अविनाश श्रेष्ठ नेपाली भाषा–साहित्यका एक महत्वपूर्ण र बहुआयामिक स्रष्टा हुनुहुन्छ । वि.सं. २०१४ मा भारतको असमस्थित गुवाहाटीमा जनेमिनु भएका उहाँले नेपाली भाषा–साहित्यमा एम.ए. सम्मको अध्ययन गर्नुभएको छ। आफ्नो साहित्यिक यात्रा ‘कोलाहलमा डुबेको एउटा महानगर’ कथाबाट प्रारम्भ गर्नु भएका उहाँका कथा, कविता, नाटक तथा सम्पादनका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँका प्रमुख कृतिहरूमा ‘तात्या, इन्द्रकमल र अन्धकार’ कथासङ्ग्रह, ‘अवस्थामा हतोहत’ नाटक तथा ‘पेट्रोया : सेता–काला’, ‘संवेदना/ओ संवेदना!’, ‘तिमीलाई मेरो नेपथ्य प्रिय’, ‘अनुभूति यात्रामा’, ‘हेर्दै यस शहरलाई’ र ‘करोडौं सूर्यहरूको अन्धकार’ जस्ता कवितासङ्ग्रहहरू पर्दछन्। साथै उहाँले ‘आधुनिक भारतीय नेपाली कथा’, ‘मान्छेको नाच’ र ‘समकालीन नेपाली कविता’ जस्ता कृतिहरू सम्पादनसमेत गर्नुभएको छ। विषयवस्तु चयनदेखि शिल्पविधानसम्म सधैं सचेत रहने उहाँ आफ्ना कथाहरूमा नवीनता, विविधता र मौलिकता दिनुहुन्छ । रत्नश्री स्वर्णपदक, राष्ट्रिय नाट्य–प्रतियोगितामा उत्कृष्ट नाटक लेखन पुरस्कार, ‘आमा बनेर हेर’ टेलिचलचित्रका लागि उत्कृष्ट पटकथा तथा संवाद लेखन पुरस्कार, युवा वर्ष मोती पुरस्कार, नेपाल मोशन पिक्चर अवार्ड, लक्स–अनमोल मोशन पिक्चर अवार्ड, गरिमा सम्मान, मैनाली कथा पुरस्कार, गोपालप्रसाद रिमाल पुरस्कार तथा महाकवि देवकोटा राष्ट्रिय पुरस्कारलगायतका महत्वपूर्ण सम्मानले सम्मानित श्रेष्ठको सम्पादनमा भर्खरै उत्कृष्ट नेपाली लामा कथा सङ्ग्रह प्रकाशन भएको छ । यसै कृतिको सेरोफेरोमा जीवन खत्रीले गरेका पाँच प्रश्न र साहित्यकार, सम्पादक श्रेष्ठको जवाफ ;

१) उत्कृष्ट नेपाली लामा कथा संग्रहको बारेमा केही बताइदिनुस् न ।

– ‘उत्कृष्ट नेपाली लामा कथा’ – – नेपाली भाषामा प्रकाशित लामा कथाहरूको पहिलो सङ्ग्रह हो। यस सङ्ग्रहभित्र सत्रजना नयाँ-पुराना नेपाली कथाकारहरूका चयनित १७ थान कथा सङ्गृहीत छन्। ‘उत्कृष्ट नेपाली लामा कथा’ बुक-हिल प्रकाशन प्रालिबाट हालै मात्र प्रकाशनमा आएको हो र यो कृति अहिले नेपालभरिका पुस्तक पसलहरूबाट बिक्री-वितरण भइरहेको जानकारी आदरणीय पाठकहरूलाई गराउन चाहन्छु।

२) कस्ता कथालाई लामा कथा भन्ने ? लामा र छोटा कथाहरूबीच आकारमा मात्र फरक हो कि यसले बोक्ने विषयवस्तु र भारमा पनि फरक पर्दछ ?

– सामान्यतया नेपाली भाषामा कथा भनिने रचना विशेषलाई अंग्रेजीमा सर्ट स्टोरी( Short Story) भन्ने गरिन्छ। कथाका सिद्धान्तकारहरूले कथा वा सर्ट स्टोर एक बसाइमा पढेर सकिने लगभग ३००० देखि ३५०० शब्दभित्रको हुनुपर्ने जिकिर गर्ने गरेका पाउँछौ। कथाको लम्बाइ ३५०० शब्दभन्दा बढ्दै जाँदा यसको आयामगत विस्तारले यसलाई लामो कथाको स्वरूपमा परिवर्तित गर्दै लैजान्छ र अंग्रेजीमा यस्ता लामा कथालाई लंग सर्ट स्टोरी (Long Short Story) भन्ने गरिन्छ। लामो कथा सुसङ्गठित साथै आफैंमा पूर्णत्व भएको अभिप्रायपूर्ण आख्यानात्मक साहित्यिक विधा हो। लामो कथा आख्यानकै एउटा प्रकार हो र यो छुट्टै विधा भने होइन।

आजका आधुनिक लामा कथाहरूमा संरचनागत वैशिष्ट्यहरू देखा पर्दैन जान थालेका छन्। विशेष गरी एकभन्दा बढी समाख्याताहरू(Narrators) को उपस्थिति कथामा देखिनु, उपकथा( anecdote)का अनेक स्तरहरू, अभिकल्पहरू अहिले लेखिंदै गरेका लामा कथाहरूमा प्रस्तावित भइरहेका देखा पर्दै जानुले लामा कथाहरूमा आइरहेको संरचनागत विकासतिर ईंगित गरिरहेका तथ्य अध्ययनद्वारा पुष्टि हुँदै जाँदै क्रममा छन्।

३) लामो समयदेखि कविता, कथा लेखन र सम्पादनमा सक्रिय हुनुहुन्छ । खासमा लेखन र सम्पादनबीचका सैद्धान्तिक पक्ष बाहेक मूलभुत रुपमा सृजनात्मक भिन्नतालाई कसरी बुझ्न सकिन्छ?

– यो अपेक्षाकृत गाह्रो प्रश्न हो भन्ने मलाई लाग्दछ। लेख्न र सम्पादन दुई भिन्दाभिन्दै अनुशासन र अभ्यास हुन्। सचेत लेखकमा आत्मसम्पादनको कार्य प्रायः सचेष्ट रूपमा लेखन वा रचना-प्रक्रियासँगसँगै सक्रिय रहेका कैयौं उदाहरण विश्वसाहित्यमा नपाइने होइनन्। तर सबै लेखकमा आत्मसम्पादनको क्षमता एउटै स्तरको नहुन सक्छ। त्यसैले रचना सम्पादनका निम्ति छुट्टै सम्पादकको भूमिका अपेक्षित भइदिने गर्दछ।

हामी कहाँ धेरैजसो रचनासम्पादनलाई भाषासम्पादन भन्ने मात्र बुझ्ने गरिन्छ। वास्तवमा रचनासम्पादन भाषासम्पादन मात्र नभई यो रचनालाई पुनर्नवीकृत गर्ने एउटा उच्च कलाचेतसहितको अभिकार्य हो भनी बुझ्न जरुरी छ।

त्यसै गरी साहित्यिक विधाविशेषका रचनासञ्चयन अथवा साहित्यिक पत्रिकाको सम्पादकमा रचनाचयन र रचनाप्रस्तुतिको कला त अन्तर्निहित हुनैपर्दछ यसका अतिरिक्त आफ्नो भाषाको साहित्यिक परम्पराका बारेमा आधिकारिक जानकारी अनि प्रत्येक साहित्यिक विधा र तिनका विकासक्रमबारे ज्ञान हुनु पनि अनिवार्य ठान्छु म। यसै गरी स्वभाषामा भूमिका निर्वाह गरेर इतिहास बनाइसकेका पुराना, नयाँ सबै विधाका रचनाकार र तिनका रचना र कृतिबारेको जानकारी पनि सम्पादकमा हुनु जरुरी ठान्छु म।

४) तपाईँ नवीन पुस्तालाई माया गर्ने लेखक/सम्पादक हुनुहुन्छ । नवीन पुस्तासँग सहकार्य गरेर नवीन कार्य गरौँ भन्ने रहर पक्का होला तर वाधा भएको नवीन पुस्ता, उनीहरूको लेखन कला वा प्रकाशक या अरु? … खासमा कसको कारण हो जस्तो लाग्छ?

– नयाँ पुस्ताका रचनाकारहरूका रचनालाई पनि मैले सके जति आफूले सम्पादन गर्ने कृतिमा समावेश गर्ने गरेकै छु । हाल म नयाँ पुस्ताका भाइबहिनीका
रचनाहरूको छुट्टै संकलन निकाल्ने सोंचमा पनि छु। यसमा कुनै किसिमको बाधा वा अप्ठ्यारो मलाई त अनुभव भएको छैन अहिलेसम्म।

५) यो लामो कथा सङ्ग्रह पाठकले किन पढ्नुपर्छ भन्ने लाग्छ?

– ‘उत्कृष्ट नेपाली लामा कथा’ – – नेपाली कथा साहित्यमा गरिएको यस किसिमको पहिलो काम त हो नै त्यसबाहेक विशिष्ट नेपाली कथाकारहरूका वहुचर्चित कथाहरूको चयन यस सङ्ग्रहमा गरिनुका अतिरिक्त लामो कथाबारे लेखिएको लामो भूमिकाका निम्ति पनि नेपालीका सुरुचिसम्पन्न लेखक-पाठकवर्गले यसलाई एक पटक पढ्न जरुरी छ भन्ने मलाई लाग्दछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर