– अंकिता कोइराला
प्रकृतिको प्रचण्ड प्रहारले धर्तीको वक्ष विदीर्ण भएको छ,
उर्लंदो जलवेगसँगै कति जीवनदीप निभिएको छ।
विनाशको विकराल छायाले बस्ती–बस्ती निस्तब्ध पारेको छ,
वियोगको वज्राघातले जनमन अश्रुधारामा डुबाएको छ।
उजाड प्राङ्गणभरि स्मृतिका पदचिह्न अंकित छन्,
ध्वस्त गृहभित्र अधुरा अभिलाषाका अवशेष छन्।
प्रियजनको प्रतीक्षामा दृष्टिहरू क्षितिजतिर अडिएका छन्,
निष्ठुर नियतिको सम्मुख निरीह प्राणहरू थरथराएका छन्।
भेल थामिएला, सरिता पुनः आफ्नै तट चुम्न फर्केला,
तर विस्थापित चेतनाले कुन धर्तीमा आश्रय भेट्ला?
आश्रयविहीन बालकले कुन काखमा वात्सल्य पाउला,
हराएको आत्मीयताको सन्देश कहिले आँगनमा आइपुग्ला?
दैवले कस्तो दारुण अध्याय भाग्यपत्रमा कोर्यो,
कसैको अन्न, कसैको छानो, कसैको संसार हरो।
तैपनि अन्धतमस् चिरेर विवेकको प्रभात उदाओस्,
सहानुभूतिको सुधाधाराले विदीर्ण अन्तरमा शान्ति छाओस्।
सहयोगका असंख्य हस्तहरू पीडित बस्तीतर्फ बढून्,
मानवीय ममताका स्पर्शले निष्प्रभ आशाहरू जागून्।
अवसादका बादल पन्छिऊन्, नवयुगको अरुणिमा छाओस्,
छिन्नभिन्न वर्तमानभित्र पुनर्निर्माणको संकल्प पलाओस्।
रित्तिएका काखमा पुनर्मिलनको मधुर राग गुञ्जियोस्,
शोकमग्न चेतनामा साहसको अमर ज्योति बलियोस्।
हराएका प्रत्येक प्राण सकुशल आफ्नै आँगन फर्किऊन्,
मानवताको उज्ज्वल विजयले विपत्तिमाथि अमिट इतिहास लेखोस्।
***
प्रतिक्रिया
-
४
