रामेछाप – जिल्लाकै ऐतिहासिक शक्ति पीठ मानिने खाडादेवी मन्दिरमा चण्डीपाठ गरी बडा दशैंको जमरा राखिएको छ । मन्दिर परिसरमा जमरा खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तमाङले राख्नुभएको छ। सर्वसाधारणले घटस्थापनाको दिन घरघरमा जमरा राख्ने परम्परा भए पनि देवीका लागि जमरा घटस्थापनाभन्दा अघिल्लो दिन अर्थात् जमारे औँसीकै दिन राख्ने चलन रहँदै आएको छ ।

मन्दिरमा पण्डितद्वारा चण्डीपाठ गरी पुराना पुजारीहरू नेपाल प्रहरी साथै स्थानीयहरूको संलग्नता, गुठियार,लगायतको उपस्थितिमा बडा दशैँको जमरा राखिएको हो ।

ऐतिहासिक शक्तिपीठ मानिने खाँडादेवी मन्दिरको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवतखण्डमा समेत पाइन्छ । किरातकालदेखि नै यहाँ पूजाआजा हुँदै आएको विश्वास रहँदै आएको छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली मानी विशेष श्रद्धासहित पूजा गर्ने प्रथा छ । फूलपातीकाे दिन गेलुका पहरीहरु चेली भेट्न  विशेष काेसेली लिएर खाँडादेवी पुग्ने गर्दछन् ।

खाँडादेवी मन्दिरमा जमरा राख्दै कोषका अध्यक्ष

खाँडादेवी मन्दिरमा जमरा राख्दै कोषका अध्यक्ष शेरबहादुर तामाङ्ग

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमको फेदीमा विश्वामित्र गुफासँगैको सुनकोसी नदीमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बध गरी सोही ठाउँमा खुँडा पखाली खुँडा स्थापना गरेको ठाउँलाई खाँडादेवी भनिएको धर्मशास्त्रीहरुको भनाइ छ । देवीले राक्षसहरुको बध गरी सोही ठाउँमा खुँडा पखालेको र खाँडादेवीमा पुगेर खुँडा गाडी दोलखाको कालिन्चोकमा गएर दुर्गा भगवती अन्तरध्यान भएको कुरा शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रीहरु बताउँछन् । विश्वामित्र गुफासँगैको सुनकोसी नदी किनारमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बद गरेको हुनाले यस ठाउँलाई दुर्गा आर्यघाट समेत भनिन्छ । यही सुनकोसी किनार नै मुख्य दुर्गा आर्यघाट भएको समेत धार्मशास्त्रीहरुको भनाइ छ ।
विसं १५७३ मा चढाइएको ठूलो घण्टा, दरबारबाट अर्पण गरिएका चाँदीका जन्तर र गहनाजस्ता धरोहरहरू आज पनि मन्दिरमा सुरक्षित छन् । जसले खाँडादेवी मन्दिरको ऐतिहासिक महत्वलाई प्रमाणित गर्दछ।

स्थानीय हरूको भनाई अनुसार नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाउनु भएकाे थियाे । उहाँले युद्ध जित्न देवीको आशीर्वाद प्राप्त गरेको जनविश्वास रहँदै आएको छ । युद्धपश्चात् खाँडादेवीको शिला दरबार लैजान गरिएको प्रयास तीन पटक असफल भएपछि शाहले खाँडादेवीसहित विभिन्न देवीदेवतामा बलि दिने परम्परा सुरु गरेको विश्वास गरिन्छ ।
उहाँकै आदेशअनुसार खाँडादेवीमा कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र कुखुराको पोथी बलि दिने प्रचलन आजसम्म निरन्तर छ । पहिला यो पूजाको खर्च दरबारबाट आउने गरेको भए पनि हाल खाँडादेवी विकास कोषमार्फत सो कार्य सञ्चालन हुँदै आएको छ ।

कोषले हरेक वर्ष बडादशैँ र चैते दशैँको नवमीका दिन सरकारी पूजा गर्दै आएको छ । साथै मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पनि सोही कोषले वहन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर