रामेछाप – रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार रुपैयाँ खर्च गरेका छन् । एमालेबाट पालिका अध्यक्ष चुनिएका गाउँपालिका अध्यक्ष श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैयाँ खर्च गरेको खुलासा भएको छ।

खाँडादेवी गा.पा.का अध्यक्ष ज्ञानकुमार श्रेष्ठ

खाँडादेवी गा.पा.का अध्यक्ष ज्ञानकुमार श्रेष्ठ

महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले क्वाटर व्यवस्थापनमा आर्थिक वर्ष २०७९/०८० मा ५९ लाख ७२ हजार २६ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । क्वाटर व्यवस्थापन खर्च गाउँपालिका प्रमुखको कार्यकक्ष क्वाटर तथा क्यान्टिन व्यवस्थापनका लागि सिधै खाजा, खाना तथा अन्य फुटकर खर्चका बिल सम्लग्न गरी भुक्तानी दिने गरेको देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । उक्त कार्यका लागि पदाधिकारी अन्य सुविधा शीर्षकबाट ९ लाख ४१ हजार १ सय ८२ रुपैयाँ, विविध खर्च शीर्षकबाट १० लाख १८ हजार ४ सय ४३ र कन्टिन्जेन्सिबाट ४० लाख १२ हजार ४ सय १ गरी जम्मा अध्यक्षले क्वाटरमा ५९ लाख ७२ हजार २६ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जनप्रतिनिधिहरूको सुविधा सम्बन्धी मापदण्डमा जनप्रतिनिधिले पाउने सेवा सुविधाको बारेमा स्पष्ट रूपमा तोकिएको छ । तोकिएको सुविधा भन्दा फरक रूपमा सुविधा जनप्रतिनिधिले लिदा गाउँपालिकालाई आर्थिक भार पर्ने महालेखा परीक्षाकको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको कार्यालयका उप-महालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारीले जनप्रतिनिधिले तोकेको सेवा सुविधाभन्दा अन्य रकम खर्च गर्नु भनेको ठुलो अनियमितता भएको बताए । त्यसरी खर्च गर्न जनप्रतिनिधिले पाउँदैन । जुन सुकै पालिका होस । प्रस्टसँग जनप्रतिनिधिको सेवा सुविधाको बारेमा उल्लेख छ । त्यसभन्दा बाहिर गएर सत्ता र शक्तिको भरमा गरिने खर्च भ्रष्टाचार हो भन्दा पनि फरक पर्दैन उप-महालेखापरीक्षक अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर