✍️ राधिका कल्पित

 

प्रिय नेताज्यू
तिमीले भोट माग्न खर्च गरको दुई करोड
तिम्रै गाउँको टारीखेतमा ठाडोखोलाको पानीले सिँचाइ गर्न
एउटा कुलो बनाइदेको भए
टारिखेतबाट देउरालीसम्म पुग्ने बाटो चौडा गर्देको भए
तीँ चारवटा गाबिसका भोट सर्लक्कै तिम्लाई आउथ्यो।

तिमी त दुई-दुई चोटी स्वास्थमन्त्री भएका मान्छे
बालुवाटार घर अनि सिँहदरबार ससुराली भएका मान्छे
त्यति पोहोर पहिराले लगेको दुम्कौलीको स्वास्थचौकी
मर्मतगरि घाटपुग्ने बाटो लम्बाइदिएको भए
अरु केही नभएनि सिटामोल र जीवनजलको जोहो गर्देको भए
हटियाको अस्पतालमा एउटो डाक्टर पठाइदिएको भए
गाउँका सप्पैले आँखा चिम्लेर तिम्लाई एकछापे भोट हाल्थे।

कपि-पेस्ट गरिएका महत्वाकांक्षी एजेन्डा लिएर
सालका पातका पर्सेउला छरेँ झै छर्नि त्यो दामले
मैदानको हाइस्कुललाई क्याम्पस बनाइदेकाभा
सदरमुकाममा गएर बिए पढ्ने विद्यार्थी
सप्पैले तिम्लाई भोट हाल्थे।

पोहोर साल बाढी पसेर घरबाहिर–बिहिन पाखाथरका स्थानियलाई
बहुला खोलामा तारजाली हाली बाँध बनाइ घर फर्काका भा
लेखफाँटमा एउटा मिल र खानेपानीको धारो जोड्देका भा
त्यहाँका आमा र दिदीबैनी सबले तिम्लाई नै भोट हाल्थे।

भटभटे चार्टर गरिगरि गाउँका खर र टिनका छाना उडाउने पैसाले
महँगोमा खेती गरेर सस्तोमा बेच्न परेका
ताराखोलाका किसानको आलु र स्याउ भन्डारण केन्द्र र
घरेलु उधोग खोल्ने पहल गर्देको भा
गुरुङटोल र घलेगाउँको सप्पै भोट तिम्लाई नै खस्थ्यो।

मुन्द्रे र भुस्तिङ्ग्रेलाई महिनौदेखि महंगो भाडामा बोकेर
पजेरो र बोलेरो लिएर हिँड्ने पैसाले
किसानलाई बीउ, मल र कृषि औजार किन्देको भए
एक्काइसौं शताब्दीको उज्यालो युगमा पनि
मट्टीतेलको टुकिमा उज्यालो खोजिरहने अँधेरी गाउँमा
बिजुली जोडिदिएको भए
चारोटा गाबिसको एकछापे भोट तिम्रै चिन्हमा झर्थ्यो ।

तुइनमा झुन्डिएको हजारौँ जीवनलाई सुरक्षित अवतरण गर्न
एउटा झोलुङ्गे पुल हालिदिएको भए
अझैपनि ढिकि र जाँतोमा हातगोडामा फोडा उठाइरहेका चेलिबेटीलाई
गाउँमा एउटो कुटानिपिसानि मिल खोल्देको भए
दुइसय घरधुरीका आठसय मतदाता सप्पैले तिमीलाई भोट हाल्थे।

आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा
व्यवहारमा पनि अलिकति देखाइदिएको भए
जनतालाई दिएको बचनको, थोरै मान राख्न सकेको भए
संसद भवन छिरेपछि भाउ बढेको तिम्रो महङ्गो नमस्कार
जाबो एउटा भोटका लागि यति अवमूल्यन गर्नुपर्थ्यो होला र ?
पाँच बर्षसम्म गाउँमा बा–आमा पनि छन् भन्ने नबिर्सेको भए
आफ्नै बाआमाले पनि भोट दिन्नन् कि भन्ने डर लाग्थ्यो होला र ?

प्रिय नेताज्यू,
तीनचोटि त्यही ठाउँबाट चुनाव जितेर
तिमीले गरेका तिनटा काम के के छन् भन ?
अब पनि त्यहि ठाउँमा चुनाब जित्छु भन्ने
तिमीसँग आधार केके छन् भन ?

प्रतिक्रिया

सम्बन्धित खवर