– सुष्मा दाहाल

म अचेल निक्कै चर्चित छु
चल्तीका अखबारहरुमा
पत्रिका बिकाउकाे बिज्ञापन बनेर छापिन्छु।

म लुटिएको ,म दुखेको ,म झुकेको
मेरो स्वाभिमान बेचिएको
यस्तै यस्तै समाचार आउँछन् अचेल
चल्तीका पत्रिकाहरुमा
सम्पादकीय र हेडलाईन बनेर
म जतै गृह पृष्ठकाे हाईलाईटमा देखिन्छु।

हिजोआज यस्तै यस्तै आशयका
शब्दहरु छताछुल्ल
पाेखिईरहेछन्
चर्चित मिडियाहरुमा
ब्रेकिङ न्यूज बनेर समेटिन्छु।

यी ब्रेकिङ न्यूजहरुमा
जतै म यसरी भेटिन्छु
कहि अतिशय प्रेममा चुर्लुम्म डुबेकी
कसैकि सुवासिनी प्रेमीका बनेर
कत‌ै कुनै भद्र पुरुषकाे
विश्वासकाे परिधिभित्र
बाँधिएकि साेह्र सिङ्गारले
धपक्कै बलेकि दुलही
सहयात्री श्रीमती बनेर
कतै मातृत्वकाे सार्थक परिधिभित्र
पग्लिएकाे अचेत मातृवात्सल्यकाे
पर्याय बनेर समेटिन्छु।

अझै पनि कथित प्रथाकाे नाउँमा
छाउपडी भित्र बन्दी बन्नुपर्दा
अचेत भएर मृत्युवरणका
समाचारहरुमा लेखिन्छु
कसैका अकुत चाहनासङ्ग साटिएर
झुमा,देउकी,कुमारीहरुकाे रुपमा,
प्रयाेग पछि दुरुपयोग हुनसक्ने
कुनै बस्तुकाे रुपमा
कथित ईश्वर खुसी बनाउन
बिभेदकाे दुश्चक्र भित्र
रुमल्लिदै जिउँदै बली चढेकाे
तात्ताताे समाचार बनेर पढिन्छु।

हुन त सृष्टिको शुरुआती कालखण्डमा पनि
मेराे चर्चा परिचर्चा नभएकाे कहाँ हाे र
बस् चर्चाकाे स्वरुप
फरक थियाे ऊ बेला
म आदि शक्तिकाे रुपमा पुजिन्थें
विदुषीकाे रुपमा चिनिन्थे
फरक यत्ति हाे ,आजभाेलि नकच्चरी,
बिद्रोही लवस्तरी,लाज पचेकि , बिग्रिएकि , आइमाईकाे रुपमा चिनिन्छु।

समयका सारथीहरुले बनाइदिएका यिनै
भाष्य र चिनारीहरुलाई आफ्नाे
परिचय मानेर बाँच्दाबाँच्दै
मैले आफ्नाे असली परिचय
गुमाइसकेकिछु ।

फेरि एकबार शून्य बाट उठेर
मैले मेराे पहिचान स्थापित गर्नुछ
बिद्रोहकाे ज्वाला सल्काउनु छ
अनि कसैको इसारा र सहारा बिना नै
लेख्नुछ आफै आफ्नै हातले
आफु हुनुकाे एउटा गर्विलाे इतिहास ।

***

प्रतिक्रिया

सम्बन्धित खवर