– योगी नारायणनाथ
सूर्यको पहिलो किरण बगरमा पोखिँदा, हिलोले पुरिएका दुईवटा शवहरू आमनेसामने थिए—एउटा चाउरिएको छाला भएको वृद्धको, अर्को तन्नेरी युवतीको। नदीको उर्लिंदो आवाज मद्धिम भइसकेको थियो, तर त्यो मरुभूमीतुल्य किनारमा एउटा निस्तब्ध, अशरीरी संवाद सल्किरहेको थियो।
“तिमीले पनि मलाई चिनेनौ, होइन?” युवतीको निष्प्राण ओठबाट मानौँ एउटा शून्यता गुञ्जियो। उसको आधा उघ्रिएको आँखामा नदीको धमिलो पानी अझै जमेको थियो।
वृद्धको शव शान्त थियो। उसले युवतीको अनुहारमा कोरिएका रेखा र भिजेका कपाललाई नियाल्यो, “मेरो आँखामा त जीवनभर हिलो मात्र पर्यो नानी। तर यो बाढीले तँ र मलाई एउटै बगरमा ल्याएर पछार्दा पनि तेरो स्वरमा अर्कै ऐंठन छ।”
“ऐंठन?” युवतीका ओठहरू अभौतिक रूपमा काँपे, “रातभरि मलाई भेलले लछारेर ल्याउँदा लाग्थ्यो, प्रकृतिको लीला हो। तर जब पानी घट्यो, मैले चाल पाएँ—यो मेरो खुट्टामा बाँधिएको गहु्रङ्गो ढुङ्गा नदीले ल्याएको होइन रहेछ। यो त…”
वृद्ध अलिकति हलचल गरेझैँ भयो। उसको छातीमा एउटा पुरानो, खिया लागेको साँचो अझै झुण्डिरहेको थियो। “ढुङ्गा त मान्छेले बाँध्छन् नानी,” वृद्धले गहिरो सुस्केरा हाल्यो, “बाढी त केवल बहाना हो। मान्छेले आफ्ना अपराधहरू पखाल्न सधैँ नदीलाई नै धमिल्याउने गर्छन्।”
“हो बा,” युवतीको ओठमा एउटा चिसो, रहस्यमयी मुस्कान छायो, “तपाईंको घरको जग खन्दा मलाई जसरी जिउँदै गाडिएको थियो, आज त्यही घर भत्किँदा म बाहिर निस्किएँ। तर अचम्म… मलाई गाड्ने हातमा जुनसुकै साँचो भए पनि, त्यो साँचो त अहिले तपाईंको छातीमै झुण्डिएको छ।”
सन्नाटा यति गहिरो भयो कि बगरको हावा पनि अडियो।
वृद्धको आँखा एक्कासि पुरै उघृयो—जसमा कुनै पश्चात्ताप थिएन, केवल एउटा भयानक, गहिरो सत्यको स्वीकारोक्ति थियो।
दिउँसो उद्धारकर्ताहरू पुगे। उनीहरूले युवतीको खुट्टामा बाँधिएको ढुङ्गा र वृद्धको छातीको साँचो देखेर आपसमा खासखुस गरे। तर कसैले बुझ्न सकेनन्—बाढीले गाउँ बगाएर ल्याएको थियो कि वर्षौँदेखि माटोमुनि थिचिएको एउटा अमानवीय रहस्यलाई किनारमा उल्टी गरिदिएको थियो?
***
प्रतिक्रिया
-
४
