। देब्रे हातको औँलाले केटाले लगाएको ढाँकाटोपी खसाई दियो।
त्यो दृश्य देखेर सबै हतप्रभ भए। नि:शब्द भए। सबै छक्क परे। केटाको अगाडिको तालु त पुरै खुइलेको रहेछ, एउटा पनि रौँ रहेनछ। हजुरआमाले निधार छाम्दै भन्नुभयो, “बाबुको निधार कति ठूलो रैछ? धेरै भाग्यमानी रहिछे ज्ञानु।” भाईले देब्रेतिरबाट आँखा सन्काउँदै मुख कच्याक-कुचुक पार्यो। मनमनै आफैलाई धिक्कारेँ ‘तालु खुइले दुलाहा मैलाई पर्नुपर्ने!’
***
प्रतिक्रिया
-
४
