
रवीन्द्र समीर पेसाले चिकित्सक भएपनि साहित्यमा गहिरो रुचि र सक्रियता देखाउने सर्जक हुन् । विशेषगरि लघुकथा र प्रयोगवादी उपन्यासका शशक्त सर्जक हुन् । उनको आठवटा लघुकथासङ्ग्रह, मुक्तकसङ्ग्रह, नियात्रासङ्ग्रह, संस्मरण सङ्ग्रह र चर्चित उपन्यास `मृत्युको आयु´ प्रकाशित छन् । उनको पछिल्लोपटक प्रकाशित कृति हो `कोरोनातन्त्र´ (सूत्र उपन्यास) । कोरोनाकालमा सामाजिक सञ्जालकै माध्यमबाट कयौं कोरोना प्रभावित विरामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जनचेतना फैलाउने सत्कर्म गरेका रवीन्द्रले कोरोना कै समयलाई उपन्यासको रंग लगाएर नेपाली साहित्यमा उपस्थित भएका छन् । आजको पुस्तक वार्तामा उनीसँग कवि जनक कार्कीले `कोरोनातन्त्र´ उपन्यास र कोरोनाको विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सारसंक्षेप –
`कोरोनातन्त्र´ यहाँको नवीनतम कृति भर्खरै लोकार्पण भएको छ । यसलाई सूत्र उपन्यास पनि भनिएको छ । सूत्र उपन्यास भनेको के हो ?
– एउटा बिषयमा बिबिध कोणबाट लेखिएको, पात्र फरकफरक भएको तर त्यसलाई कुनै सूत्रले बाँधेर आख्यानिकरण गरिएको संरचना सूत्र उपन्यास हो | कोरोनातन्त्रमा १०१ वटा स्वतन्त्र लघुकथा छन् | ती लघुकथा सबै कोरोना महामारीको बिषयमा मात्र छन् | बिषय, समय, शास्त्रोक्त भनाइ तथा कोरोनातन्त्रकालिन उखानको विनिर्माणको सूत्रले बाँधेको हुँदा यसलाई सूत्र उपन्यास भनिएको हो | त्यस्तै मूल पात्र डा. शर्माको भोगाई पनि अर्को सूत्र हो |
`कोरोनातन्त्र´उपन्यास भित्र यहाँले के कस्तो विषयको उठान गर्नुभएको छ ?
– हामीले विगतमा भोगेको अकल्पनीय महामारीका बिबिध घटना, अनुभव, अनुभूति तथा राज्यको अकर्मन्यतालाई केन्द्रबिन्दु बनाएर पुस्तक लेखेको हुँ |
यो उपन्यासभित्र पाठकले के कस्तो प्रयोग र स्वाद अपेक्षा गर्न सक्छन् ?
– यो निकै फरक स्वादको उपन्यास बनेको छ | यस्तो संरचना पनि उपन्यास लेख्न सकिँदो रहेछ भन्ने अनुभव कोरोनातन्त्रले दिएको छ | परम्परागत उपन्यास लेखनबाट फरक धार अबलम्बन गरेर यसअघि पनि मैले मृत्युको आयु लेखेको थिएँ, जसलाई पाठकले निकै मन पराउनुभयो | त्यस्तै हरेक लघुकथामा कम्तिमा एउटा नीति शास्त्रको श्लोकार्थ, हरेक लघुकथामा कम्तिमा एउटा कोरोनातन्त्रका उखान तथा हरेक लघुकथाको अन्त्यमा व्यंगात्मक चरमोत्कर्ष छ |
यहाँ आफैं पनि चिकित्सक हुनुहुन्छ । विश्व महामारीको समयमा यहाँले निकै सक्रियताका साथ कोरोनाको बारेमा जनकल्याणकारी काम गर्नु भएको थियो । कोरोनाबाट बच्ने अनेक जानकारीमुलक सामाग्री पोस्ट गरेर जनचेतना फैलाउने काम पनि गर्नुभयो । वास्तवमा यो महामारीले यो विश्वलाई के कुरा सिकायो जस्तो लाग्छ ?
– हो, नयाँ रोगको महामारीबाट आम नागरिक अत्यन्तै त्रस्त भएका थिए, भरपर्दो सुचना र तथ्यको खडेरी लागेको थियो | डर, त्रास र अनिश्चितताले समाज आक्रान्त थियो | त्यो बेला मैले अन्य देशका अनुभव तथा अनुसन्धान बिबिध संचार माध्यमद्वारा प्रवाह गरेको थिएँ |
मलाइ लाग्छ, त्यो महामारीले हामीलाई धेरै कुरा सिकाएको छ | संसार हामीले सोचेजस्तो शक्तिशाली रहेनछ, स्वास्थ्य उपचार तथा रोग रोकथाममा संसारका संरचना निकै फितला रहेछन, भ्रम तथा डरको खेती विकसित देशमा पनि जरा गाडेर बसेको रहेछ | जैविक अस्तित्वको लोप हुनसक्ने अवस्थामा पनि भ्रष्ट्राचार, अनियमितता तथा ढिलासुस्ती झन बलियो हुँदोरहेछ | त्यस्तै व्यक्ति, परिवार, समाज तथा राष्ट्रले आफ्नो स्वास्थ्यमा आफै लगानी गर्नुपर्दोरहेछ | महामारीमा जनचेतना र नागरिकको आत्मबलको ठूलो अर्थ हुँदोरहेछ …..|
नेपाली साहित्यमा कोरोनाकाल र यो महामारीलाई केन्द्रित बनाएर नेपाली साहित्य आइरहेका छन् । कोरोना कालको साहित्य लेखिन किन आवश्यक छ जस्तो लाग्छ ?
– २०७२ सालमा भूकम्पले हामीलाई ठूलो क्षति दियो | २०९० सालको भूकम्प कस्तो थियो, त्यो बेला सरकार, समाज तथा व्यक्तिले के गरे भन्ने इतिहास बुझ्न ब्रह्म समसेरको पुस्तक बाहेक अरु फेला परेन | यस्ता ठूला घटना तथा महामारीको समयमा भुक्तमान पुस्ताले के गरेका थिए भन्ने अनुभव तथा ज्ञान अर्को महामारी वा भावी पुस्तालाई उपयोगी हुन्छ | आख्यानको रुपमा लेखिएका पुस्तक पठनीय समेत हुन्छन् | जीवन भनेको अनुभवको आदानप्रदान पनि हो | यी र यस्तै खालका पुस्तकले इतिहासको निर्माणमा सहयोग गर्ने मेरो विश्वास छ |
अहिले एकथरी मान्छेले कोरोनाको भ्याक्सिन पछि धेरैजनाको हृदयघातबाट मृत्यु भइरहेको भन्ने बहस गरिरहेका छन् । एउटा चिकित्सकको नाताले यहाँले के भन्नुहुन्छ यो विषयमा ?
– कोरोना भाइरसविरुद्धको खोपको कारण नै हामीले आफ्नो जीवन र जीविका सुचारु गर्न पाएका छौं | अन्यथा हामीले ठूलो जनधनको क्षति भोग्नु पर्ने थियो | खोपको कारण प्रतिक्रियास्वरूप केहि सयको मृत्यु भएको हुनसक्छ तर अर्बौंको जीवनको दियो निभ्न पाएन | षड्यन्त्रको सिद्धान्त महामारीको अर्को पार्श्व प्रभाव हो भनेर हामीले बुझ्नु पर्दछ |
तपाईंको उपन्यासले कोरोनाकालको अभिलेखिकरण मात्र गर्छ वा कोरोनाको व्यवस्थापन र अन्य विविध विषयमा प्रकाश पनि पार्छ ?
– यो उपन्यासले कोरोनायुगको अभिलेखिकरण मात्र गर्दैन | यसले भविष्यमा आउन सक्ने महामारीमा सरकार तथा सम्बद्ध सबै पक्षलाई मिहिन ढंगले ब्यबस्थापन गर्नुपर्ने सन्देश दिएको छ | १०१ वटा हरेक च्याप्टरलाई १०१ वटा मात्र हैन हजारौं अनुभव र अनुभूतिलाई घनिभूत ढंगले राखिएको छ | तसर्थ यो अभिलेखभन्दा मानवीय समानुभूति र समबेदनासँग निकट छ | समानुभूति र समवेदना मानव अस्तित्व रहेसम्म मन जोड्न सफल हुन्छन् |
कोरोनाकालभन्दा पहिला र कोरोनापछिको मानिसको जीवनशैलीमा के फरक पाउनु भएको छ ?
– कोरोनाकालअघि, कोरोनाकाल र कोरोनाकालपछि गरेर हामीले समयलाई ३ भागमा बुझ्नु जरुरी छ | कोरोनाकालअघिको भागदौड, यान्त्रिकता, समानुभूतिको अभाव एवम् झुटो विश्वासको कालखण्ड यो महामारीले तोडेको छ | कोरोनाकालको त्यो त्रास, बन्दी जीवन, एक सर्को अक्सिजनको तृष्णा, खोपको पर्खाइ तथा जीवनको अनिश्चिता वार्णनातित छ | कोरोनाकालपछिको हाम्रो जीवन र जगत पूर्णत फरक छ | प्रबिधिको सदुपयोग, प्रविधिको दुरुपयोग र त्यसको लत, एक मान्छेको अर्को मान्छे, एक समाजको अर्को समाज तथा एक देशको अर्को देशसंगको विश्वासमा खडेरी, आर्थिक दुरावस्था तथा हरेक तह र तप्कामा छाएको चरम निरासाले अहिलेको संसारलाई मानसिक रुपमा थिलोथिलो पारेको छ | यसको असर आगामी वर्षहरुमा निकै पीडादायी बन्ने संकेत संसारले दिएको छ | यसले केहि सकारात्मक पाटो पनि दिएको छ | मास्कको प्रयोग, हात धुने बानी, घरमै खाने बानी, परिवारसँगको अन्तरंग, वर्क फ्रम होम, भर्चुअल जीवन, व्यायाम, योग, ध्यान,शारीरिक अभ्यास, खोप आदिमा अभ्यास बढेको छ | हाम्रा स्वास्थ्य सस्था भौतिक र मानसिक रुपमा केहि सुदृढ भएका छन् | आँखाले देख्न नसकिने भाइरसको सामु हतियार, पैसा, पद, शक्ति तथा सामर्थ्य निरिह रहेछ भन्ने ठूलो सन्देश दिएको छ | संसार सबल हैन, दुर्वलतामा अडेको पर्दा उघ्रेको छ |
यतिबेला कोरोना नियन्त्रणमा आएको जस्तो देखिन्छ । कोरोनाको नयाँनयाँ भेरियन्ट पुनः फर्केर आउने सम्भवाना के कस्तो छ र यसबाट बच्न हामीले के कस्तो कुरामा ध्यान पुर्याउन पर्ला ?
– खोप र जनस्वास्थ्यका मापदण्ड पालनाको कारण कोरोना महामारीको छाल कमजोर भएको छ | यसका नयाँ प्रजाति आइरहेका छन् तर शक्तिशाली रुपमा आएका छैनन् | खोप प्रतिरोधी र शीघ्रगामी प्रजाति आयो भने पहिलेजस्तै त्रास, अलमल तथा क्षति हुनेछैन | हामीले कोरोना भाइरससंग बाँच्न सिकेका छौं | महामारी भनेको कोरोना भाइरसको मात्र हुँदैन | भविष्यमा कुनै पनि बेला अर्को शक्तिशाली महामारी नआउला भन्न सकिँदैन | भाइरस नियन्त्रण र भाइरसजन्य रोगको उपचारमा संसारका प्रयोगशाला व्यस्त नहुने हो भने हामीलाई भाइरसले नै पटकपटक चुनौती दिनेछ |
कोरोनालाई यहाँले तन्त्रको रूपमा व्याख्या गर्नुभएको छ । कोरोनाले विश्वलाई शासन गरेर छोड्यो । यो शासन निरङ्कुश रह्यो । कोरोनाले विश्वलाई हल्लाएर छोड्यो । यस्ता खतरनाक भाइरसहरूको सिर्जनाको पछाडि के कस्तो कुराले भूमिका खेल्छ ?
– १. जसरी जहानियाँतन्त्र, निरंकुशतन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि तन्त्रले हामीलाई हुकुमीतन्त्र, लुटतन्त्र उपहार दिए; त्यसैगरी कोरोनातन्त्रले हामीमाथि निर्मम शासन गर्यो | कुनै तन्त्रले हाम्रो बोली बन्द गराएका थिए, कुनै तन्त्रले हामीलाई रैती, दास बनाएका थिए, कुनै तन्त्रले हामीलाई ठगेका थिए, त्यस्तै कोरोनातन्त्रले पनि हामीलाई बन्दी बनायो, दुख दियो, नेपालमा मात्र दशौँ हजारको हत्या गर्यो, हाम्रा सपनाका महल ढाल्यो अनि आर्थिक तथा मनोसामाजिक रुपमा विक्षिप्त पार्यो | जुनसुकै तन्त्र आएपछि सानालाई ऐन, ठूलालाई चैन हुँदोरहेछ | कोरोनाले संसारमा एकैपटक शासन गर्दा सम्पूर्ण विश्वले एकैपटक चरम निरंकुशतन्त्र चलायो | यो अवधिलाई मैले कोरोनातन्त्रको रुपमा उपन्यास तयार गरेको हुँ |
यस्ता कोरोनाजस्ता भाइरसबाट बच्न हामीले साझा पृथ्वीको सह अस्तित्व स्वीकार्नुको बिकल्प छैन | यो पृथ्वी मान्छे, पशुपंक्षी, बिरुवा, किटाणु, जीवाणु, बिषाणु सबैको हो | एकले अर्कोको अस्तित्वको सम्मान गर्ने, अतिक्रमण नगर्ने तथा सबै पक्ष आफ्नो दायरामा बस्ने हो भने हामी सबैको जीवन सुरक्षित हुन्छ | मान्छेले बाँदरसंँग व्यभिचार गर्दा एड्स फैलिएको हो, चमेरा /सालक खाँदा कोरोना महामारी फैलिएको हो, त्यस्तै अन्य जीवसँगको अतिक्रमणमा धेरै महामारी फैलिएका हुन् भन्ने तथ्य हृदयंगम गर्न जरुरी छ | माथि भनेजस्तै भाइरसविरुद्धका प्रभावकारी खोप, औषधि उपचारमा नलाग्ने हो भने मानव र भाइरसको युद्ध सृष्टिको लोपको कारक बन्न सक्छ |
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
– मेरो १३ औं पुस्तक कोरोनातन्त्रमा आख्यान लेखनका बिबिध टेक्निक प्रयोग भएका छन् | साहित्यको रुपमा पढ्दा हामीले उपन्यास, लघुकथा तथा व्यंग्यको स्वाद पाउछौं भने त्यहाँ प्रयोग भएका २०० भन्दा धेरै नीतिशास्त्रले हामीलाई नैतिक बल, मानवीय दर्शन तथा उखानटुक्काको समयोचित विनिर्माणको स्वाद दिनेछन भन्ने मेरो विश्वास छ | २ बर्षको लेखन, पुनर्लेखन, चेसको गोटीझैं शब्दको सम्पादन आदिले गर्दा कोरोनातन्त्र पठनीय तथा संग्रहणीय हुने मेरो विश्वास छ |
प्रतिक्रिया
-
४