मोरङ । मोरङको बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरेर लेखिएको ‘जीवनकथा अग्रजका’ नामक कृतिको लोकार्पण भएको छ । उक्त कृति लेखक तथा अनुसन्धाता केशु विरहीले लेखेका हुन् ।
कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा एक भव्य समारोहबीच हालै सो कृतिको सार्वजनिक गरिएको हो ।
कवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गरेका थिए । समीक्षक खतिवडाले खोज अनुसन्धान गरेर अग्रजहरूका बारेमा पुस्तक लेखिनु भनेको इतिहासलाई जीवन्त राख्ने काम भएको बताए । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिले पुराना र नयाँ पुस्ताबिचको खाडललाई पुर्ने आसा गरे । त्यस्तै सञ्चारकर्मीसमेत रहेकी अर्का समीक्षक अनमोलले लेखक तथा स्रष्टाले राज्यको अघि हात पसार्नुपर्ने अवस्था आउन नहुने, समाजमा चेतनाको विज छर्ने स्रष्टाहरूलाई हेर्ने जिम्मा समुदायको पनि रहेको बताइन् ।
उद्योगपति भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताउँदै ऐतिहासिक व्यक्तिहरूको अध्ययन गरेर पुस्तक प्रकाशन गरेकामा कृतिकारलाई बधाई दिए ।
वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न यो कृति सन्दर्भ सामग्री बन्ने धारणा राखे ।
कृतिकार विरहीले अनुसन्धान तथा प्रकाशनसम्म आइपुग्दा आइपरेका समस्या र चुनौतीका बारेमा बताउँदै अग्रजलाई सम्मान तथा उहाँहरूमा भएको अनुभवलाई नवपुस्तामा हस्तान्तरण गर्ने अभियानका क्रममा यो पुस्तक लेखेको बताए । दुई वर्ष लगाएर लेखिएको यस कृतिमार्फत आफूले राखेका तीनओटामध्ये पहिलो उद्देश्य ‘अग्रजका अनुभवलाई बाहिर ल्याउने काम’ पूरा गरे पनि ‘उनीहरूका बारेमा चर्चा चलाउने’ र ‘अनुसन्धान अक्षयकोष वृद्धि गर्ने’ उद्देश्य पूरा गर्ने अभियानमा सबैको साथ खोजेको बताए । विरहीले यस कृतिको बिक्रबाट आएको २५ प्रतिशत रकम अनुसन्धान अक्षयकोषमा जम्मा गर्ने र उक्त रकमबाट आउने ब्याजबाट नवपुस्तालाई अनुसन्धानमा आउन अभिप्रेरणा जगाउने, अर्थात् पुरस्कारको व्यवस्था गरिने बताए ।
उक्त पुस्तकमा सामाजिक रूपान्तरणमा योगदान दिने ४६ जना बेलबारी र सुन्दरहरैँचाका अग्रजको अध्ययन गरिएको छ । पुस्तक ५६६ पृष्ठको रहेको छ ।
उक्त लोकार्पण कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कोसी साहित्य–कला परिषद्का अध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शारदा दाहाल भण्डारीले स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर