-अनिता कोइराला
तपाईंसँग निकै रिस उठेको छ, दिदी। राम्रो गर्नुभएन। कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नुभएको त होइन उमेशको? तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन? एक वचन सोध्न पनि उचित ठान्नुभएन मलाई। अठोट लगाएर कुरा नै छिनिसक्दा पनि थाहासम्म भएन। त्यही सहरमा त थिएँ। कि मलाई बोलाउँदा बिहे भाँड्छे जस्तो लाग्यो? बिहेजस्तो कुरामा पनि किन हतार गरेको?
बहिनीका कुरा सुनेर मेरो सातो गयो। हतारिँदै सोधें, ‘किन र नानी? केटीलाई तैंले चिनेकी छस् र? कस्ती छ केटी? कस्तो छ घरपरिवार?’
रिसाएर आगो ओकल्दै थिई बहिनी। त्यो आगोको झिल्कोले कोसौँ टाढा छटपटाइरहेकी मलाई पनि डढाउँदै थियो।
‘के कुरा गर्नु दिदी, तिम्रा दुःखका दिन सुरु भए। घोडाका जस्ता अल्खा काटेर अगाडि झारेका कपाल, त्यो पनि रातो। कालो चस्मा लगाएर सिनेमामा खेल्ने हिरोइनको जस्तो ढाँचा। विभिन्न रङका छोटा लुगा, पाइन्ट र भेस्ट लगाएर हिँड्ने केटीले दुःख बुझेर तिमीलाई खुब माया गर्ली? के गर्नु, उमेश मान्दैन होला अब, नत्र त अठोट तोडे पनि हुन्थ्यो त्यो परिवारमा त। राम्री मात्र भएर हुन्छ र? त्यसको रूप लपलप चाट्न मिल्दैन, हामीलाई चाहिएको त संस्कार र व्यवहार हो। हेर्दै कहीँ नभएकी घमण्डी जस्ती। बोलेको त छैन, तर त्यस्ताको बानी के राम्रो होला? जतिखेर पनि साइकल हाँकेर बजार–बजार दगुरेको देख्छु। क्याम्पसबाट आउँदा–जाँदा नेता जसरी हात हल्लाएर बोलिरहेकी हुन्छे। हाँसी भने त अझ टोलै थर्किन्छ। देहातमा आएर तपाईंहरूको सेवा गरेर एक दिन पनि बस्छे जस्तो लाग्दैन मलाई त। सहरमा हुर्केकी, दुःख नगरेकी केटी। खोई के भनौँ? मलाई त डर लागेको छ, उमेशले दुःख पाउँछ कि?’
छाँगाबाट खसेजस्तै भएँ। हात–गोडा चिसा भए। मुटु एकतमासले काम्न थाल्यो। तर पनि हिम्मत जुटाएर बोलें, ‘कत्रो दुःखले जन्माएँ, हुर्काएँ, पढाएँ। आज लाठे भएर बिहे गर्ने बेलामा एक वचन सोध्न पनि त आएन नानी। नपढेकी भए पनि आमा पो हुँ त। दुःख गरेर छोरा पढाएकै थिएँ।
कम्ता रहर थिएन जेठो छोराको बिहे गर्ने। कति सपना बुनेकी थिएँ—छोराको बिहेमा यो गरौँला, त्यो गरौँला। भएजति आफन्त बोलाएर रत्यौली खेलौँला। आफूसँग दस लाल सुन नभए पनि दस तोला सुन लिएर दुलही भित्र्याउँला भन्ने कम्ता रहर थिएन। बढेको छोरा, त्यो पनि बुद्धिमान् अनि हर्ताकर्ता हजुरआमा सँगै भएपछि म त कहाँ हराएँछु, पत्तै पाएनन्। सासूको निर्णयमा के बोलूँ? मेरो भाग्यमा जे लेखेको छ, त्यही भोग्ने हो। आखिर मेरा लागि बिहे गरेको पनि त होइन।
छोराले आफ्नै लागि बिहे गरेको हो, विचार गरेकै होला। यो गाउँमा आएर बुहारी बस्ने पनि होइन। वर्षमा धेरै आए एक–दुई पटक त आउलान्। आएका बेलामा एक मुठ्ठी भात पस्केर मै खान दिउँला। धेरै आश गरेर बसे पो दुःख हुन्छ। जे हुनु भयो, भयो। अब मेरो मन भुस भएको बेला त्यहाँबाट आगो नझोस्। बरु खुरुक्क भोलि नै आइज, लु, राखें अहिले।’
म्यासेन्जरबाट बहिनीसँग लामो कुराकानी भयो। छोराले अठोट लगाएर आएदेखि मेरो मन खरानी भएको थियो। आँसु जमेर असिना बन्दै थियो। जहाँ एकान्त पायो, त्यहीँ दुःखका असिनाहरूसँग गट्टा खेलेर अँध्यारो भविष्यको भुईँकुहिरोमा हराउँदै थिएँ।
कति तीव्र गतिमा बढ्दो रहेछ नकारात्मक कुराको प्रभाव! यसरी मन भुटभुटिने थिएन, यदि बहिनीले राम्रा कुरा गरेकी भए। नकारात्मकताको गुरुत्वाकर्षणले कति सजिलै मनलाई तानेर अँध्यारो भुमरीमा जाक्दो रहेछ।
मस्तिष्कको मदानीले बहिनीका कुराहरू मथेर घार्रघुर्र पार्दै थियो। मनमा चिन्ताको पहिरो खसेर उठिबास नै लगाएर उखपात थियो। म कुहिरोको काग हुँदै थिएँ। साँच्चै, छोरीकी आमालाई भन्दा बढी चिन्ता त छोराकी आमालाई पो हुने रहेछ! कस्ती बुहारी आउली? बुहारीको चालढाल कस्तो होला? परिवारमा बुहारी भित्रिएपछि घरको वातावरण कस्तो होला? यस्तै–यस्तै तर्कनाहरूको रोटेपिङमा रातदिन रुमल्लिएर ज्यान सुक्दै थियो। सोच्दिनँ भन्दा पनि यस्ता प्रश्नले डस्न छोडेका थिएनन्। रानो हराएको मौरीझैँ भएकी थिएँ आफ्नै घारमा।
निम्तो बाँडियो। परपाहुना ओहोरदोहोर गर्न थाले। घर–आँगन लिपपोत गरियो। सरसफाइको म्याराथन नै भयो। बिहान–बेलुका घरमा थरिथरिका खाना पाक्दा पनि मेरो पेट खैंजडी नै हुन्थ्यो। हाँसो र खुसीले घर त के, टोलै थर्किएको थियो। न्याउली भएको मनलाई खुसीले पनि पोल्दो रहेछ। सुमधुर सङ्गीतले पनि घाँटी न्याक्न आउँदो रहेछ। अरू हाँसेको देख्दा पनि कतिखेर भाउन्न हुन्थ्यो। सबै दङ्गदास भएको देखेर सम्हालिँदै भुतुक्क भएर ओठसम्म हाँसो ल्याउने भागीरथ प्रयास हजारौँ पटक नगरेको होइन।
आफ्नो रगत न हो, मेरो मन उडेको उमेशले चाल पाएछ। जन्ती जाने अघिल्लो रात मेरो काखमा टाउको राख्दै बार्दलीको खटियामा पुर्लुक्क ढल्किँदै भन्यो—
‘आमा, किन उदास देख्छु तपाईंलाई? मेरो बिहेमा तपाईंको खुसी किन हरायो? तपाईंले भनेजसरी नै बिहे गर्न लागें त।
दस तोला सुन नभए पनि दुई–चार तोला जोडेकै छु। लुगाफाटो रक्सौलबाट ल्याएको छ। भोजभतेरको तयारी पनि टुङ्गो लाग्यो। चेलीबेटी, ज्वाइँ, भान्जाभान्जी सबैलाई बिदौरी पनि ठिक्क पारेकै छु। तपाईंको मनमा अरू केही भए भन्नुस्। होइन भने यसरी गुम्सिएर नबस्नुहोस्। भन्नु त, किन मन अमिलो पारेको?
अठोट लाउँदा हजुरआमा, दिदी, काका र बाबासँगै हुनुहुन्थ्यो। छुट्टी मिलाउन गाह्रो भएर चाँडै निर्णय गर्नुपरेको हो। तपाईंको अपमान गरेको कदापि होइन, आमा। त्यही पनि मेरो कारणले तपाईंको चित्त दुखेको छ भने मलाई माफ गरिदिनुहोस्।’
दुवै गोडा च्याप्प समातेर उमेशले मलाई ढोग्यो। आमाको मन न हो, एकैछिनमा पग्लेर पानी भएको हृदयले मनमा जमेको फोहोर सुलुत्तै बगाएको पत्तै भएन।
बहिनीले सल्काएको शङ्काको झिल्को अझ भर्भराउँदो थियो। उमेशलाई भनूँ कि नभनूँ, दोधारमा थिएँ। विचरा, आफैँ अभिभावक भएर परिवारको सम्पूर्ण दायित्व निर्वाह गर्दै आएको वर्षौँ भयो। जिम्मेवारीको बोझले बाल्यकाललाई थिलथिलो पारेर बालअधिकारका कुराहरू पाताल लोकमा विलुप्त भएको बबुरो केटो। अनगिन्ती दुःखका पहाड उक्लिएर बल्लतल्ल सुखको देउरालीमा टुसुक्क बसेर सन्तोषको श्वास फेर्न खोज्दैछ। आ, यस्ता नचाहिँदा कुरा सुनाउँदिनँ।
जिम्मेवारीले लखेट्दा–लखेट्दै, सङ्घर्षको भुमरीमा हाँस्न बिर्सिएको मेरो मुटुको टुक्रा, आनन्द र शान्तिको जमिन भेट्न नसकेर सुकुम्बासी भएको कठैवरा, मेरो बाबु बल्लतल्ल प्रेमको भूमि टेक्न लाग्दैछ। त्यो पनि भत्काइदिऊँ आमा भएर? यस्ता बेतुकका शङ्का र चिन्ताले छोराको खुसी कदापि खोस्न सक्दिनँ।
बिहेमा रमाइलो गर्न आएकाहरूको के कुरा सुन्नु? सबैका कुरा सुन्ने हो, निर्णय त आफ्नो लिने हो। म लाटी, जताजता हावा चल्छ उतैउतै बहन्छु। उमेरको पनि हेक्का राख्दिनँ।
‘शङ्काले लङ्का डडाउँछ’ भन्छन्। दुलहीका लागि जति डराएकी छु, त्यति आफ्ना सोच र व्यवहारलाई नियाल्न समय खर्च गरेकी छु त? कति तनाव लिनु? अब मैले सकारात्मक तरिकाले सोच्नैपर्छ।
आफ्नै मनोवादको मैदानमा कबड्डी खेल्दै दह्रो मुठ्ठी कसें।
‘आमा, फेरि कुन दुनियाँमा हराउनुभयो? यसरी नटोलाउनुस् त।’
उमेशले घच्घच्याउँदा पो झसङ्ग हुँदै प्वाक्क बोल्न पुगें। मनमा खेलेको कुरा कसैगरी बाहिर आइहाल्यो—
‘बाबु, केटी व्यावहारिक छ त? ठूला घरकी छोरी, हाम्रो घरलाई हृदयबाट अपनाउली त? मनमा अलि डर लागेर राति निद्रा लागेको थिएन, त्यसैले अलि थाकेकी छु। टोलाएको होइन बाबु, चिन्ता पनि केही छैन।’
‘आमा, तपाईं अरूका कुरा धेरै नसुन्नुस् है। हजार थरिका मान्छेहरूले हजार थरिका कुरा गर्छन्। तपाईं राम्रो सोच्नुस्, सबै राम्रो हुन्छ। तपाईं सासू मात्र भएर नसोच्नुस्, आमा भएर पनि सोच्नुस्। तपाईं छोरीलाई जस्तो माया, इज्जत र क्षमा बुहारीलाई दिन सक्नुहुन्छ?
पहिले तपाईं आफ्नो विचारलाई विवेकको आँगनमा राम्रोसँग निफनेर केलाउनुस् अनि सकारात्मक सोचेर सकारात्मक काम गर्न थाल्नुस्, नतिजा सकारात्मक नै हात लाग्छ। मलाई सबै कुरा थाहा छ। तपाईंको मनमा कस्ता विचारका ज्वारभाटा उठेका होलान्, त्यो म बुझ्छु।
अब चिन्ता नगर्नुस् आमा, तपाईंको छोरा जिउँदो छ। मलाई विश्वास गर्नुस्। छोडिदिनुस् सबै चिन्ता, म मिलाउँछु। तपाईं खुसी भएर हाँस्नुस् मात्र। अरूले कान भरेको भरमा आफ्नो रगत नसुकाउनुस्।’
उमेशको कुराले खडेरी भएर चिराचिरा भएको मनलाई थोरै भए पनि शीतलता प्रदान गर्यो।
बरियाँती जाने दिन बिहान मान्छेहरू आँगनमा जम्मा हुन थाले। पञ्चेबाजा बजिरहेका थिए। अझ पनि बहिनीको अनुहार चुक खाएजस्तै थियो। बेहुलो अन्माउने बेला दही खुवाउन बहिनीलाई पनि बोलाए। दूबोको माला लगाउँदा त मेरो उमेश राजकुमारजस्तै देखियो। किनकिन छोरो अन्माउने बेला आँखा रसिला भएछन्। नाच्दै–गाउँदै जन्तीहरू गए।
ओसराको खटियामा बसेर ढुङ्गेल्नी बज्यै नाकका पोरा फुलाउँदै आँखाबाट तुरुक्क आँसु झारेर बोल्न थालिन्—
‘उमेशकी आमा, आजसम्म छोरो तिम्रो मात्र थियो, आजबाट तिमीले पनि छोरो जिम्मा लगायौ है कुटुम्बलाई।’
‘काकी, किन त्यसो भनेको? बुहारी पो ल्याउन आँटेको त। अनि छोरो कसरी कुटुम्बको भयो? बुहारीले पो हाम्रो गोत्र, थर स्वीकार गरेर हाम्रो घरको सदस्य हुन आउँछे, छोरो पनि कतै पराई हुन्छ?’
‘बाबै, भर्खर छोरो अन्माएकी छस्। बिस्तारै थाहा होला। यो सेतो कपाल घाममा सुकेर पाकेको होइन। आजको रात त काट्न दे, थाहा पाउँछेस् भोलि बिहानदेखि छोराको चालढाल।
छोरो पाए बुहारीलाई, छोरी पाए ज्वाइँलाई। तेरा दुःख तैंसँग। बाबै, मुटु बलियो बना। छोरा पाउनेको चित्त झिँगाको पित्तजत्रो हुनुहुँदैन। अब बुहारीले उठ भन्दा उठ्छ, बस भन्दा बस्छ छोरो।’
सबै गलल्ल हाँसे। हिजोभर्खर उमेशले आली लगाएर टालेको मनमा पुनः ढुङ्गेल्नी बज्यैको कुराले भड्खालो गयो।
रत्यौली खेल्न आएका आइमाईहरूको उपद्रो हेरिसक्नु थिएन। तिलचामल भएका कपालहरू पनि छिल्लिएर उन्मुक्त भएका थिए। मलाई पनि गर्न हुने–नहुने जम्मै लीला गर्न लगाए। चिन्ताले पिना भएको मुटु लिएर म पनि गोडामा जीवनजल छर्किँदै नाचें।
‘बेहुली ल्याए, बेहुली ल्याए, ऊ बाजा घन्कियो।’
बुधुनी कराउँदै डगरतिर बत्तिई। मुटुमा एक्कासि हिउँ पर्न थाल्यो, धड्कन चिसिँदै थियो। झिँझाका डाँकाहरू अचानक बन्दुक तेर्साएर मूल ढोकामा उभिएजस्तो ऐँठन छातीमा भएर ओसराको खटियामा थचक्क बसें। मेरा हातगोडा शिथिल भएर लत्र्याकलुत्रुक भए।
उता, बेहुली भित्र्याउने चाँजोपाँजो गर्दै बुधुनीले धानका थुप्रोमा माटाका दियोहरू झलल्ल बालेकी थिई। चुल्ठो जोड्ने सरसामान ठिक्क पारी। मुख हेर्ने ठाउँ मिलाएर चिटिक्क पारेकी थिई। शङ्काको सुनामीले उठाउने र पछार्ने गर्दैगर्दा शान्तिलाई अँध्यारो सुरुङमा थचार्दै लगेर थिलथिलो पारेको थियो।
ठूलै साहस गरेर चुल्ठो जोड्दा पुलुक्क दुलहीको मुहार हेरें।
अहो! कस्तो निर्दोष अनुहार! दुरुस्त मेरी करुणाको जस्तै। अचानक स्मृतिमा करुणाको सम्झना ताजा भएर ह्वारह्वार्ती आउन थाल्यो। करुणाको आवाज कानमा गुञ्जियो—‘आमा, कति चिन्ता गर्नुहुन्थ्यो। लु, अब म आएँ। अबदेखि कहिल्यै नरुनू।’
मेरा आँखा दुलहीको अनुहारमा टपक्क टाँसिँदै गए। हृदय प्रेम र वात्सल्यले भरिएर लभालभ भयो। धेरै वर्षअघि खसेकी मेरी छोरीको दुरुस्त रूप घुम्टोबाट चियाएर मलाई हेर्दै मुस्कुराएको जस्तो लाग्यो। अचानक आँखामा समुद्र मडारियो, मन भरिएर आयो। वर्षौँदेखि हराएका जम्मै खुसीहरू फर्किएजस्तो भयो।
‘आमा, ढोग गरें’ भन्दा पो झसङ्ग भएँ।
मेरो मनमा आएको भुईँचालो रोकिनेवाला थिएन। भावना पोख्नुमै आनन्द मानेर उषालाई अँगालो मार्दै निधार र गालामा च्वाप्प म्वाइँ खाएर भनें—
‘तिमी मेरी करुणा हौ।’
उषाको स्पर्श नौलो थिएन। करुणालाई छोएको आभास भयो। अँगालो हालेर रोएँ। जड भएर उषाले हेरिरहिन्। त्यो हेराइमा प्रेम, माया, श्रद्धा र विश्वास छताछुल्ल देखें। धक मान्दै रुन खोजेका ओठहरूमा अपनत्व थियो। अल्खा झरेका केसरी केशमा संस्कार झुलेको थियो। उषाले मेरा हात च्याप्प समातेर चुम्दै छोरीले गर्ने स्नेह देखाइन्।
मलाई नरुन भन्ने सङ्केतमा मेरा आँखाबाट झरेका आँसु रोक्न खोजिन्। घाँटीमा कुँदेको ट्याटुमा बुद्धको प्रतिछायाले शान्ति छर्दै थियो। बहिनीले भनेझैँ उषामा अहङ्कार र छाडापन कतै थिएन। उषाका चालमा कुनै घमण्ड थिएन। भर्खरै भित्रिएकी दुलहीका पैतालाहरू चिरपरिचित लाग्दै गए।
शङ्काका तमाम पर्दा झिकी हुत्याएर भनें—
‘उषा, तिमी मेरी बुहारी होइनौ, मेरी छोरी हौ, मेरी करुणा हौ।’
समाज र सम्बन्धहरूले ढाडेका जस्ता आँखाले हामीलाई नियालिरहेका थिए। हिजो त कैकेयीलाई एक मन्थराले मतिभ्रष्ट पारिदिएकी थिई भने आज त यत्रतत्र मन्थराहरूको झुन्ड डुलिरहन्छ र सकारात्मक सोचलाई सर्लक्क निलेर विषादको मौसम चौबीसै घण्टा मडारिरहन्छ।
म सचेत हुनैपर्छ।
****
प्रतिक्रिया
-
४
