– हेमन्त शिशिर

तिम्रो सुगन्धले फुटेका छन्
मनको मुहानबाट असंख्य मूलहरू
जसले शरीर होइन आत्मालाई भिजाउँछन् ।

हिमालको अङ्गालोमा बेरिएर
सिङ्गो सभ्यतामा प्रकाशको मसी छर्दै
हरिया शब्दहरू लेखिदिने
हरियाली चादर हौ तिमी
देशको शिरमा शोभा बनेर
माटोको उल्लास सिङ्गो ब्रह्माण्डभरि
छरिदिने चञ्चल चेतना हौ तिमी ।

सूर्यका कणहरू बाह्र बण्ड र अठार खण्डहरूमा
घोलेर
हरेक अनुहारहरूमा मुस्कानको
प्रतिबिम्ब कोरिदिने
इन्द्रेणीभित्रकी इन्द्रेणी हौ तिमी ।

तिम्रो छातीको माटोमा केवल फूल
होइन अमृत फुलेको छ
जहाँ उल्लास बोकेर दौडन्छन्
जीवन बाँचेका जिन्दगीहरू ।

यहाँका ओजस्वी पाटनहरूमा
लुप्त छन् धर्तीका सुमधुर भाकाहरू
देउडाका समानान्तर पैतालाहरू
भुवाँ नाचका तरङ्गहरू
र लोरीका मिठासहरू।

धर्तीलाई प्रकृतिको सुरुवाल लगाएर
वाटुले तालसँग मिठो स्पर्श गरिरहेछ जिगले ताल
मनको संगीत बोकेर ठूलो उमङ्गका साथ
यहीबाट निस्कन्छ कैलास खोला
यही वास गर्छन् देवताहरूका पनि देवता
– ईश्वर ।

शीतलताको लेन्सबाट
आकाशको सेल्फी खिचिरहेछ रोसन मैदान
रोसन मैदानकै जादुमय स्पर्शले
यतिधेरै चकचके भएको हो भुइँ कुहिरो
यति कोमल भएको हो बतास
र पुलकित भएकाहुन् फूलका मुनाहरू।

वर्षौँदेखि एक्लै बसेर पनि
रामारोसन पर्खिरहेको तिम्रा एकजोडी
पैतालाका डोबहरू ।

***

प्रतिक्रिया

सम्बन्धित खवर