– पलपल समीप
के को प्यास हो,
यतिविधि उखरमाउलो हुनुपर्ने?
एकै सासमा सोस्छौ झैँ
नदी,ताल र समुद्रहरु ,
तैपनि किन मेटिँदैन
तिम्रो तिर्खा ?
घुम्दा घुम्दा थकित भएर
पङ्खाले पनि ओकलिरहेछ
शुष्क वायु ।
न पानीले ,न छायाँले
केहीले पनि बुझाउन सकेका छैनन्
यी तिर्खाहरु ।
हावाले बोकिल्याएको ‘लु’
मिसिएको छ सासभित्र र
फैलिएको छ देहभरी आगो बनेर ।
तिमीले रोप्न खोजेको के हो धरतीमा
आगो
कि
अहंकार?
उज्यालो हुनु र जलाउनु
फरक हुन् भन्ने
भुल्यौ र तिमीले ?
लाग्दैछ तिम्रो तापको बिजारोपणले
भविष्यमा
रसाउनेछन् लाभाका पधेँराहरु,
उम्रिनेछन् अग्निवृक्ष,
र फुल्नेछन्आगोका फूलहरु ।
टिपेर आगोका फूलहरु
कसरी राख्नु प्रियसीलाई
शितल प्रेमको प्रस्ताव?
तिम्रो आक्रोश अझै
नरोक्किने हो भने
लाग्दैछ,
म त चरु हुँ,
यज्ञमा होमिरहेको
आफ्नै देहबाट उठेको धुवाँ हेर्दै
म चुपचाप सहिरहेछु
यो अग्निकुण्ड
अब भन्न
मात्र बाँकी छ
स्वाहा!
***
प्रतिक्रिया
-
४
