– पवित्रा थापा मगर

गजल १,
गाउँमा आउनुस् ती सुन्दर खोला,नदि र बगर हेर्न
मेरा कुपोषित छोराछोरीका यी अस्थिपन्जर हेर्न

काखको बच्चा बितेर दूध चुसाउछे गुडियालाई
आउनुस् सुत्केरी आमाको त्यो अनौठो रहर हेर्न।

हजुरकै आदेशमा डोजरले मोटर बाटो खने पछि
जहाजमा आउनुस् पहिरोले लगेको मेरो घर हेर्न ।

देश बनाउने चर्को भाषण गर्दै हुनुहुन्थ्यो हजुरले
मैले सकिन तुईन चुडेर मान्छे खसेको खबर हेर्न ।

यहाँ पुस्तौ पुस्ता रोईरहेका छन् लिपु अनि सुस्ता
सिमानामा आफै आउनुस् छिमेकीको असर हेर्न

गजल २,
सारा पीर व्यथाहरु मुटुभरी सजाएर आँए।
यसर्थ म पागल झै एक्लै मुस्कुराएर आँए।

भन्छिन् मेरी आमा बैगुनीलाई गुनले मार्नु
र त आफैँलाई रुवाउनेलाई हँसाएर आँए ।

भोट दिए चामल दिने रैछ खुसीको खबर
नेताज्यू! म गरीब भोट दिन रमाएर आँए ।

दाइजो नपुगेर ऊ तेजाब किन्न जाँदै थियो।
जाँदाजाँदै मैले ढुङ्गाले हानी ढलाएर आँए।

भोकले रोइरा’छन् मेरा बच्चाहरु के गरुँ ?
ढुङ्गा पकाउदै म सबैलाई फकाएर आँए।

प्रतिक्रिया

सम्बन्धित खवर