– शिव पलाँस

जाओ न भन्दा पनि
पटक्कै उठेर नजाने सम्झनाहरु छन्
आओ न भन्दा पनि
फर्केर कहिल्यै नआउने गरि गएका प्रियजनहरु छन्

फेरि शोक बारेर मात्रै पनि भएको छैन
उत्खनन गर्न निस्किनु छ खरानीको पहाड
निकाल्नु छ पुरिएको भुङ्ग्रो
सल्काउनु छ चिसो अगेनोमा आगो
सेक्नु छ बचेखुचेको खुशी
उमाल्नु छ कलिला कोपिलाहरुको निम्ति जाउलो
तताउनु छ बुढा घाम जूनको निम्ति पानी
जोहो गर्नु छ काला रातहरु विरुद्ध टुकी

उतारेर
भग्न स्कुलको उदास घन्टी
झुन्ड्याउनु छ नवनिर्मित भवनमा
रोप्नु छ अक्षर, शब्द र वाक्यहरु
साना नानीहरुका ओठमा
फूलाउनु छ गुराँस जस्तै भविष्य हात हातमा

बालुवा सुकेका मरुभूमी खेतहरुमा
छर्नु छ किसानी पसिनाको बिउ
फलाउनु छ मकैका हरिया घोँगा
झुलाउनु छ जेठोबुढोका पहेंला बाला

गाउँ र गाउँ जोड्ने पुल बगेर गए पनि
शहर र शहर जोड्ने पुल भत्किएर गए पनि
बाँकी नै छन्
मन संग मन जोड्ने पुलहरु
मुटु संग मुटु जोड्ने पुलहरु
श्रीसम्पत्ति सकिएर रित्ता भएका हातहरु संग
भरिएका हातहरु जोड्ने
संसारभरिका उदार हृदयहरु

कोर्नु छ नयाँ घरको नक्सा
कोर्नु छ नयाँ शहरको नक्सा
हिड्नु छ प्रकृतिकै लयमा लय मिलाएर
हिड्नु छ प्रकृतिकै तालमा ताल मिलाएर
उठ्नु छ
हिलो पखाल्नु छ
र फेरि पनि यात्रा अगाडि बढाउनु छ

स्वीकारेर
जित्नै नसकिने प्रकृति–मानव लडाइँ
संयम संगालेर उठ्नु छ
टुक्रा टुक्रा जोडिएर जुट्नु छ
दीर्घदर्शी भएर
रुपान्तरण गर्नु छ आफूले आफैलाई

पुर्पुरोमा हात राखेर बस्ने फूर्सद छैन
हत्केलाले चिउँडो अड्याएर बस्ने फूर्सद छैन
अब रोएर, झोक्राएर मात्रै पनि भएन
म जान्छु है
मलाई भविष्य खोज्न निस्किनु छ।

प्रतिक्रिया

सम्बन्धित खवर