वि. सं. २०२५ मा जन्मिएका विनय कुमार भण्डारी विद्युत् इन्जिनियर तथा कवि हुन्। पोखरा विश्वविद्यालयबाट वातावरण व्यवस्थापनमा स्नातकोत्तर गरेका भण्डारी जलविद्युत् क्षेत्रमा कार्यरत छन्। विज्ञानको अध्ययन र प्राविधिक पेशासँगै साहित्य सिर्जनामा सक्रिय उनका रुचिका क्षेत्र कविता र समालोचनाका अतिरिक्त दर्शन, इतिहास तथा तन्त्रशास्त्रसम्म फैलिएका छन्। उनका ‘तिम्रो देह मेरो जन्मदिन हो’ (२०७९), ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ (२०८१) र ‘! कतै कुनै यस्तो पनि एउटा संसार होस्’ (२०८३) कविता सङ्ग्रह प्रकाशित छन् । भर्खरै प्रकाशित कविता कृति “कतै कुनै यस्तो पनि एउटा संसार होस्”सँग आधारित रहेर कवि भण्डारीसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ ;
१) “कतै कुनै यस्तो पनि एउटा संसार होस्” यो सङ्ग्रहको बारेमा छोटो परिचय गराइदिनुस् न ।
हामी मध्ये प्रत्येकले वाल्यकालदेखि नै संसार यस्तो भएको भए हुन्थ्यो , संसार त्यस्तो भएको भए हुन्थ्यो भन्ने कल्पना गरेका हुन्छौं । यी सङ्ग्रहका कविताहरु वालसुलभ तर्कहरुमा टेकेर बनाइएको तिनै काल्पनिक संसारहरु हुन् । हजुरआमाहरुबाट हामीहरुले सुनेका कथाहरुमा पाइने जादु यस सङ्ग्रहका कविताहरुमा छ ।
२) कृतिको नाम अलि लामोजस्तो र पृथक छ । यसको पछाडि के के कुराहरूले डोर्यायो होला?
कृतिको नाम पाठकहरुलाई लामो अवधीसम्म याद हुन्छ जस्तो मलाई लाग्दैन । म आफैलाई पनि मैले मन पराएका कविहरुको सङ्ग्रहहरुको नाम याद छैन । यो स्थितिमा पाठकहरुले मेरो सङ्ग्रहलाई ” लामो वाक्यमा नाम हुने कविता सङ्ग्रह ” र मलाई ” लामो लामो वाक्यमा सङ्ग्रहको नाम राख्ने मानिस ” भनेर सम्झून् भन्ने चाहेको हूँ ।
३) पाठकहरूको प्रतिक्रिया पढ्दा, सुन्दा यस कृतिमा पृथक र प्रयोग गरिएका धेरै कविताहरू छन् भन्नुहन्छ । तपाईँ आफैँले बताईदिनुहोस् न ।
मैले माथि भने झैं यसमा वालसुलभ तर्कहरुले कल्पना गरिएका संसारहरुको जादुमय चित्रण छ । सत्य त के हो भने हामीमध्ये प्रत्येकले वाल्यकालदेखि नै यस्तै वालसुलभ तर्कहरु बनेको संसार खोजिरहेका हुन्छौं । यो अर्थमा यो सङ्ग्रहका कविताहरु हाम्रा जिन्दगीको अनुभवभन्दा पृथक छैनन् । तर तिनै वालशुलभ तर्कहरुले गर्दा वर्तमान समयमा लेखिएका अन्य नेपाली कविताहरुभन्दा यो सङ्ग्रहका कविताहरु पृथक भने देखिएका हुन् ।
यो सङ्ग्रहमा मैले हाम्रा हजुरआमाहरुले कथा भन्ने शैलीमा कविताहरु लेखेको छु । हजुरआमाहरुबाट हामीले सुनेका कथाहरुमा पाइने जादु यो सङ्ग्रहका कविताहरुमा छन् । यो अर्थमा यसमा कुनै नयाँ प्रयोग गरिएको छैन । तर हजुरआमाहरुले कथा भन्ने शैलीमा यी कविताहरु लेखिएकोले नेपाली कविताको लागि यो पक्कै पनि नयाँ भने हो जस्तो लाग्छ ।
४) तपाईँ कविता किन लेख्नुहुन्छ ? यदि कविता नलेख्नु हुन्थ्यो भने?
यो प्रश्न तपाईं जिन्दगी किन बाँच्नु हुन्छ भने जस्तो भयो । जिन्दगी छ त्यसैले बाँच्ने हो । कविता पनि त्यस्तै हो । कविता छ त्यसैले लेख्ने हो । कविता लेख्न कसैले प्रतिबन्ध लगाएको भए म दर्शन पढ्थें वा गणित पढ्थे ।
५) यो कविता सङ्ग्रह पाठकले किन पढ्नुपर्छ जस्तो लाग्छ?
प्रौढ भएपछि हामी वालक भएर सोच्न छोडिदिन्छौँ । ठूला ठूला तर्कहरु गर्न थाल्छौँ , ठूला ठूला कुरा गर्न थाल्छौं , विज्ञान भन्छौँ , विकास भन्छौँ , प्रगति भन्छौँ , जिन्दगी भन्छौँ , सपना भन्छौँ , लक्ष भन्छौँ , भविष्य र देशको चिन्ता गर्छौं र यो गर्ने क्रममा बालक बनेर सोच्न छोडिदिन्छौँ । यो कविता सङ्ग्रह बालक बनेर सोचिएको संसार हो। त्यसैले पनि यो सङ्ग्रह प्रत्येक प्रौढहरुले पढ्नु पर्ने हुन्छ जस्तो लाग्छ।
***
प्रतिक्रिया
-
४
