– अनामिका सजल
१,
स्विकार्ने या नकार्ने हक छ मात्रै तिमीलाई
यौवनको घुम्टो उघार्ने हक छ मात्रै तिमीलाई
कति हेर्छौ टाढैबाट म आतुर छु अंगालिन
प्रेमी हौ लाली बिगार्ने हक छ मात्रै तिमीलाई
घरी फूलको विस्तारामा घरि बादलभन्दा माथि
उचाल्ने अनि पछार्ने हक छ मात्रै तिमीलाई
गल्ती गर्छु झुक्दिनँ भोगेकै छौ मेरो जिद्दी
आफ्नै सम्झेर झपार्ने हक छ मात्रै तिमीलाई
म त भुइँको धुलो न हुँ भुइँमै छोडे पनि छोड
मेरो अस्तित्व निखार्ने हक छ मात्रै तिमीलाई !!
२,
समाएर सँगै राखुँ यो प्रीत वसन्तको
दोहोरियोस् हर ऋतुमा रित वसन्तको
फुलिरहुँ चलाएर ऋतु राग वरिपरि ,
खसोस् त्यही फूलमाथि शीत वसन्तको
छमछमाउन् पाईलाहरु लय समातेर ,
गुञ्जाईरहोस् ढुकढुकीले गीत वसन्तको
सुम्सुमाउँदै कोरिदेओस् केश समिरले,
ताजै रहोस् स्मृतिमा अतीत वसन्तको
बग्दा बग्दै खोलीबाट अलग्गिनु परे पनि ,
चुम्दै मेटोस् किनारले धीत वसन्तको
आउ सँगै बसौँ , साटौ मनका भावहरु
पल्टिएर छहारीमा आह्लादित वसन्तको ।।
प्रतिक्रिया
-
४
