लक्ष्मी रायमाझी उदयपुरमा जन्मिएकी हुन् भने हाल विराटनगरको स्थायी वासिन्दा हुन् । मुक्तक र कवितामा विशेष कलम चलाउने उनको हालसम्म ‘अक्षरको ज्यावल बोकेर’ कविता सङ्ग्रह र ‘शब्द ब्रम्ह’ प्रकाशित कृति हुन् । आजको आँगनमा सेतोमाटोका सहकर्मी जनक कार्कीले कवि तथा मुक्तककार रायमाझीसँग ‘शब्द ब्रम्ह’ सँग सम्बन्धित रहेर गरेको पुस्तक वार्ताको सम्पादित अंश प्रस्तुत छः

‘शब्द ब्रह्म’ मुक्तक सङ्ग्रह केही महिनाअघि विमोचित भएको छ । यस सङ्ग्रहमा के कस्ता विषयहरू समावेश गरिएको छ ?

यस सङ्ग्रहमा मैले जीवन र जगतलाई नै नियाल्दै आफ्नो माटो, वैदेशिक रोजगार, चाडपर्व संस्कार संस्कृति आदि कुराहरू मुक्तकीय भाषा शैलीमा समेट्ने प्रयास गरेको छु। साहित्यमा प्राण मानिने मलाई पनि एक छेउमा राखेको छु। सङ्ग्रहको अन्तिम तिर दस इन्द्रियका बाह्र मुक्तक पाँच ज्ञानेइन्द्रिय पाँच, र पाँच कर्मोइन्द्रिय पाँच फेरि पाँचै ज्ञानेइन्द्रिय समेटेर एक पाँचै कर्मोइन्द्रिय समेटेर एक गरि बीट मार्ने कोसिस गरेकी छु।

मुक्तक चोटिलो र प्रभावसाली विधा मानिन्छ । वास्तवमा मुक्तको शक्ति के हो जस्तो लाग्छ ?

मुक्तकको शक्ति भनेको मुक्तकले उठान गरेको विषय अनुरुपको भावमा मिल्दो अनुप्रास सहित चार लाइनमा एउटा सिँगो कथा प्रभावशाली अभिव्यक्ति दिन सक्नु नै मुक्तकको शक्ति हो।

नेपाली साहित्यमा मुक्तकले लामो यात्रा गरिसकेको छ । अहिले आएर मुक्तक विधा केही सेलाएको हो ?

होइन, मलाई त्यस्तो लाग्दैन । झन मुक्तक विधाले अहिले निकै मान्यता पाएको छ। विभिन्न साहित्यिक संघ संस्थाबाट सामाजिक सञ्जालको माध्यमबाट मुक्तकको उत्थानका कार्यक्रम भै नै रहेको छ।

मुक्तकमा चर्चित साहित्यिक हस्तिहरूले कलम चलाएको भए पनि अहिलेसम्म मुक्तक विधाले उल्लेखनीय पुरस्कार पाउन सकेको छैन । यसको कारण के हो जस्तो लाग्छ ?

उल्लेखनीय पुरस्कारको कुरा आआफ्नो विधा अनुसार दिइने हुँदा अन्यको दाँजोमा कम हो कि भन्ने महसुसचाहिँ मलाई पनि भएको छ।

एउटा मुक्तक शक्तिशाली बन्न के के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

मुक्तक भनेर लेखिए पछि मुक्तक नियम अनुसार हुनुपर्छ ।

पहिलो हरफमा आफ्नो विचार÷विषयको उठान गर्ने ।

दोस्रो हरफमा सोही विषयलाई समर्थन सहित थप खुलासा गर्ने ।

तेस्रो स्वतन्त्र हरफ अनुप्रासरहित रहेर उत्सुकता जगाउने र

चौँथो/अन्तिम हरफमा चमत्कारिक ढङ्गबाट रहस्योद्घाटन गर्ने । यसमा पहिलो, दोस्रो तथा अन्तिम हरफ अनुप्रासित हुनुपर्छ । तर ४ हरफ लेखेर केवल अनुप्रास मात्र मिलाउँदैमा लेखिएका सबै मुक्तक हुँदैनन् । मुक्तक मौलिक, विचारप्रधान, पूर्ण भावयुक्त, सघनता सहितको प्रभावमूलक पनि हुनुपर्छ प्रस्तुतिकरणमा सरल शब्द चोटिलो, घुमाउरो हुनुपर्छ, अनुप्रास मिलाउदैमा मात्र मुक्तक हुँदैन।

यहाँले कुनै पनि मुक्तक सिर्जना गर्दा के कस्तो प्रक्रियाबाट गुज्रिनु हुन्छ ?

आहा चोटिलो भन्नेहरू पनि हुनुहुन्छ र तपाईं छुट्टै धारको लेख्नुहुन्छ । तपाईंको मुक्तक भनेर छुट्याउन सकिन्छ भन्ने धेरै हुनुहुन्छ मन पराइदिनु हुन्छ त्यही हौसलाले निरन्तरता दिरहेको छु र शब्द ब्रह्म़को पनि राम्रो प्रतिक्रिया पाएकी छु।

भर्खरै मुक्त विधामा कलम चलाउने सर्जकलाई के सुझाव दिन चाहनुहुन्छ ?

मुक्तक एउटा यस्तो सशक्त विधा हो जसको निरन्तरताले तपाईंलाई मुक्तकको उचाईमा पुर्याउने छ लेखिरहनुस् साधना नै साहित्यको हिमशिखर हो, यसले सधैँ आनन्द नै दिन्छ।

कतै मुक्तक विधा लोप हुने अवस्थामा आएको त होइन ?

अहंँ ! अवश्य पनि होइन धेरै कलमहरू चलिरहेका छन् यस विधामा।

यहाँले कविता पनि लेख्नुहुन्छ । कुनै पनि भावले मन मस्तिष्कमा प्रवेश गर्दा कसरी मुक्तक लेख्ने वा कविता लेख्ने भनेर छुट्ट्याउनु हुन्छ ?

गजब प्रश्नको गजब उत्तर त्यो सोही परिस्थितिले नै उत्ति नै खेर तय गर्छ मैले केही गर्न पर्दैन।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

लेखकले कुनै पनि रचना गर्न सजिलो छैन र लेख्ने आआफ्नो तरिका विषेषता हुन्छ । जुनसुकै विधामा पनि लेख्न त्यसै अनुसार गहिरो अध्ययन चाहिँन्छ, विचार चाहिँन्छ र अभिव्यक्त शैली चाहिँन्छ । लेखिएका कुरा कस्तो भयो भनेर जान्न बुझ्ने पाठको प्रतिक्रिया चाहिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर