– दीर्घराज प्रियसी

हेलो…….
उस्ले सफरमा पहिले बोली । म टक्क रोकिएर ‘भन्नुस्’ भनेको थिएँ। उस्ले यो बाटो कहाँ जान्छ? सोधी। मैले यो बाटो बाटैबाटो भएर जान्छ भनेर जिस्कीदिएको थिएँ। उ खुब हाँसेकी थिई मेरो त्यो उत्तरमा। मैले मनमनै सोचेथेँ । , हाँस्यो त फस्यो मान्छे। कस्तो पापी मन। जे पनि सोची दिने।

त्यसपछिको यात्रा सुरू सँगै भयो हाम्रो । अहिलेको जस्तो गाडी मोटर सस्तो थिएन त्यो बेला। साईकल पनि बडो मुस्किलले किन्न सकिन्थ्यो। हिँडेरै लामो लामो सफरहरू तय गर्नु पर्थ्यो। थकान बहुत लाग्थ्यो लामो सफर बाट जब गन्तव्य पुगीन्थ्यो तब गन्तव्य पुगिसके पछि खुब आराम पुगेको महसुस तुरून्त भैहाल्थ्यो। अचेल त सफर हवाईजहाजमा गरे पनि थाकेको भनेर फेसबुके स्टाटस राख्छ मान्छेले ।

योजना फरक भएपनि हाम्रो पुग्नु पर्ने गन्तव्य एउटै थियो, कर्णाली चिसापानी। हो कर्णाली चिसापानी भन्ने बित्तीकै मेरो मानस पटलमा त्यो सफर खुब याद आईहाल्छ। आजकै दिन थियो त्यो दिन। पूर्व लम्किको केही परबाट हामीले यात्रा सुरू गरेका थियौँ। लम्कीबाट १३किलोमीटर टाढा पर्छ चिसापानी । यो कुरा मलाई धेरै समय पछि मात्र थाहा भएको हो। मलाई त्यतिबेला कहिँकतै यात्रा गर्दा पनि किलोमीटरको कुनै हिसाब रहँदैनथ्यो ।

सफरमै हाम्रो परीचय भयो। उस्ले आफ्नो नाम ‘झुमा’ भनेर बताई। मैले ‘गिरी’ हुँ भने।  ‘गिरी त थर पो होला नाम हैन होला’ ऊ जीस्की । म पनि मनमनै हाँसे । त्यतिन्जेलसम्म हामी धोबेनी खोलाको पुलसम्म पुगी सकेका थियौं।

धोबेनी खोला एउटा सुन्दर ठाउँ हो। खोलै-खोला माथिसम्म पुग्ने हो भने जेठ बैशाखको टन्टलापुर घाममा पनि कलकल बगीरहेको चीसो पानी पिउन पाईन्छ। कोईलीको मधुर आवाज। मयुर, कालीचिफे, कटखोले जस्ता थुप्रै चराचुरूङ्गीहरू खोलाको छेउछाऊ पट्टि देख्न पाईन्छ।

अझ धोबेनी खोलाको केही पर पुग्ने हो भने प्राकृतिक रुपमा बनेको ठूलो चउर छ। जो डुँडेझारी भनेर चिनीन्छ । डुँडेझारीको छेउछाउमा त्यतिबेला देखीने ठूलठुला सिमलका रुखहरू अहिले गायब जस्तै छन्। मलाई खुब मन पर्ने ठाउँ मध्येको त्यो डुँडेझारी चउर पनि एक हो।

केहीछिन धोवेनी पुलमा बिस्राम गरेर हामी हिडेका थियौं । उस्ले आफ्नो बारेमा सबथोक बताई। चिसापानीमा उस्को बुबाको खुद्राको ब्यापार रहेछ। कक्षा आठमा पढ्दै गरेकी ऊ निक्कै राम्री पनि थीई । मलाई ऊ सँग गफिन खुब रमाईलो लागीरहेको थियो। मैले पनि मेरो बारेमा सब बताएँ उस्लाई।
त्यतिञ्जेलसम्म यस्तो लागिरहेथ्यो कि हामी बर्षौ अघिबाट चिन्दछौ एक अर्कालाई। तर यथार्थ त्यसो थिएन। हामी केही समय अघिमात्र परीचित भएका थियौं। हामी धोवेनी खोला , डुँडेझारी चउर, बलचौर हुँदै गोरंग्या बस्ती सम्म पुग्यौं। बलचौर एक पर्यटकिय क्षेत्र पनि हो। जहाँ देखीने दुईचार सुन्दर मन्दिरले धेरैको मन तान्छ।

त्यतिबेला त्यहाँ बस्ने गोठालाहरुले गाईबाख्रा बस्न बनाएका बाक्ला गोठहरू अहिले सम्झनामा मात्र छन्। अहिले कर्णालीबाट गाउँ गाउँ पुर्याईने भनिएको पानीको योजना सुरु भएसँगै धेरै थोक बदलिएको छ, बलचौर र गोरंग्यामा।

गोरंग्या पनि निकै रमणीय स्थल हो। त्यहाँ पनि एकताका गोठालाहरूले बनाएको सुन्दर बस्ती अहिले एकादेशको कहानी जस्तै भएको छ।

हामी गोरंग्यालाई छोएर कर्णाली चिसापानीको प्रवेश द्धारमा पुग्यौं। त्यहाँ माथितिरका पहाडी डाँडाहरू निकै सुन्दरसँग एकापसमा मिलेर बसेजस्ता लाग्छन् मलाई। चिसापानी प्रवेशद्वारसंगै सुरु हुने चिसो हावाले अझ निकै रमाईलो बनायो हामीलाई। दिउँसोतिर जोडतोडले बहने त्यहाँको हावाले कतीकसो नोक्सान पनि गरेको हुन्छ।

त्यो बेला उस्को हातमा रहेको रातो रूमाल त्यो जोडसँग बहने हावाले उडाएको थियो। कहिल्यै नभेटिने गरी हावाले रुमाल उडाएर डाँडामाथि पुर्याएको थियो । एकछिन रमाईलो मानेर उस्ले पनि हेरी रही, म हाँसीरहेथें निकै बेर। पछि उ नर्भस भएको कुरा मैले महसुश गरेको थिएँ।

हाम्रो सफर सकिनै लागेको थियो। हामी गन्तव्यमा पुगीसकेका थियौँ। आज उस्कै घरमा बस्ने उस्को अनुरोध स्विकारेको थिएँ मैले। साँझ परी सकेको थियो। उसको बुबा ममीसँगको परीचयसँगै भाईबहिनीहरूसँग बसेर खाना खायौँ। रात्री अबेर सम्म गफ लडायौँ र सुत्यौ हामी ।

***

प्रतिक्रिया

सम्बन्धित खवर