गुल्मीमा जन्मिएका विजय हितान रुपन्देहीमा हुर्किएर बेलायतमा बसोबास गर्छन् । उनी सेवा निर्वित्त ब्रिटिस गोर्खाज हुन भने हाल एनभायरोमेन्ट एजेन्सी, इङलेन्डमा कार्यरत छन् । कविता,कथा, निबन्ध र नाटक गरेक एक दर्जन जति साहित्यिक कृति प्रकाशनमा ल्याइसकेका हितान पर्या साहित्यका अभियन्ता पनि हुन् । युद्ध साहित्यमा पनि अभियन्ताको रूपमा काम गरिरहेका हितानले ‘लाहुरेको रेलिमाई’ उपन्यास सङ्ग्रह लिएर नेपाली साहित्य बाटिकमा फुलेका छन् । यसै उपन्याससँग सम्बन्धित रहेर सेतोमाटोका सहकर्मी जनक कार्कीले साहित्यकार विजय हितानसँग गरेको कुराकानी प्रस्तुत छ ।

‘लाहुरेको रेलिमाई’ उपन्यास यहाँको पछिल्लो साहित्यिक कृति हो, जसको केही हप्ताअघि मात्र विमर्श कार्यक्रम भइसकेको छ । युद्ध साहित्यअन्तर्गतको उपन्यास भनेर प्रचारप्रसार गरेको भेटेँ । यहाँले गएको वर्ष युद्ध साहित्य अभियानमा अभियन्ताको भूमिका निभाइसक्नुभएको छ । खासमा युद्ध साहित्य भनेको के हो ? र, यस उपन्यासमा युद्धका कस्ता क्षेत्रहरूलाई समेटिएको छ ?

युद्ध साहित्य नवीन विषय त होइन तर नेपाली साहित्यमा कमै लेखिने साहित्य चाहिँ हो । युद्ध साहित्यलाई परिभाषित गर्नुअघि युद्धका तीन काल हुन्छन् भनी बुझ्न जरुरी छ । युद्ध गर्नका लागि योजना तर्जुमा गर्नु र युद्ध अभ्यासको काल । अनि शत्रु वा विपक्षसँग युद्ध लड्दै गरेको काल । र, युद्धको अन्त्यपछि सैनिक, परिवार, समाज र देश गुज्रेर जाने काल । यसरी यी तिनै कालमा बन्दुक, ब्यारेक, सैनिक, रगत, पसिना, घायलपन, मृत्यु, आवेग र संवेदनासँग जोडिएका घटनालाई केन्द्र बनाएर लेखिने साहित्यलाई युद्ध साहित्य मान्न सकिन्छ । यस उपन्यासमा विशेषतः युद्धरत र युद्धपश्चातको परिवेश र घटनालाई चित्रण गरेको छु ।

मास्टर मित्रसेनको लाहुरे र गैरलाहुरे जीवनी यस उपन्यासमा समेटिएको छ । के यो आत्मकथीय उपन्यास हो ?

हो, यो मास्टर मित्रसेनको आत्मकथीय उपन्यास हो । यसलाई डायरीको रुपमा प्रस्तुत गरेको छु । उनी १/१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगियो । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली सङ्गीत, साहित्य र समाजसेवामा बाँकी जिन्दगी समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । त्यसर्थ यो मास्टर मित्रसेनको जीवनमा आधारित एक ऐतिहासिक युद्ध उपन्यास हो ।

मास्टर मित्रसेनको व्यक्तित्वलाई छोटकरीमा कसरी व्याख्या गर्नुहुन्छ ?

मित्रसेन सर्वप्रथम त एक कर्मठ लाहुरे हुन् । अनि पछिमात्र बहुप्रतिभाका धनी एक अब्बल गायक, सङ्गीतकार, नाटककार हुन् । तत्कालीन गोर्खा लाहुरे समुदायमा मौलाएको विकृति हटाउनका खातिर भएको नोकरी र सुविधा सम्पन्न जीवनलाई तिरस्कार गरेर आफ्नो स्वासको अन्तिम घडीसम्म समाजसेवामा समर्पित व्यक्ति पनि हुन् । नेपाली भाषा तथा भेषभुषालाई भारतीय नेपालीचि प्रबर्धन गर्ने एक दूत थिए उनी । उर्दू र हिन्दी गीतको बाहुल्यता रहेको नेपाली समाजमा झ्याउरे भाकाका गीत गाएर नेपाली लोकसङ्गीतका प्रचारक पनि मानिन्छन् मित्रसेन । त्यसैले उनलाई ‘किङ अफ झ्याउरे’ उपनामले पनि सम्बोधन गरिन्छ । उनी मेहनती, त्यागी, निस्वार्थी र उत्साहित स्वभावका थिए ।

मास्टर मित्रसेन लाहुरे मात्र होइनन्, साहित्यकार, नाटककार, सङ्गीतकार र समाजसेवी पनि थिए । उनको लाहुरे र गैरलाहुरे जीवनको भोगाइबाट केकस्तो जीवन दर्शन लिन सकिन्छ ?

४ वर्ष त उनी युद्धमा सामेल भएर दुस्मनको तोपबारुदसँग लडे । कसैको नुन खाएपछि नुनको सोझो गरेर निस्वार्थ भावनाले सेवा गर्नुपर्छ र काल नआउँदासम्म मानिसको चोला अन्त्य हुन्न भन्ने कुरा उनको लाहुरे जीवनबाट बुझ्न सकिन्छ ।

मानिसको चोला लिएर यस धर्तीमा जन्म लिएपछि सत्कर्म गर्नुपर्छ । यसो गरेर छोडे सन्ततिले ढिलो चाँडो कुनै दिन सम्झने छन् भन्ने कुराको पनि उनको निरन्तरको सङ्घर्ष र योगदानले पुष्ठि गर्छ । साथै लाहुरेमा प्रस्तुत गर्नुपर्ने अथाह विषयवस्तु हुन्छन् सर्वसाधारणका भन्दा र तिनलाई साहित्य र सङ्गीतको मार्फत पस्किन सके समुदाय लाभान्तित हुन्छ र आफू अमर भइन्छ भन्ने दर्शन उनको जीवनीले प्रष्ट पारेको देखिन्छ ।

‘लाहुरेको रेलिमाई’ उपन्यास लेख्छु भन्ने विचार कसरी पलायो ? र, एउटा ऐतिहासिक व्यक्तित्वमाथि उपन्यास लेख्न के कस्ता खोज अनुसन्धानको यात्रा रह्यो ?

सन् २०१५ मा गोर्खालीले बेलायती सेनामा सेवा गरेको दुई सत्वार्षिकी भव्य कार्यक्रमहरुको आयोजना गरेर मनाइएको थियो । त्यो दिनदेखि नै मैले लाहुरेको रेलिमाई गर्वमा बोकेर हिँड्न सुरु गरेको थिएँ । त्यति बेलासम्म म मास्टर मित्रसेन थापामगर प्रतिष्ठान काठमाडौँसँग सहकार्य गर्दै मित्रसेनको जन्म दिवस मनाउँदै बेलायतमा उनलाई चिनाउने र उनका गीतसङ्गीत दर्शक स्रोतामाझ पुर्याउने अभियानमा लागेको थिएँ । उपन्यास लेख्छु भनेर सोचेपछि मैले ६ वर्षसम्म अध्ययन, अनुसन्धान, भ्रमण र लेखनमा खर्चें । बेलायत, बेल्जियम र फ्रान्समा रहेका युद्ध स्मारक, युद्ध सङ्ग्रहालयहरु र मास्टर मित्रसेनको जन्मथलो भाग्सु धर्मशाला भ्रमण गरेँ ।

दर्जनौँ बेलायती र नेपाली लेखकले लेखेका गोर्खाली र पहिलो विश्वयुद्धका पुस्तकहरू पढेँ । यतिबेला सबैभन्दा सम्झनै पर्ने पुस्तक हुन्, ‘इन्डियन कोर इन वेस्टर्न फ्रन्ट’, र ‘द क्याम्पेन इन मेसोपोटामिया’ । त्यसपछि मास्टर मित्रसेनसम्बन्धी लेखिएका पुस्तकहरु खोजी खोजी पढेको छु । तिनीहरुमध्ये यहाँ उल्लेख गर्नैपर्ने डा. खगेन शर्मा (जसले मास्टर मित्रसेनउपर विद्यावारिधि गर्नु भएको छ । ‘नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन’, त्रिलोकसिंह थापाको ‘मास्टर मित्रसेन र उनका सिर्जना’, त्यसैगरी प्रदीप थापाको ‘मित्रसेन र उनको देन’ पढेर तिनैको आधारमा यो उपन्सास लेखेको हुँ । त्यसपछि यसको पाण्डूलिपिलाई परिमार्जित गर्दै प्रकाशन गर्न अरु थप २ वर्ष लाग्यो र अहिले वि. सं. २०७९ को चैत्रमा बल्ल पाठकसामु आउन सफल भयो ।

यहाँ आफैँ पनि भूतपूर्व लाहुरे हुनुहुन्छ । प्रायः लाहुरेको सोच भनेको पेन्सन पकाउने अनि आनन्दसँग बाँच्ने भन्ने हुन्छ । तर, यहाँले निवृत्त भएपछि आफ्नो अध्ययनलाई पूरा गर्नुभयो, बेलायतको सरकारमा जागिरे हुनुभयो । कस्तो प्रेरणाले यहाँलाई झन् सक्रिय भइरहन सहयोग मिलेको छ ?

हाम्रो समुदायमा लाहुरेको छवि त्यति सम्मानजनक छैन । तर, लाहुरेका जीवनमा अथाह गहिरो सागरजस्तो लेखनका विषयवस्तु लुकेका हुन्छन् । दोस्रो कुरा लाहुरेले लाहुरेकै कथा लेख्न नसक्दा लाहुरेले यो देश र विश्व शान्तिका लागि प्रदान गरेको देन इतिहासको गर्वमा हराएको छ । त्यसर्थ २१ औँ शताब्दीका लाहुरेले बन्दुक मात्रै होइन, कलम पनि चलाउनुपर्छ भन्ने मान्यताले म नेपाली साहित्यमा लागेको हुँ ।

नेपालमा लाहुरे जाने संस्कृति परापूर्व कालदेखि चलिरहेको छ । यो संस्कृतिको फाइदा बेफाइदालाई कसरी अध्ययन गर्नुभएको छ ?

निक्कै महत्त्वपूर्ण प्रश्न । यसका सकारात्मक नकारात्मक दुवै पक्ष छन् एक सिक्काका दुईटा पाटाझैँ । सकारात्मक यस हिसाबले कि लाहुरे प्रथाले यो देशमा रिमिट्यान्स भित्रिएको छ । लाहुरे हुने जातिको परिवार आर्थिक रूपले सबल भएको पाइन्छ । लाहुरे भारत, वेलायत, ब्रुनाई र सिंगापुरमा जागिरे छन् । तिनको वर्षौसम्मको त्यहाँको अनुभवले नेपाली समाज आधुनिकीकरण हुनतिर पनि मद्दत पुग्यो कि भन्ने मलाई लाग्छ ।

अर्को अझ गहन कुरो त के भने नि, गोर्खाली २०८ वर्षसम्म बेलायती सेनामा हुनुले नेपाल तिब्बत र सिक्किमजस्ता छिमेकी राष्ट्रहरूको उपनिवेश हुनबाट बचेको छ । फलस्वरुप नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा आफ्नो अस्तित्व जोगाएर राख्न सफल भएको हो भन्ने मेरो ठम्याइ छ ।

नकारात्मक पाटोको कुरा गर्नुपर्दा त यस जातिका मानिस राजनैतिक र सामाजिक रुपले नेपालमा वहिस्करण हुन पुगेका छन् । अहिले बेलायत गएर बस्ने लाहुरेले दोहोरो नागरिकता पाएका छैनन् । आन्दोलन जारी छ तर तिनका सन्ततिले नेपाली हुनुको पहिचान गुमाउनुपर्ने स्थिति देखिन्छ । स्मरण रहोस्, गोर्खालीलाई यो राष्ट्रले सुगौलीको सन्धिमार्फत बेलायतमा नोकरी गर्न पठाएको हो, उनीहरु स्वेच्छाले गएका होइनन् ।

यहाँ पर्या साहित्य अभियानको एउटा सक्रिय अभियन्ता हुनुहुन्छ । अहिले आएर युद्ध साहित्यलाई पनि अगाडि बढाइरहनुभएको छ । पर्या साहित्यको आवश्यकता त यो ब्रह्माण्डलाई नै छ भने युद्ध साहित्यको आवश्यकता किन देख्नुहुन्छ ?

साहित्यका यी दुवै धारले नेपाली साहित्यमा बाटो नपाएको हो कि जस्तो लाग्छ मलाई । तर, यी दुवै विषय आफैँमा धनी विषय हुन् । यिनमा लेखनका कन्टेन्टहरू सागरजस्तै गहिरा छन् ।

युद्ध साहित्यको कुरा गर्दा गोर्खाली जाति भनेको लडाकु, बहादुर जाति हो । नेपाललाई विश्वमा चिनाउने वर्ग हो लाहुरे, जसले एक लामो इतिहास रचेको छ । यो देशमा आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनधित्व गर्ने जाति लाहुरे पेसामा छन् । लाहुरे रोजगारीको पेशा मात्रै नभएर यसले हाम्रो समाजमा लाहुरे संस्कारकै स्थापना गरेको छ । यसर्थ यी विषयहरुमा पनि नेपाली साहित्य कोरिन जरुरी छ । युद्ध साहित्यको विकास भयो भने यसले नेपाली साहित्यलाई समग्रमा धनी बनाउन मद्दत गर्ने छ भन्ने मलाई लाग्छ ।

यस उपन्यासले पाठकलाई कस्तो खालको परिवेश, विचार, चिन्तन र आनन्दाभूति गराउने ताकत राख्छ ?

यो उपन्यास नियात्रा लेखनको तरिकाले लेखिएको हुनाले सर्वप्रथम पाठकलाई भाग्सु धर्मशाला, पठानकोट हुँदै बम्बै पुर्याउँछ । अनि, बम्बैबाट इजिप्टको स्वेज नहर हुँदै फ्रान्सको बन्दरगाह सहर मार्श पुर्याउँछ । अनि, उत्तर पश्चिम फ्रान्सका समथर मैदानमा जर्मनविरुद्ध ट्रेन्च वारफेरमा संलग्न गराउँछ । त्यसपछि इराकको वासरादेखि टिग्रिस नदी हुँदै बगदाद पुर्याउँछ र लडाउँछ अटोमन अम्पाएरका सैनिकसँग । त्यसैगरी भर्तीहुने ठाउँ गोरखपुर, नौतनवा अनि शिलाङ र दार्जिलिङको जलपहार पुर्याउँछ । उनी भर्ती हुन हिँड्ने बाटो- बुटबल, पाल्पा, रिडी र बाग्लुङको तत्कालीन परिवेशको सम्झना दिलाउँछ । यसलाई डायरी सैलीमा पनि लेखिएको हुँदा प्रथम विश्वयुद्धमा गोर्खाली कुन कुन मितिमा कहाँ कहाँ लडे भन्ने कुराको पनि जानकारी हुन्छ ।

यसले दिने विचारको कुरा गर्नुपर्दा, यस उपन्यासले लाहुरे भर्ती के र कसका लागि थियो भन्ने प्रश्न उब्जाइरहन्छ । यो प्रथम विश्वयुद्धमा केन्द्रित उपन्यास हो, जुन युद्धमा २० हजारभन्दा बढी नेपाल आमाका छोराहरु मारिएका थिए । बिडम्बना, त्यो महायुद्धमा न त नेपाल राष्ट्र सामेल थियो न कोही नै नेपालको शत्रु थियो । अरुका लागि लडिदिएको युद्धमा बगेको पसिना र रगतको महत्व के थियो त र? लाहुरे हुनु रहर थियो या वाध्यता ? युद्धमा लाहुरे छोरा, भाइ या कसैको श्रीमान् मर्यो या जिउँदै छ त्यो कुरा घरकालाई थाहै हुने थिएन । वर्षौं पछि एक लाहुरे घर फर्कन पनि सक्थ्यो वा कुर्दाकुर्दै कहिल्यै नफर्कन पनि सक्थ्यो । त्यो अवस्थामा आफन्तको मानसिकता कस्तो अवस्थाबाट गुज्रिरहेको हुन सक्थ्यो त ? परिवारजनको पीडाको पहाड कति अग्लो हुन्थ्यो होला ? यस्तै यस्तै पीडा र वेदनाका शब्दहरुबाट बुनिएको एक लाहुरेको कथा हो लाहुरेको रेलिमाई ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न, जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

अध्यन अनुसन्धानको क्रममा प्रथम विश्व युद्धमा गोर्खालीको सहभागिता र मास्टर मित्रसेनको जीवनीका बारेमा यति धेरै फ्याक्ट सङ्कलन गर्न पुगेछु कि त्यसलाई आख्यानमा ढाल्न मुस्किल पर्यो । १ लाख २० हजार शब्दबाट घटाएर ८५ हजारमा झार्नुपर्दा कडा सङ्घर्षको सामना गर्न परेको पीडा कहिल्यै भुल्ने छैनँ । उपन्यासको फाइनल ड्राफ्ट तयार हुँदासम्म मास्टर मित्रसेनको जीवनीमा विद्यावारिधि गरेझैँ महशुस भएको थियो । अब लाहुरेको रेलिमाईरुपी विद्यावारिधिको पेपर मेरा सुपरभाइजरसरीका पाठकमाझ पेश गरेको छु । म यो परिक्षामा पास हुन्छु या फेल, तपाईंहरुकै हातमा छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर